छाउपडी गोठ नभत्काई सुधार गरे राम्रो होला कि !

■ तिलक पौडेल



‘हामी नाहाँदा हौँ हो माइठर, एकछिन पुड्डो हौ… …’

यो झन्डै चार दशक पहिले वि.सं. २०३८ तिर मुगु जिल्लामा अध्यापन कार्यमा संलग्न रहँदाको प्रसङ्ग हो । शनिबारका दिन हामी शिक्षक नुहाउन नाउलातिर (पानीको धारातिर) पानी तताउन तामाका ताउला लिएर जान्थ्यौँ । त्यही नाउलामा महिनावारी भएका युवतीले नुहाउँदै गरेको समयमा हामी आएको आभाष पाएपछि हामीलाई भनेको व्यहोराको अंश हो– हामी नुहाउँदैछौँ है मास्टरसाहेव ! एकछिन त्यतै बस्नोस् है ।

‘कइतो मस्हिनु गडी बुन्या होला प ! धागो, तान कस्हो गडी बुनाउँदा हुन्ना त ?…’ लोग्नेमान्छेहरू ठण्डी मौसममा भाब्ड (नैनीताल, कतर्निहाघाट, कालापाहाड आदि) तिर गएर ल्याएको काँचो धागोलाई आफैँले तान बनाएर आफैँले ठेटुवा (काँचो धागोबाट बुनेर बनाइएको) बुनेर चोलो, गुनियो, आँगो (युवतीहरूले लगाउने गाउन ?) बनाएर लगाउने गर्दथे । उही महाकवि लक्ष्मीप्रसाद देवकोटाले ‘मुना मदन’मा भनेजस्तै ‘आफैँले खन्छ, आफैँले खान्छ, दिएर खाँदैन …’ कपडा सामान्यतया एकजोरभन्दा बढी नहुनु स्वाभाविकै देखिन्थ्यो । कर्णालीबाहिरबाट गएका हामीले लगाएका कपडाहरू छामेर मुगालहरूले भन्ने गर्थे– कस्तो मसिनो गरी बुनेको होला त ! धागो, तान कसो गरी बनाउँदा हुनन् त ? … ।

आवश्यकता नै आविष्कारको जननी हो भनेजस्तै एकजोर मात्र लुगा भएकाले कुनै पनि हिसाबले नुहाउँदा कपडा रुझाएपछि फेर्ने अर्को कपडा नहुँदा उनीहरू नाङ्गै नुहाउँथे होला । आपसमा नाङ्गै हुँदा पनि शायद सरम नमान्दा हुन् कि ? त्यही भएर माथिको शुरुको वाक्य भन्न बाध्य भएको स्पष्ट हुन्छ ।

महिनावारी हुनुलाई हाम्रा अग्रजहरूले ‘रजस्वला हुनु’, ‘तर्कनु’, ‘नछुने हुनु’, ‘छुई हुनु’जस्ता शब्दावली प्रयोग गरिआएको पाइन्छ । महिनावारी भएका बेला सबैसँग नछोई रगत बगुञ्जेल अलग्ग बसेर सनातनी कार्यहरू पनि नगरी आराम गर्ने सन्देश दिएकोजस्तो लाग्छ । हाल विज्ञानले पनि मसिन्याएर महिनावारी भनेको महिलाको पाठेघरमा जम्मा भएको दूषित रगत मासिक हिसाबमा बाहिरिने प्रक्रिया हो र त्यो रगत सामान्यभन्दा बढी विषाक्त हुन्छ भन्ने व्यहोरा प्रमाणित गरेको पाइन्छ । यस्तो अवस्थामा परिवारका सबै सदस्यसँग सनातनी रूपमा हेलमेलिँदै घरायसी काम गर्नु स्वास्थ्यका हिसाबले पनि उपयुक्त नहुने नै देखिन्छ । त्यसकारण यही प्रयोजनका लागि महिनावारी भएका महिलालाई उही घरमा पनि छुट्टै कोठाको व्यवस्था गरिएको हुन्थ्यो । सामूहिक हिसाबले अलग बस्नका लागि गाउँगाउँमा ‘छाउपडीगोठ’हरू निर्माण गरिएको पाइन्थ्यो । यही भएर होला कर्णालीतिर महिनावारी हुनुलाई ‘गोठ बस्ने’ पनि भनिएको जस्तो लाग्छ । ती कोठा वा गोठमा पर्याप्त प्रकाश पनि हुँदैनथ्यो । जसको परिणाम सुत्केरी वा महिनावारी हुँदा बगेको रगतको आलो रूप नदेखिने भयो अनि सुकेपछि सामान्य ‘टाटो’ जस्तो मात्र देखिने हुँदा आफैँमा कम फोहोर लाग्ने भयो । यस्तै कारणले पनि ठण्डीठाउँतिर छाउपडीगोठमा बस्ने गरिएको हुन सक्छ ।

