अन्नपूर्ण आधार शिविरमा हिमपहिरोमा परी बेपत्ता भएकाको खोजी जारी

अन्नपूर्ण आधार शिविरमा हिमपहिरोमा परी बेपत्ता भएकाको खोजी जारी


अन्नपूर्ण आधार शिविरमा घुम्न गएका चार कोरियाली नागरिक र दुई नेपाली पथप्रदर्शकसहित ६ जना बेपत्ता भएका छन् । अन्नपूर्ण आधारशिविर पुगेका नौ कोरियाली नागरिकको टिममध्ये पाँचसहित एक नेपालीलाई चाहिँ जीवितै उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिएका छन् । उद्धार गरिएका पाँचै जनालाई आधार शिविरबाट हिमालय भन्ने स्थानमा ल्याएर राखेको बताउँदै डिएस्पी कार्कीले मौसम सुधार हुनासाथ हेलिकप्टरमार्फत पोखरा ल्याइने बताए ।

अत्यधिक हिमपातसँगै आएको हिमपहिरोका कारण बाँकी चार जना कोरियान नागरिक र एक जना गाईड सम्पर्कविहीन भएको बताइएको छ । मोबाइलको चार्ज सकिएर पनि सम्पर्क नभएको हुन सक्ने भन्दै उनले सो क्षेत्रका स्थानीय पर्यटन व्यवसायी र प्रहरीसहितको सात जनाको टोली अहिले उद्धारका लागि छुमरुङ पुगिसकेको जानकारी दिए ।

हिमपहिरोमा परी बेपत्ता भएकाको उद्धारका लागि आवश्यक सामग्रीसहितको पाँच जनाको अर्को टोली पनि छुमरुङ पुगेको टान पश्चिमाञ्चलका अध्यक्ष हरि भुजेललाई उद्धृत गर्दै राससले जनाएको छ । अत्यधिक चिसोको कारण उद्धारमा कठिनाइ भइरहेको बताउँदै उनले उक्त टिममा अन्य नेपाली पनि हुनसक्ने र थप विवरण आउन बाँकी रहेको बताए ।