आजदेखि मौसममा सुधार हुने

आजदेखि मौसममा सुधार हुने


पश्चिमी न्यून चापीय वायुको प्रभावले गत बिहीबारदेखि प्रभावित मौसम आज (४ माघ) बाट विस्तारै सुधार हुँदै जाने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव विस्तारै कम भई मौसममा क्रमिक रुपमा सुधार हुँदै गइरहेको र तत्काललाई अब वर्षा हुने सम्भावना नरहेको मौसमविद् विभूति पोखरेलले बताउनुभयो ।

आज देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी तथा तराई भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको र राति देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र तराईका भू–भगामा आंशिक बदली भई पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ । भोलि (५ माघ) आइतबार देशभर आंशिकदेखि सामान्य बदली भई पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना औँल्याइएको छ । सोमबार देशभर मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।