यसो भनेर यो बसाइ उपयुक्त भन्न कदापि खोजिएको होइन । तर, जोसँग दुई जोर कपडासम्मको व्यवस्था छैन । माइनस बाइस डिग्रीसम्मको चिसो (२०६५ सालमा हुम्लामा पङ्क्तिकारले अनुभव गरेको उच्चतम चिसो अवस्था) हुने वातावरणमा फोहोर सफाइका लागि नुहाइरहन सकिने अवस्था अनि व्यवस्था पनि छैन । सल्लीपिरल (सल्लाका सुकेका पात) बिच्छ्याइएका गोठमा गुटमुटिएर सुत्नु आफैँमा सहज पनि छैन । परिवारका सदस्यहरूसँग सँगै बस्नभन्दा अलग बस्नु राम्रो हुने व्यहोरा विदित गराइएको तत्कालीन अशिक्षित मस्तिष्कमा छुई भएका बेला (महिनावारी भएका बेला) घरैमा छोइछिटो नबारी सँगै बसे नारान गोसाइय (भगवान्) रिसाउने व्यहोरा घुसाइएको थियो । सोही व्यहोरा हालसम्म पनि संस्कारका रूपमा मगजमा पिच बनेकोजस्तो लाग्छ । जुन तुरुन्तै उप्कने पनि होइन । वर्तमानमा पढालेखा, जानेबुझेकाले महिनावारी बारिरहनुपर्ने विषय होइन भनी सामाजिक जनचेतना फैलाइरहेको अवस्था छ । चेतनामा दिइएको सारलाई कार्यान्वयन गर्न सरकारी तवरबाटै ‘छाउपडीगोठ’हरू भत्काउने अभियानै सञ्चालन गरिएको प्रतीत हुन्छ । यो छुई प्रथा उन्मूलन गर्ने प्रयासले त्यहाँका युवा मस्तिष्कमा तातो दूध निल्नु न ओकेल्नुजस्तो भएझैँ लाग्छ । किनभने निलौँ भने दूध तातो हुँदा पोल्छ अर्थात् छाउपडीगोठ भत्काई छुई नबारी सबैसँग घरमा सँगसँगै बस भन्ने व्यहोरा मानौँ भने देउता रिसाउँछन् कि भन्ने डर मनबाट हट्न सकेको छैन अनि ओकेलौँ भने दूधजस्तो अमृतको कसरी दुरुपयोग गर्नु अर्थात् फोहोर र खतरायुक्त गोठमा नबस भनी सरकार र सरोकारी अधिकारवादीहरूले चलाएको अभियानलाई कसरी इन्कार्नुको द्विविधा विद्यमान रहेको अवस्था स्पष्ट देखिन्छ । यसर्थ उल्लिखित व्यहोराहरूलाई मनन गरी समुचित निकासको पहल पनि भइरहेको छैन जस्ता असमाञ्जस्यताबाट अहिलेको अवस्था गुज्रिरहेको महसुस हुन्छ ।

हाम्रै स्याङ्जातिर पनि महिलाले नछुने भएका बेलामा दूध, मोही खानुहुँदैन, फलफूलका, झालपातका बोटहरू छुनुहुँदैन भन्ने गरिन्थ्यो । उनताका कर्णालीतिर त बिहे भएर गएकी छोरी र ज्वाइँले समेत कैली गाई, भैंसीको दूध पनि खान हुँदैन भनिन्थ्यो । त्यतातिर देउताको नाममा माडु (मन्दिर) मा सात फन्को घुमाएका पशुलाई कैली गाई, भैंसी भनिन्थ्यो । हाम्रै तहबाट आफ्नै अर्धाङ्गिनीहरूलाई महिनावारी भए पनि अलग बस्नुपर्दैन भन्दा पनि स्वीकार गर्दैनथे । त्यसका लागि कतै कुनै देवी मन्दिरहरूमा ‘आज देवी रजस्वला भएकी छिन्, दर्शन चल्दैन’ भनिएको छ र हाम्रो घररूपी मन्दिरकी देवीकी प्रतीक तिमी महिनावारी भएकीले छोइछिटो बारेर अलग्गै बस्नुपर्छ ? भनी अथ्र्याउने प्रयास गरिरहँदा शहरको डेरामा बसाइ छोटो साँघुरो पनि भएकाले बहुत असजिलोसँग सहबसाइमा परिणत गरिएको हो । जसमा नेवार, गुरुङ, मगर आदि महिनावारी नबारिने समुदायको घरमा डेरा गरी बसेका बेलामा माथि घरभेटी भाउजू नछुने भएका बेलामा ट्याङ्की खोलिदिएर पठाएको पानीले पूजास्थलका अम्खोरामा भरेर पूजा गर्दा पनि पूजा हुन सक्छ भने कति सरल, सहज भगवान्÷भगवती हुन् – तिम्रा ? भनिने प्रसङ्गले पनि अर्धाङ्गिनीहरूमा आधुनिकता भित्र्याउन सहायकसिद्ध भएको महसुस हुन्छ ।

