राष्ट्रपति र प्रधानमन्त्रीबाट प्राप्त हौसला गौरिकाका लागि प्रेरणा

■ लोकभक्त राणा, (वरिष्ठ अधिवक्ता)

गौरिकाको नागरिकतासम्बन्धी विवाद कसले उठायो, किन उठायो र के प्रयोजनका लागि उठायो ? त्यस्ता व्यक्तिको छानबिन किन भएन ? प्रश्न यहाँ छ । त्यस्ता व्यक्तिका कारण हामीले कति दुःख र तनाव खेप्नुपऱ्यो, यो मन्त्रालयका सचिवले खडा गरेको फाइलमा उल्लेख छ । अहिले हाम्रो समाज धेरै छाडा भइसकेको छ, त्यसैले आवश्यक नियन्त्रण हुन जरुरी छ । नियन्त्रणका व्यवस्थाहरू उपयुक्त ठाउँमा असल नियतबाट प्रयोग भएमा देश अगाडि बढ्छ, तर बदनियतपूर्ण तवरवाट प्रयोग भएमा यसको विपरीत हुन जान्छ । त्यसैले प्रयोग हेरौँ, केही नियन्त्रण हुँदैमा कानुनी राज्य छैन भन्न मिल्दैन । यिनै खेलकुद र न्यायालयका दुई विधामा केन्द्रित रहेर वरिष्ठ अधिवक्ता लोकभक्त राणासँग घटना र विचारका लागि श्रीविक्रम भण्डारीले गरेको विशेष कुराकानी :



० नातिनी गौरिका जन्मिएको दिन तपाईंलाई कस्तो अनुभूति भएको थियो, त्यसपछि गौरिकाबारे कुनै सपना देख्नुभएको थियो ?
– औधी खुसी थिएँ, किनकि मेरो परिवारमा मेरो पहिलो नातिनीको रूपमा गौरिकाको जन्म भएको थियो । त्यो क्षण मेरो लागि साँच्चिकै अविष्मरणीय र खुसीको क्षण बनेको थियो । मलाई त्यो क्षणमा गौरिकाबारे कुनै सपना देख्नुभन्दा पनि हजुरबुबा हुन पाएकोमा गौरवको अनुभूति भएको थियो । त्यतिबेला त्यो अनुभूति कुनै सुन्दर सपनाभन्दा कम थिएन ।

० छोरी गरिमा र नातिनी गौरिकाको सफलताले तपाईंलाई कस्तो महसूस गराएको छ, अब तपाईंलाई छोरी र नातिनीले के गरेको हेर्ने इच्छा छ ?
– वास्तविक रूपमा भन्नुपर्दा म छोरी र नातिनीको सफलताले शब्दविहीन भएको छु । एसएलसीमा गरिमा बोर्डफर्स्ट आउँदा मलाई यति फोन आयो कि फोन उठाउँदाउठाउँदा आमालाई समेत गरिमा बोर्डफर्स्ट भएको खबर भन्न बिर्सेंछु । त्यसपछि गरिमाले आईएल, बीएलमा गोल्डमेडल जितिन्, मेरै क्षेत्र परेकोले त्यसबेलामा पनि खुसीको सीमा रहेन । अहिले १३औँ सागमा गौरिकाको ऐतिहासिक सफलतामा पनि गरिमाको इनपुट र गौरिकाको आउटपुट देखिन्छ । यो गरिमाको सङ्घर्षको नतिजा हो । अहिले छोरी र नातिनी दुवै अस्तित्वमा देखिएपछि मैले आफूलाई भाग्यमानी ठानेको छु ।

० १३औँ सागमा गौरिकाले ऐतिहासिक सफलता प्राप्त गर्दा अभिभावकको नाताले कस्तो महसूस गरिरहनुभएको छ ?
– गौरिकाको प्रदर्शनबाट सबै नेपाली खुसी भइरहेको अवस्थामा म हजुरबुबा भएको नाताले खुसी नहुने कुरै भएन । तर, अहिले खेल समाप्त भइसकेकोले यो समय भनेको विश्लेषण गर्ने समय हो । त्यसभन्दा राम्रो गर्न सकिन्थ्यो कि, भविष्यमा यसभन्दा राम्रो गर्न कस्तो रणनीति बनाउनुपर्छ, त्यो सोच्ने समय हो । मेरो विचारमा यो गौरिकाको लागि मात्र नभई सबै खेलाडीको लागि हो ।

