बालबालिकालाई न्यानो टोपी वितरण

बालबालिकालाई न्यानो टोपी वितरण


■ रमेश विश्वकर्मा, गुल्मी

गुल्मीको सदरमुकाम तम्घासमा बालबालिकालाई न्यानो टोपी वितरण गरिएको छ । चिसोले गर्दा बालबालिकालाई विद्यालय जान निकै नै समस्या परेको थियो । चिसोको कारण बालबालिकालाई निकै नै कष्ट भएको भन्दै रेसुङ्गा नगरपालिका वडा नं. १, २ र ८ का बालबालिकाहरुलाई न्यानो टोपी वितरण गरिएको हो ।

रुडेक नेपालका कार्यक्रम व्यवस्थापक रमेशजङ्ग कुँवरको पहलमा ४० जना बालबालिकालाई फोर्टीन स्टार युवा क्लब तम्घासले एक कार्यक्रमको आयोजना गरि उक्त टोपी वितरण गरेको हो । पाँच वर्षदेखि दश वर्षसम्मका विपन्न, गरिब र दलित परिवारका बालबालिकालाई टोपी वितरण गरिएको फोर्टीन स्टार युवा क्लबका अध्यक्ष विक्रमसिंह बुढाथोकीले जानकारी दिए ।

सनराइज चिल्ड्रेन्स एसोसिएसन इन्क अस्ट्रेलिया र रुडेक नेपालको सहयोगमा न्यानो टोपी बालबालिकाहरुलाई वितरण गरिएको फोर्टीन स्टार युवा क्लबका महासचिव नारायण आचार्यले जानकारी दिए । यसरी टाउकोमा न्यानो टोपी लगाउन पाउँदा बालबालिकाहरु अत्यन्तै हर्षित भएर एक आपसमा खुसी साटासाट गरेका थिए ।

न्यानो टोपी वितरण कार्यक्रमका प्रमुख अतिथि तथा रेसुङ्गा नगरपालिका वडा नं। ८ का वडा अध्यक्ष भरत भलामीले क्लबले यसरी सामाजिक कार्यमा हात हाल्नु एउटा उदाहरणीय कार्य भएको बताए । उनले समाजमा यस्तै अन्य राम्रा कामहरु यस फोर्टीन स्टार युवा क्लब गर्दै आएको बताए । आगामी दिनमा पनि अझ बढी सामाजिक कार्यमा कटिबद्ध भएर लाग्न आग्रह गर्दै भने- ‘क्लबले सामाजिक कार्य सँगसँगै खेलकुदको क्षेत्रमा पनि अत्यन्तै महत्त्वपूर्ण काम गर्दै आएको छ ।’

पछिल्लो समयमा युवाहरु नकारात्मक दिशातर्फ लागेकोले त्यसो नगरी सामाजिक कार्यमा यसैगरी लाग्न आग्रह गरे । उनले दिनानुदिन युवाहरु विदेश पलायन हुने कुरामा चिन्ता व्यक्त गरे । युवाहरूलाई विदेश नगई स्वादेशमै काम गरि सामाजिक क्षेत्रमा काम गर्न वडा अध्यक्ष भलामीले आग्रह गरे ।

उनले समाजमा राम्रो काम गर्ने युवाहरू वा जोसुकै होस् समाजमा भएका अग्रजहरुले सल्लाह सुझाव दिनुपर्ने बताए । सल्लाह सुझावबिना कुनै पनि काम सफल नहुने भलामीको भनाई रहेको छ ।

आफु रेसुङ्गा नगरपालिका वडा नं. ८ को वडा अध्यक्ष भएर आइसकेपछि वडा भित्रका विपन्न, गरिब, दलित र एकल महिलाका बच्चाहरुले सामुदायिक विद्यालयमा पढ्नको लागि कक्षा १२ सम्म निःशुल्क पढ्ने व्यवस्था मिलाएको बताए ।

उनले रेसुङ्गा नगरपालिकाभित्र रहेका अरु वडा भन्दा ८ नं. वडाले शिक्षा क्षेत्रमा निकै नै उदाहरणीय कार्य गर्दै आएको दाबी गरे । उनले शिक्षा क्षेत्रलाई राम्रो बनाउनका लागि आफुले गुरुयोजना नै बनाएर अगाडि बढेको बताए ।

कार्यक्रममा रेसुङ्गा नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष भरत भलामी, रेसुङ्गा नगरपालिका वडा नं. २ समाजसेवी अमृतादेवी कुँवर, समाजसेवी रुक बहादुर थापा, रेसुङ्गा नगरपालिका वडा नं. १ जनप्रतिनिधि मुकुन्दहरी गौतम, रेसुङ्गा नगरपालिका वडा नं. २ का जनप्रतिनिधि शेरबहादुर विश्वकर्मा, फोर्टीन स्टार युवा क्लबका अध्यक्ष विक्रमसिंह बुढाथोकी, उपाध्यक्ष सुरज पोख्रेल, महासचिव नारायण आचार्य, क्लबका सल्लाहकार इश्वरीप्रसाद बेल्बासे, शालिकराम बस्नेत, क्लबका सदस्य लगायतको उपस्थित रहेको थियो ।