उपभामुखबाट राजीनामासँगै मेरो प्रगतिका लागि थप उत्साह मिलेको छ : तुम्बाहाम्फे

उपभामुखबाट राजीनामासँगै मेरो प्रगतिका लागि थप उत्साह मिलेको छ : तुम्बाहाम्फे


उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले सभामुखको उम्मेदवारको टुंगो लागेसँगै आफूले पदबाट राजीनामा दिएको बताएकी छिन् । प्रतिनिधिसभाको बैठकमार्फत उपसभामुखबाट राजीनामा घोषणा गरेलगत्तै संसदभवन नयाँ बानेश्वरमा पत्रकार सम्मेलन गरेर उनले संविधानले संसदलाई नेतृत्वविहीन हुने कल्पना नगरेकाले सभामुखको उम्मेदवारको टुंगो लाग्नेबित्तिकै आफूले राजीनामा गरेको बताइन् ।

उनले आफू दलको नभई संसदको उपसभामुख भएकाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले राजीनामा गर्न दिएको निर्देशन मान्न नसकेको प्रस्टीकरण दिइन् । ‘संसदीय मर्यादालाई ख्याल गरी मैले मार्गप्रशस्त गर्न राजीनामा गरेको हुँ,’ तुम्बाहाम्फेले भनिन् ।

उपसभामुखबाट राजीनामा गरेसँगै ट्र्याक परिवर्तन भएको उनको भनाइ थियो । उनले आफ्नो दुईवर्षे कार्यकालमा संविधान र कानूनबमोजिम कर्तव्य निर्वाह गरेको जिकिर गरिन् । असोज १४ गतेपछि सभामुख पद रिक्त रहेको असहज परिस्थितिमा संविधानले दिएको अधिकारअनुसार आफूले प्रतिनिधिसभाको नेतृत्व गरेको डा. तुम्बाहाम्फेले स्पष्ट पारिन् । ‘उपभामुखबाट राजीनामा गर्दा म अत्यन्त खुशी छु, राजीनामासँगै मेरो प्रगतिका लागि थप उत्साह मिलेको छ,’ उनले भनिन् ।

संसद सचिवालयको कर्मचारीले दुव्र्यवहारको आरोप लगाएपछि सभामुख कृष्णबहादुर महराले राजीनामा गरेका थिए । गत असोज दोस्रो सातादेखि प्रतिनिधिसभा सभामुखविहीन छ । आइतबार नेकपाको सचिवालय बैठकले अग्निप्रसाद सापकोटालाई सभामुख बनाउने निर्णय गरेको थियो ।
rss