० एकै संस्करणमा चार स्वर्णसहित नौवटा पदक, अपेक्षाअनुसारको प्रदर्शन थियो गौरिकाको ?
– साह्रै राम्रो प्रश्न । हाम्रो अपेक्षा यसभन्दा बढी थियो, तर पौडी सङ्घले पौडीका इभेन्टहरू आफ्नोअनुकूल नबनाएका कारण चार स्वर्ण मात्रै आएको हो । एकै दिन दुई, तीनवटा महत्वपूर्ण स्पर्धा गर्नुपर्दा तीनवटामा गौरिकाले नखेल्ने निर्णय गर्नुपरेको थियो । अहिलेको सेड्युल १२औँ सागको कपी मात्रै हो, जसको प्रभाव गौरिकाको खेलमा पऱ्यो, यो तीतो सत्य हो । यदि पौडी सङ्घले दूरदर्शी भएर सेड्युल बनाएको भए कम्तीमा पनि ६ स्वर्ण जित्ने थिइन् गौरिकाले ।

० गौरिकालाई यहाँसम्म पुऱ्याउन अर्थात् ऐतिहासिक सफलता दिलाउन परिवारको सपोर्ट र लगानीलाई कसरी विश्लेषण गर्नुहुन्छ ?
– यसमा सबैभन्दा ठूलो हात गौरिकाकी आमा गरिमाको छ भने त्यसपछि बुबा पारसको । गौरिकाको भविष्यको लागि गरिमाले जुन समय दिइन् त्यो निकै महत्वपूर्ण छ । त्यस्तै, ज्वाइँ पारसको कमाइको आधा खर्च गौरिकाको प्रशिक्षण, प्रतियोगिता र पढाइमा लागेको छ । यथार्थमा भन्नुपर्दा पौडी खेलाडी पाल्नु भनेको हात्ती पालेबराबर नै हुने रहेछ । डाइट, खेल–सामग्री र प्रशिक्षण निकै खर्चिलो हुँदोरहेछ ।

० राजनीतिले गाँजेको नेपाली खेलकुदमा गौरिकाको अबको भविष्यलाई कसरी हेर्नुभएको छ, यस्तो वातावरणमा गौरिका कहिलेसम्म टिक्लिन् जस्तो लाग्छ, तपाईंलाई ?
– यस सागमा गौरिकाले जुन सफलता प्राप्त गरेकी छिन् छ यसले उसको भविष्यलाई अझ उजगार गरेको छ । सायद अब गौरिकालाई असर पार्न मुस्किल होला । एउटा कुरो सत्य के हो भने गौरिकालाई यो ठाउँमा पुग्न नदिन सङ्घका केही पदाधिकारी र अभिभावकले राजनीति गरेकै हुन् । यो राजनीतिले झन्डै उसको भविष्य समाप्त पारेको थियो । अहिलेको कुरा गर्दा अब असर पर्ने राजनीतिभन्दा गौरिकाको प्रदर्शनको लेवल धेरै माथि पुगिसकेको छ । त्यसैले हामी सहजचाहिँ हुनुपर्छ चिन्ता गर्नुचाहिँ पर्दैन ।

