केपीलाई हटाउन प्रचण्ड गृहकार्य

केपीलाई हटाउन प्रचण्ड गृहकार्य


पार्टी नेताहरूबीचको एकता सुदृढ हुँदै गएको विश्वासमा रहेका नेकपाका कार्यकर्ताहरूले एकपटक फेरि आपसमा ‘कुस्ती खेल्ने’ स्थिति उत्पन्न हुने सङ्केत देखिएको छ । कार्यकारी अध्यक्ष प्रचण्डले केपी शर्मा ओलीलाई पदमुक्त गराउने योजना भित्रभित्रै बनाउन थालेपछि पार्टीभित्र निकट भविष्यमै तनाव पैदा हुन सक्ने सम्भावना बढेको हो ।

प्राप्त जानकारीअनुसार केपी ओलीले दोस्रोपटक मिर्गौला प्रत्यारोपण गर्नुअघि नै उहाँलाई पदमुक्त गर्ने रणनीतिक योजना प्रचण्डले बनाउनुभएको छ । प्रधानमन्त्रीका रूपमा केपीलाई नयाँ साल (वि.सं. २०७७) हेर्न नदिने योजनामा प्रचण्ड रहनुभएको बुझिएको छ । पार्टीको सचिवालय, स्थायी समिति, पोलिटब्युरो, केन्द्रीय समिति र संसदीय समितिमा केपी ओली न्यून मतमा जानुभएको र आफूहरू झन्डै सत्तरी प्रतिशतभन्दा बढी सङ्ख्यामा भएको विश्वास र विश्लेषण प्रचण्डको छ र, केपी ओली पार्टी विभाजन गर्न नसक्ने हैसियत (चालीस प्रतिशतभन्दा कम) मा झरेको प्रचण्ड पक्षको ठहर छ । सबभन्दा रोचक कुरा त सचिवालय सदस्यहरू विष्णु पौडेल र ईश्वर पोखरेलसमेतले अन्ततः केपीलाई छोडेर आफूलाई साथ–सहयोग दिनेमा प्रचण्ड विश्वस्त देखिनुहुन्छ ।

नौजनाको सचिवालयमा केपी ओली एक्लै पर्ने, सतचालीसजनाको स्थायी समितिमा ओलीको पक्षमा बढीमा नौजना मात्र रहने र केन्द्रीय समितिमा दुईतिहाइभन्दा बढी सदस्य केपीका विरुद्ध खडा हुने विश्लेषण प्रचण्डको छ । त्यसैले बहुमतकै आधारमा केपीविरुद्ध निर्णय गराउँदै जाने र अन्ततः पार्टीको जिम्मेवारीबाट समेत पन्छाउने योजना उहाँले बनाउनुभएको छ । झलनाथ खनाल, वामदेव गौतम र माधवकुमार नेपालको साथ केपीलाई नभएर आफैँलाई हुने विश्वासका आधारमा प्रचण्ड ‘ढुक्क’ रहनुभएको बुझिन्छ ।

माओवादीपट्टिका जतिलाई एकताबद्ध राख्ने र एमालेतिरका बढीभन्दा बढीको समर्थन आफूलाई जुटाउने गृहकार्यमा आफू सफल भएको प्रचण्ड ठान्नुहुन्छ । यदि माधवकुमार नेपाल प्रचण्ड योजनाको सहयोगी भूमिकामा कायम रहनुभयो भने केपीले आफूलाई कसरी रक्षा गर्न सक्नुहोला, जिज्ञाशाको विषय बनेको छ । तर, माधव नेपालले केपीलाई प्रधानमन्त्रीबाटै हटाउनका लागि प्रचण्डलाई सहयोग गर्नुहुने विश्वास गरिएको छैन ।

झलनाथ खनाल जहिले पनि केपीविरुद्ध रहनुभएको र वामदेव गौतमलाई ‘आफ्नो बनाउन’ सजिलो हुने भएकोले प्रचण्ड माधव नेपालप्रति मात्र विश्वस्त हुन सक्नुभएको थिएन । केपी र माधवबीच साँच्चै दूरी बढेको महसूस भएपछि प्रचण्डको आत्मविश्वास बढ्न पुगेको हो । तथापि वामदेव गौतमको भूमिका भने बदलिने अपेक्षा गरिएको छ । गौतम कुनै पनि बेला केपीको सहयोगी भूमिकामा देखापर्नुभयो भने आश्चर्य हुने छैन । वामदेव बदलिएमा त्यसको प्रभाव माधवमा समेत पर्नेछ ।

