नासाविके, मदन राई र नौलो प्राङ्गारिक खेती प्रणाली

नासाविके, मदन राई र नौलो प्राङ्गारिक खेती प्रणाली


■ तिलक पौडेल
सुदूरपूर्वको मेची अञ्चलका ४ जिल्लामध्येको एक जिल्ला हो– इलाम । यसको समग्र विकास गर्न स्वावलम्बी, समतामूलक र समावेशी समाजको सिर्जना गर्ने परिलक्ष्य राखी ०४१ सालमा पूर्वस्थानीय विकास सचिव खेमराज नेपाल र अमेरिकी नागरिक जेरीको सक्रियता र अग्रसरतामा ‘नामसालिङ सामुदायिक विकास केन्द्र – नासाविके’ को स्थापना भएको हो । करिब एक दशक पहिले उक्त संस्थाको राष्ट्रिय सल्लाहकार समितिको बैठकमा मन्त्रालयको तर्पmबाट यो पङ्क्तिकारलाई पनि सहभागी हुन इलाम जाने अवसर मिलेथ्यो ।

उक्त सल्लाहकार समितिमा तत्कालीन सदस्यका रूपमा खोटाङका कृषिविज्ञ मदन राई, वातावरणविद् सूर्यमान शाक्य, नामसालिङमा जन्मिएर शिक्षा क्षेत्रमा लागिपरेका युवा विष्णु घिमिरे थिए भने समितिको अध्यक्षता स्वयम् खेमराज नेपालले गरेका थिए ।

सल्लाहकार समितिको बैठक नामसालिङस्थित केन्दद्रको कार्यालयमा सम्पन्न भएथ्यो । त्यसपछि नामसालिङ गाउँको बजारक्षेत्रको अवलोकन गरियो । हरिया बोटहरूमा सुनका डल्लाका झुप्पाजस्ता लाग्ने गरी हरेकको घरवरिपरि सुन्तलाका बोटहरूले अनुपम शोभा दिइरहेका थिए । प्रकृतितः बाँसका घारीहरूले अनवरत हरियाली श्री प्रदान गरिरहेका थिए । खालीजस्ता रहनुपर्ने जग्गाहरू अम्लिसाका गाँजहरूमा कुचाका झुप्पाहरूबाट आफ्नो अस्तित्व आँकिरहेका थिए । प्रायः सबैका घरमा उन्नत जातका गाई, भैंसी पालिएको थियो ।

माटो, बोट, बिरुवाहरूसँग सहजै सधैँ वार्तालाप गर्ने मदन राईले नासाविकेको सभाकक्षमा स्थानीय कृषि उद्यमीहरूलाई आफ्नो व्यहोरा उफ्री–उफ्री सेयर गरे ।

त्यहाँ पानीको अभाव रहेछ, त्यसको पूर्तिका लागि पानीको बहुउपयोग जरुरी हुन्छ । रासायनिक मलको प्रयोगले माटोलाई कक्रक्क पार्छ । दिसापिसाबलाई तह नलगाउँदा सहरहरूका नदीहरू त ढल बग्ने बनिसके । यहाँ पनि खुला दिसामुक्त क्षेत्रको घोषणा कार्यक्रमअनुसार बाँसले बारेका घरमा पनि सिमेन्टका शौचालयहरू बनेको देखियो । यसलाई सफा राख्न पनि पानीको आवश्यकता पर्दछ… जस्ता व्यहोराउपर सङ्क्षेपीकरण गर्र्दै, आफूकहाँ हाम्रो घर दिसा–पिसाबयुक्त छ, कृपया घिन नमान्नुहोला भनी सूचना नै राखिएको व्यहोरा जनाए ।