० खेलकुदभित्र हुने फोहोरी खेलबाट परिचित हुनुहुन्छ, विगतमा गौरिकामाथि पनि यस्तै खेल खेलिएको थियो, र पनि नेपाली खेलकुदलाई विश्वास गर्नुको कारण के हो ?
– पौडी खेलको माहोल नै दुर्गन्धित छ, जहाँ नातावादलाई विशेष प्राथमिकता दिइएको छ, त्यो यद्यपि छ । यस्तोमा अन्यलाई टिक्न नदिने प्रवृत्ति हावी थियो । यस्तोमा गौरिकाले पौडी खेल्न थालेपछि उनीहरूको निद हराम भएकै हो । त्यसपछि गौरिकालाई खेल्न नदिन विभिन्न आरोप लगाउँदै असफल प्रयास भयो । तत्कालीन समयमा पौडी सङ्घले गौरिकालाई आरक्षण दिनुपर्नेमा त्यो दिन नसकेकै हो । यदि सञ्चारमाध्यमहरूले गौरिकाको बारेमा त्यतिबेला सकारात्मक कुरा नलेखेको भए आज गौरिका कहाँ हुन्थिन् होला तपाईं खुद अनुमान लगाउन सक्नुहुन्छ । यसका लागि म सम्पूर्ण सञ्चारमाध्यमलाई विशेष धन्यवाद दिन चाहन्छु । यथार्थमा भन्नुपर्दा नेपाली खेलकुदलाई विश्वास गरेको नभई नेपालप्रति वफादार भई नेपाललाई पदक दिलाई देशको नाम उच्च राख्ने प्रयास हो । राष्ट्रप्रतिको अगाध प्रेमका कारण नै नेपाली खेलकुदलाई माया गरेको हो । त्यतिबेला सङ्घले जस्तो व्यवहार गरे पनि राष्ट्रपति र प्रधानमन्त्रीबाट पाएको हौसला अहिले गौरिकाको लागि प्रेरणा बनेको छ ।

० जापानमा आयोजना हुने ओलम्पिक खेलकुदमा गौरिकाको सहभागिता पक्का भइसकेको छ, कस्तो तयारी गरिरहेकी छिन गौरिकाले ?
– यो ओलम्पिक तयारीका लागि गौरिका विद्यार्थी भएका कारण पढाइ पूर्ण रूपमा छोड्न मिल्दैन, पढाइ र प्रशिक्षण साथसाथै गर्नुपर्छ । अहिले गौरिका ‘ए’ लेबलमा पढ्दै छ, बिहान–बेलुकी प्रशिक्षण गर्छ दिउँसो कलेज जान्छ । यसबाट सुधारिएको प्रदर्शन गर्न सक्छ, तर पदक जित्ने प्रदर्शन गर्न सक्तैन । ओलम्पिकमा पदक जित्न यस्तो तयारी र प्रशिक्षणले पुग्दैन, त्यसका लागि राज्य स्वयम् होमिनुपर्छ । साथै सोहीबमोजिम ओलम्पिकलाई दृष्टिगत गर्दै उचित प्रशिक्षणको व्यवस्था गर्नुपर्छ । सन् २०२४ हुने पेरिस ओलम्पिक खेलकुदसम्म गौरिकाको पढाइ सकिसकेको हुन्छ, त्यसबेला चाहिँ राम्रो नतिजाको आशा गर्न सकिन्छ ।

० पेरिस ओलम्पिकमा गौरिका छनोट चरण पार गरेर पुग्ने सम्भावना कत्तिको देख्नुहुन्छ ?
– गौरिका यही रफ्तारमा गइन् भने सन् २०२४ को पेरिस ओलम्पिकमा वाइल्ड कार्ड लिनुपर्दैन जस्तो लाग्छ मलाई । गौरिकाको अहिलेको टाइमिङ हेर्दा ‘बी’ क्वालिफाइङ टाइम ल्याउने सम्भावना छ, यो ओलम्पिकमा । त्यसको लागि गौरिकाले केही महिनाको समय पायो भने सम्भव छ । स्मरण छ, गत वर्ष अर्जेन्टिनामा सम्पन्न युथ ओलम्पिक क्वालिफाइङ टाइम ल्याउन गौरिका मात्र ०.००१ सेकेन्डले मात्र चुकेकी थिइन् ।