प्रचण्ड ‘माओवादी’लाई एकताबद्ध गर्ने, ‘एमाले’का नेतामध्ये ‘सकिने जति चोर्ने र पार्टीको सर्वाधिक शक्तिशाली नेता बन्ने’ अभ्यास गरिरहनु हुँदा अर्कोतिर ‘एमाले’ एकताबद्ध हुने र ‘माओवादी’पट्टिकाहरूको समेत विश्वास लिएर अघि बढ्ने योजनाअनुरूपको अभ्यास पनि शुरु भएको छ ।

यसरी प्रचण्ड ‘माओवादी’लाई एकताबद्ध गर्ने, ‘एमाले’का नेतामध्ये ‘सकिने जति चोर्ने र पार्टीको सर्वाधिक शक्तिशाली नेता बन्ने’ अभ्यास गरिरहनु हुँदा अर्कोतिर ‘एमाले’ एकताबद्ध हुने र ‘माओवादी’पट्टिकाहरूको समेत विश्वास लिएर अघि बढ्ने योजनाअनुरूपको अभ्यास पनि शुरु भएको छ । सभामुख प्रकरणमा आफ्नो पराजय भएयता केपी निकै गम्भीर बन्नुभएको छ । गत माघमा सम्पन्न केन्द्रीय समितिको बैठकमा आफ्ना पक्षका नेताहरूको भूमिका कमजोर देखिएपछि ओली ‘समीक्षा र विश्लेषण’ गरेर अघि बढ्ने निष्कर्षमा पुग्नुभएको थियो । केन्द्रीय समितिको बैठक सकिएको केही दिनमै एउटा विशेष रणनीतिक भेला काठमाडौंमा गुप्त रूपले सम्पन्न भएको छ । ईश्वर पोखरेलको विशेष तत्परतामा सम्पन्न भेलामा मुख्यमन्त्रीहरू शेरधन राई, डोरमणि पौडेल, शङ्कर पोखरेल र पृथ्वी सुब्बा गुरुङसहित केपी ओलीमाथि भरोसा र विश्वास राख्ने देशभरिका अगुवा नेताहरू सहभागी भएका थिए । भेलाले आफ्ना कमजोरीहरू पहिचान गर्दै भावी रणनीतिक योजना तर्जुमा गरेको बुझिएको छ ।

जतिसुकै कमजोर ठानिएको भए पनि पार्टीमा केपीको स्थिति प्रचण्डहरू धेरै नै खुशी हुनुपर्ने स्तरको नभएको देखिन्छ । पार्टी विभाजनमा जानबाट प्रचण्डलाई रोक्न सक्ने ताकत आफूहरूसँग भएको ठहर केपी समर्थकहरूले गरेका छन् । यसबीचमा माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतमलगायतका नेताहरूसँग आपसी समझदारी एवम् विश्वास बढाउने प्रयास पनि प्रधानमन्त्री ओलीबाट भइरहेको छ । सरकारको नेतृत्व बदल्ने र पार्टी तथा सरकारमा आफ्नो शक्ति बढाउने प्रचण्डको योजना असफल बनाएर पार्टीलाई एकताबद्ध राख्न सकिने विश्वासका साथ प्रधानमन्त्री क्रियाशील हुनुभएको पाइएको छ ।

राजनीतिक स्थिति अनुकूल तुल्याएपछि केपी आफ्नो स्वास्थ्योपचार (मिर्गौला प्रत्यारोपण) मा लाग्नुहुने सोचमा रहनुभएको बुझिन्छ । उता प्रचण्ड भने स्वास्थ्योपचारपछि केपीसँग लड्न कठिन हुने भएकोले जतिसक्दो चाँडो केपीविरुद्धको कदम चाल्ने तयारीमा रहनुभएको छ । यही जानकारी पाएपछि केपीले ‘सरकार बदल्ने षड्यन्त्र हुन थालेको’ भन्दै त्यसको प्रतिवाद गर्न अप्रत्यक्ष ढङ्गले समर्थकहरूलाई आह्वान गर्नुभएको छ । नेकपाको सर्वेसर्वा बन्ने सपना पूरा गर्न प्रचण्डले चाल्ने कदमले नेकपालाई विभाजित गर्ने हो या अर्कै अवस्थामा पु¥याउने हो सो भने प्रतीक्षाको विषय भएको छ ।