उनले हामीलाई अर्थात् प्राणीलाई चाहिने पञ्चतत्वमध्ये सास, गाँस, बास र कपास वनस्पति जगत्बाटै प्राप्त हुन्छ । हामीले उभिराखेको धर्तीको माटो र चाहिने पानी पनि वनस्पतिले नै थामिराखेको छ । यस मानेमा वनस्पति प्राणी मात्रका लागि आमा हो । फेरि यसलाई चाहिने आहारा हामीबाटै प्राप्त हुन्छ । हामीले फाल्ने दूषित वायु कार्बनडाइ अक्साइड लिएर हामीलाई प्राणवायु अक्सिजनको आपूर्ति गर्दछ, अनि पातको हरितकण र सूर्यको प्रकाशको संयोजन गरी जराबाट सोसिएको जल र मललाई प्रकाश संश्लेषण विधिद्वारा आफूलाई चाहिने खाना तयार पार्दछ । हामीले त्याग्ने दिसापिसाबको उपयोग गर्ने अवसर नदिई रासायनिक मल कोचाइदिँदा फोक्से मासु लागेका रोगी प्राणीझैँ हर्लक्कका देखिने बिरुवाहरूलाई कीटाणुहरूले सजिलै आक्रमण गर्दछन् । अनि हाम्रो बुद्धि– विषादि झर्केर आफ्नै खानालाई विषालु बनाएका छौँ । यदि प्राणीको मलमूत्रलाई उपयुक्त हिसाबले वनस्पतिलाई उपलब्ध गराउने हो भने प्राकृतिक सन्तुलन स्वतः कायम हुने हुन्छ ।

उदाहरणार्थ हामी धान काटेर पराल र धान छुट्याउँछौँ । पराल गाईवस्तुलाई दिनछौँ– नपखालीकन । हामी भने उच्च विवेकको प्रयोग गरी धान कुटेर चामल, भुस बनाउँछौँ अनि चामल पनि पखालेर पकाई भात बनाएर खान्छौँ । भुसको ढुटो गाईवस्तु वा कुखुरालाई ख्वाउँछौँ, बाँकी त्यत्तिकै वा कुखुराको खोरमा राखी सुलीमा मिसाउँछौँ । त्यत्तिकै जमिनमा राखेको भुस सडेर मल बन्न धेरै समय लाग्ने हुँदा सहायक बन्नुभन्दा माटोको उर्वराशक्ति घटाउन उद्यत् रहन्छ । अर्कोतर्फ सफा नगरिएको पराल खाएर निस्किएको गाईवस्तुको मलमूत्र सफा र पवित्र ठानी हातले गोठ सफा गर्दछौँ, बोकेर खेतबारीमा लैजान्छौँ, तर सफा गरी पकाई आफ्नै पाचनभट्टीमा हाली निस्किएको मललाई गुहु भनेर छीः छीः र दूरदूर गर्दछौँ– हाम्रो विवेक ! सारांशमा फोहोर अवस्थाको खाना खाई अर्काको अङ्गले पचाएर निकालेको निष्कासनलाई सफा, शुद्ध र पवित्र (गोबर, गहुँत) अनि सफा गरेर आफ्नै अङ्गले पचाएर निकालेको निष्कासनलाई फोहोर, छीः छीः (गुहु, मुत) !

प्राकृतिक हिसाबले सन्तुलन मिलाउन सकियो भने कुनै दिन चामलको भन्दा भुसको मूल्य बढी पर्ने हुनेछ । हामी कृषिप्रधान भनिएको मुलुकको कृषकप्रधान कृषि प्रणाली वास्तवमै कृषिप्रधान भएर कृषि उपज बढ्न जानेछ, माटोको उर्वराशक्ति राम्रो हुनेछ । पानी, हावा, माटो, आकाश आदि सबैखाले प्रदूषण पनि हटेर जानेछ ।

वैज्ञानिकहरू धर्तीमा कुनै पनि शक्ति (तत्व) थप निर्माण गर्न पनि सकिँदैन र नास गर्न पनि सकिँदैन, केवल तत्वको रूप मात्र बदलिरहने हो भन्छन् । तसर्थ अब हामीहरूले गर्नुपर्ने भनेको खेर गइरहेको वा काम नलागिरहेको भुस डढाएर तापशक्ति निकालौँ र खरानी बनाऔँ । अनि हरेक घर–घरमा सबै जहानहरूले बाल्टिनमा प्लास्टिकको थैलो राखेर दिसा गर्ने बानी बसालौँ । फेरि ढकनीसहितको बाल्टिनमा पिसाब गर्ने गरौँ । अनि दिसामा अघि बनाएको खरानी मिसायो भने त्यसबाट आउने सोचिएको दुर्गन्ध नास हुन्छ ।