जे होस्, प्रस्तुत भूमिकाका व्यहोराहरूलाई नजरअन्दाज गरेर वर्तमानमा चलाइएको छाउपडी प्रथा हटाउन छाउपडीगोठ भत्काउने अभियान असमाञ्जस्यपूर्ण बनेका दृष्टान्त हरेकजस्तो छापाहरूमा दृष्टिगोचर हुने समाचारहरूबाट स्पष्ट हुन्छ । तसर्थ, छाउपडी प्रथा उन्मूलनका लागि पहिलो चरणमा छाउगोठहरू हटाउनभन्दा सुधार गर्दा अभियान सफल होला कि भनी निम्नानुसारका सुझावहरू पेस गरिएको छ । यी सुझावहरूलाई आवश्यकताअनुसार परिमार्जन गरी लागू हुने अपेक्षाका साथ यहाँ प्रस्तुत गरिएको हो ।

यो प्रथा अधिकांशतः चिसो वातावरण भएका स्थानहरूमा कायम रहेको पाइन्छ । यो कटु सत्य व्यहोरालाई अभियानकर्ताहरूले मनन गर्नु पहिलो कर्तव्य ठहरिनुपर्छ । किनभने महिनावारी हुँदा रक्तस्राव हुने र त्यसको पूर्ण सफाइबेगर सबैसँग बस्नु परिवार र स्वयम् आफूलाई पनि उपयुक्त देखिँदैन । फेरि, यस्तो वातावरणमा चाक्ला–मुग्ला–अग्ला घरहरू पनि हुँदैनन् । जहाँ सरसफाइ कायम गरेर सबैसँग बस्ने सुग्घरता सम्भव छैन । त्यसैले महिनावारी भएका बेलामा बस्ने छुट्टै घर हुनु आफैँमा उपयुक्त देखिन्छ । बरु सरकारी तवरबाटै टोलटोलमा कम्तीमा एउटा नत्र जनसङ्ख्याको आधारमा बढी सामुदायिक घरहरूको निर्माण गरेर शौर्यप्रणालीबाट पानी तताउने बन्दोबस्त मिलाउनु अत्युत्तम हुने देखिन्छ । त्यसो भयो भने स्वभावतः राष्ट्रकविले भनेझैँ ‘को भन्छ र नराम्रो छु, नजाती कुन भन्छ र ?’ भन्ने व्यहोरा रजस्वला उमेरका युवतीहरूले हरेक बिहान वा आवश्यकताअनुसार स्नान गरी निःसन्देह लागू गर्नेछन् । ती सामुदायिक घरहरूमा साबुन, तौलिया, प्याडलगायतका आवश्यक सामानहरूको पनि व्यवस्था मिलाउनुपर्छ ।

त्यसैगरी सके त वातानुकूलित कक्ष नभएमा मौसमअनुसार आगो ताप्न दाउराको बन्दोबस्त हुनु अनिवार्य देखिन्छ । यदि यसो गरियो भने ती सामुदायिक घरहरूमा महिनावारी भएका बेलामा समउमेरीहरू जम्मा भई आपसमा मनका भावनाहरू सेयर गरी समाजबाट रुढिवादिता हटाउन आफूहरूलाई सक्षम बनाउन सक्छन् । जुन व्यहोरा महिनावारीका बेलामा अलग नबसी घरैमा बसे पनि भावनाको आदान–प्रदान र त्यसबाट समाज सुधारको सम्भावना देखिँदैन । बरु ती घरहरूमा महिनावारी भएकाहरूलाई स्वास्थ्यअनुकूलको खानाको आपूर्ति व्यवस्था स्थानीय सरकार वा स्तरबाट मिलाउनु उपयुक्त देखिन्छ । अभावले अप्रियता पनि निम्त्याउन सक्ने हुनाले सरोकारवाला अधिकारकर्मीहरूले सामयिक प्रशिक्षण र ठोस अनुगमन गरी स्थानीय सरकारसँग समीचीन समन्वय गर्नुलाई अनिवार्य बनाइनु राम्रो हुनेछ ।

तसर्थ, छाउपडी प्रथा हटाउने नाममा छाउगोठहरू भत्काउँदैमा युवा मस्तिष्कबाट संस्कारी छाप नमेटिएका प्रसङ्गहरू बाहिरिएकाले प्रथा उन्मूलनको लक्ष्यभेदनका लागि उल्लिखित अन्तरिम व्यवस्था मिलाउनु ठीक देखिएकाले ‘हिँड्नै नजानी दौडनु’ भन्दा ‘हजार माइलको यात्राका लागि उपयुक्त जचेको एक पाइलाबाट प्रारम्भ गरौँ’ भनी लागू गर्दा वेश होला । व्यहोरा उपयुक्त ठहरिए सरोकारवालाहरूले लागू गरौँ ।

‘सके सपारौँ, नसके नबिगारौँ ।’

प्रतिक्रिया