सङ्गीत र साहित्यका ‘अमृत–प्रतिभा’

सङ्गीत र साहित्यका ‘अमृत–प्रतिभा’


त्यसो त यतिबेला गीत–सङ्गीत क्षेत्रमा लागेर आफ्नो भविष्य चम्काउन खो्ज्नेहरूको कमी छैन । समय र प्रविधिले पनि सांगीतिक क्षेत्रमा लाग्न चाहनेहरूलाई सजिलो तुल्याएको छ । स्वर र प्रतिभा खासै नभएकाहरू समेत आफूलाई गायक–सङ्गीतकार बनाउन या भनाउन हारालुछ गरिरहेको परिवेशमा साँच्चै प्रतिभा भएका पात्रले सङ्घर्षमा होमिनु स्वभाविक नै हुन आउँछ । यस्तै प्रतिभा बोकेर साङ्गीतिक क्षेत्रमा सङ्घर्षशील युवा प्रतिभा हुन् – अमृत भारती ।

सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिका–२ मा जन्मिएका अमृत सानैदेखि गीत–सङ्गीतमा रुचि राख्थे । गाउँघरमा मेलापात जाँदा उनी धक फुकाएर बेस्सरी गीत गाउँथे । छिमेकी घरमा हुने पुजापाठ र जात्राहरूमा पनि सुरिलो आवाजमा गाएर सबैलाई सन्तुष्ट पार्थे । साहित्यका स्रस्टा–सर्जकसमेत रहेका अमृत कविता, गजल र मुक्तक लेखनमा पनि संलग्न छन् । उनले पाँच वर्षअघि नै ‘अमृत’ नामक गजल–सङ्ग्रह प्रकाशन गरेर साहित्यप्रतिको अनुराग प्रकट गरिसकेका छन् ।

साङ्गीतिक क्षेत्रमा प्रवेश गरेर उनले पहिलो गीत ‘कन्याराशि’ बजारमा ल्याएका थिए । उक्त गीतको चर्चापछि हौसिएका अमृतले मनपरेको केटी, हल्लो हुँदैन, पशुपतिनाथ, नाचिदेउ मायाले छम्म–छम्म–छम्म जस्ता दुई दर्जनभन्दा बढी ल्याइसकेका छन् । बजारमा एकदमै चर्चा बटुल्न सफल गीत कन्याराशि, मेरो प्यारो सिन्धुपाल्चोक, मनपरेको केटी, शुभ दशैँ जस्ता गीतको माध्यमबाट अमृतले दर्शक–श्रोताको मन जितेका थिए । अघिल्लो वर्ष सम्पन्न नेशनल पावर न्युजले आयोजना गरेको अवार्ड कार्यक्रममा पनि उनले ‘सर्वोत्कृष्ट गायक’को अवार्ड जितेका थिए । ‘मेरो प्यारो सिन्धुपाल्चोक’ गीतबाट मात्र दुईवटा अवार्ड जितिसकेका छन् । यस्तै, यपिक म्युजिक अवार्डमा समेत उनले जुरी अवार्ड हात पारेका थिए ।

भारतीले लाखौँ दर्शक–श्रोताको मन जितेर साङ्गीतिक छेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएका छन् । गायक भए पनि उनले भारती पिक्चर्स प्रा.लि. नामक म्युजिक कम्पनीसमेत खोलेका छन् । उक्त म्युजिक कम्पनीले धेरै गीतको बजार व्यवस्थापन गरिसकेको छ । छोटो समयमा निकै लोकप्रिय बनेका गायक भारती हँसिला, सरल र मिलनसार छन् भने गीत–सङ्गीतप्रतिको लगाव उनभित्र प्रचुर छ ।

सिन्धुपाल्चोकमा जन्मिए पनि गायक भारती सुदुरपश्चिमाञ्चलतिर चल्ने भाकासमेत सहजै गाउँछन् । वर्षेनी ३–४ वटा उत्कृष्ट गीत बजारमा ल्याएर उनले दर्शकको मन जित्दै आएका छन् । छिट्टै ‘मेरो प्यारो सिन्धुपाल्चोक भाग २’ ल्याउने तयारी गरिरहेका अमृत जति प्रतिबद्ध भएर गीत–सङ्गीत क्षेत्रमा लागेका छन्, यसले उनको चम्किलो भविष्यको सङ्केत गरेको छ । प्रतिभाशाली गायक तथा साहित्य–स्रष्टा अमृतलाई सफलताको शुभकामना !