पिसाबलाई त ढकनी बन्द गरिदिए मात्रै पुगिहाल्छ । यसो गर्दा दिसा–पिसाबमा पानी मिस्नुहुँदैन र पर्दैन, तब हामीलाई पानीको बचत पनि हुने भयो । प्लास्टिकको थैलो भरिएपछि या त मलखादमा अथवा जहाँको बिरुवामा मल राख्नुपर्ने हो त्यसैको फेदमा लगेर राखिदिऊँ र यो क्रम जारी राखौँ । मूत्रलाई एक महिनासम्म कुहाएर तितेपाती, निम, बनमारा, असुरो, बोकेटिमुर, खोर्सानीको झोल आदि मिसाएर छर्किदियो भने प्राकृतिक (प्राङ्गारिक) किट तथा रोगनासक औषधि बन्छ । बिरुवालाई खानेकुरा पनि प्राप्त हुन्छ । यसको प्रयोग एकातिर बोट बिरुवामैत्री हुन्छ भने अर्काेतिर मलमूत्रलाई ढलमा मिसाएर नदीहरू दुर्गन्धित हुनबाट बचाउन पनि सकिन्छ ।

यसरी प्राकृतिक हिसाबले सन्तुलन मिलाउन सकियो भने कुनै दिन चामलको भन्दा भुसको मूल्य बढी पर्ने हुनेछ । हामी कृषिप्रधान भनिएको मुलुकको कृषकप्रधान कृषि प्रणाली वास्तवमै कृषिप्रधान भएर कृषि उपज बढ्न जानेछ, माटोको उर्वराशक्ति राम्रो हुनेछ । पानी, हावा, माटो, आकाश आदि सबैखाले प्रदूषण पनि हटेर जानेछ । प्राङ्गारिक उत्पादनको भरपुर खवाइले हामीलाई हृष्टपुष्ठ एवम् जाँगरिलो बनाउनेछ, हामी हाम्रो श्रमको उच्चतम प्रयोग गर्न लालायित हुनेछौँ, अनि बढी उत्पादन निर्यात गर्न सक्षम पनि हुनेछौँ, त्यो पनि प्राङ्गारिक उत्पादन !… हाम्रो गरिबीको दुष्चक्रले डाँडो काट्न बाध्य हुनेछ । अनि नेपालको परिचयका लागि सगरमाथा मात्रै एक्लो हुनुपर्ने छैन ।

यस्तै व्यहोराको प्रस्तुतिपछि हामीहरू वासस्थानतिर लाग्यौँ । स्रोता बनेका कृषकले कतिले कसरी बुझेर कसरी लागू गर्लान् त्यो अर्काे पाटो हो । र पनि हाम्रो प्राकृतिक संरचनात्मक सन्तुलन कायम हुन र गर्न यो विधि उपयुक्त देखियो । हाल मदन राईले खोटाङको आफ्नो जन्मस्थान रतन्छेलीमा व्यावहारिक स्कुलको स्थापना र सञ्चालन गरिरहेका छन् भने काठ्माडौंमा उल्लिखित व्यहोराको प्रयोग गरिरहेको व्यहोरा युट्युबमा पनि नियाल्न सकिन्छ । यसतर्फ नामसालिङ सामुदायिक सेवा केन्द्रले पक्कै पनि सहजीकरणको भूमिका निर्वाह गरेकै होला र गर्ने नै छ भन्ने विश्वास लिनैपर्छ ।

प्रकृतिको जय होस् । प्रदूषणको पराजय होस् । नामसालिङ, इलाम र नेपालको उन्नति होस् । मानव र मानवताको भलो होस् ।