राजविराजबाट बुद्ध एयरको दैनिक उडान शुरु हुँदै

राजविराजबाट बुद्ध एयरको दैनिक उडान शुरु हुँदै


बुद्ध एयरले यही माघ १८ गते शनिबारदेखि राजविराजबाट सातै दिन उडान गर्ने तयारी गरेको छ । उडान सेवा काठमाडौंबाट राजविराजका लागि ११ बजेर २५ मिनेटमा तथा राजविराजबाट काठमाडौंका लागि १२ बजेर २० मिनेटमा प्रस्थान गर्ने समय तालिका निर्धारण गरिएको बुद्ध एयरले जनाएकोछ ।

कम्पनीका राजविराज स्टेशन इञ्चार्ज अनिल राजवंशीले दिएको जानकारीअनुसार नियमित उडानले पर्यटन प्रवद्र्धनका साथै भ्रमण वर्ष २०२० लाई सफल बनाउन मद्दत पुग्ने अपेक्षा बुद्ध एयरले गरेको छ । यसअघि राजविराज विमानस्थलमा श्री एयरलाइन्सले साताको तीन दिन उडान सेवा दिँदै आएकामा बुद्ध एयरले भने सातै दिन एक–एक उडान गर्ने भएको हो ।

प्रारम्भिक चरणमा बुद्धको ४७ सिट क्षमता भएको विमानले उडान भर्ने तथा यात्रुको चापलाई ध्यानमा राखी ७२ सिट क्षमताको विमानले उडान भर्ने औपचारिक जानकारी दिइएको छ ।

ज्ञातव्य छ, राजविराज विमानस्थल वि.सं. २०१६ सालमा तत्कालीन यातायातमन्त्री गणेशमान सिंहले शिलान्यास गरेका थिए । सप्तरीको विष्णुपुर गाउँपालिकास्थित रहेको राजविराज विमानस्थलमा एक हजार ५०० मिटर लम्बाइ र ३० मिटर चौडाइको पक्की धावनमार्ग निर्माण कार्य सम्पन्न गरी २०७५ जेठ १० गते तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले उद्घाटन गरेका हुन् ।