■ रसिकदेव
माघको कठ्याङ्ग्रिँदो जाडोमा
भर्खरै सडकबाट उठेको मानिस म
अस्तित्वको खोजीमा सूर्योदयसँगै
बाँच्ने चाहनाले पुकार्छ मेरो देशलाई ।
ए देशका ठेकेदारहरू हो
म पनि जिउन लायक छु कि
तिम्रो स्वीकारोक्तिले पनि
मेरो जीर्ण बोराका प्वालबाट
प्रवेश गर्ने सूर्यको किरणले जस्तै
मलाई पूर्ण चिसिनबाट रोक्छ कि ।
मेरी आमाले दिएको उपहारमा
यही मेरो एक जन्म त हो
मेरो बाबुले दिएको अंशमा
उनी जस्तै सडकको वास त हो नि ।
संभ्रान्तहरूले मिल्काएका बासी भातमा
सडकमै लड्छु म कुकुर र कागसँग
म जस्तै उनीहरू पनि अस्तित्वको लागि
बाँचिरहेछन् यही धरतीमाताको करुणामा ।
कायापलट र प्रलय पुराणमा जस्तै
होला–नहोला देशमा तर पनि आशामा छु
म मर्ने छैन अहिले नै समय अझै बाँकी छ
निरन्तर जीवन कल्पन्छु, मेरो आशा जिउँदै छ ।
प्रतिक्रिया