० सन् २०२२ मा चीनमा हुने एसियाली खेलकुदमा गौरिकाले पदक जित्ने सम्भावना कत्तिको देख्नुभएको छ ?
– एसियाली खेलकुदजस्तो प्रतियोगितामा पदक जित्ने कुरा ठोकुवाका साथ भन्न सकिँदैन । तर, गौरिकाले आफूले राखेका थुप्रै राष्ट्रिय कीर्तिमान भङ्ग गरेर एसियाली खेलकुदमा नयाँ कीर्तिमान कायम गर्ने कुरामा म विश्वस्त छु । दुई वर्ष अगाडिसम्म गौरिका राम्रोसँग नेपाली बोल्न सक्दिनथिन् । खेलकुदमा हुने राजनीतिबाट अनभिज्ञ थिइन्, अहिले नेपाली बुझ्ने र बोल्ने भइसकेकी छिन्, उनले विगतमा आफूविरुद्ध भएको अन्यायबारे पनि थाहा पाइसकेकी छिन् । २२औँ ओपन राष्ट्रिय एज ग्रुप पौडी प्रतियोगितामा गौरिकाले प्रतिस्पर्धा गरेका १५ वटै इभेन्टमा राष्ट्रिय कीर्तिमान कायम गर्दै स्वर्ण पदक जितेकी थिइन् । तर, सङ्घले उनको कीर्तिमानलाई कायम गर्न आनाकानी गरेपछि राखेपमा उजुरीसमेत परेको थियो । त्यसको लामो समयपछि तत्कालीन राखेपका सदस्यसचिव केशव विष्टले उक्त कीर्तिमान कायम भएको निर्णय गरेका थिए । राखेपले निर्णय ढिलो गर्दा गौरिकाको प्रदर्शनमा प्रतिकूल असर परेको थियो । त्यसको उदाहरण गत वर्ष इन्डोनेसियामा सम्पन्न एसियाली खेलकुद हो ।

० अहिलेसम्म निजी प्रयासमै गौरिका प्रशिक्षण भइरहेको अवस्थामा अब राज्यबाट कस्तो सहयोगको अपेक्षा गर्नुभएको छ ?
– राज्यले यसपालि गौरिकालाई पर्याप्त नगद पुरस्कारबाट सम्मानित गरेको छ । पहिले पनि उत्कृष्ट प्रदर्शन गरेका कारण राज्यले १०–१२ लाख सहयोग गरेको थियो । तर, विडम्बना ! राज्यले नेपाली मुद्रामा पैसा दिन्छ, उता प्रशिक्षण गर्दा पाउण्डमा दिनुपर्छ । यथार्थ कुरा के हो भने गौरिकाले पाएको पुरस्कारको रकम त्यसै बैंकमा थन्किएको छ । उसलाई राज्यले सटहीको सुविधा दिएको छैन । त्यसैले प्रशिक्षणमा बेलाबेलामा आर्थिक अभावको सामना गर्नुपरेको छ । यदि राज्यले गौरिकालाई नगद पुरस्कार दिँदा विदेश मुद्रामा दिँदा राम्रो हुने थियो । त्यसका लागि म सरकारलाई अनुरोध पनि गर्न चाहन्छु ।

० यदि राज्यले कुनै सहयोग गरेन भने सधैँभरि निजी खर्चमै देशका लागि खेलाउन सम्भव छ त ?
– माथिल्लो तह अर्थात् एसियाली र ओलम्पिकमा पुगेपछि सकिँदैन । जस्तै उसले आफ्नै प्रशिक्षक लानुपर्छ, गौरिकाले अहिलेसम्म लान पाएको छैन । जुनसुकै प्रतिस्पर्धामा पनि प्रशिक्षकको महत्वपूर्ण भूमिका हुन्छ, त्यो कुरा यो १३औँ सागमा गौरिकाले भोगेकी छिन् । जसले प्रतिस्पर्धा गर्नुअघि लण्डनमा आफ्नो प्रशिक्षकसँग छलफल गरेर प्रतिस्पर्धामा उत्रिनुपरेको थियो । अनुमानको आधारमा लन्डनबाट भन्दा त यस्तो नतिजा आयो भने प्रत्यक्ष भएको भए अझ राम्रो परिणाम आउँथ्यो होला ।

० गौरिकामाथि भएका भेदभाव र षड्यन्त्रमा सम्बन्धित निकाय राखेपले मौनता साँध्नु र दोषीलाई कारबाही नगर्नुको कारण के होला ?
– बाहिर चलेको चर्चा त्यसैै चलेको होइन, गौरिकामाथि भेदभाव र खेल्न नदिने बारम्बार षड्यन्त्र भएकै हो । यसतर्फ सम्बन्धित निकाय राखेपले चासो राख्नुपर्छ, खेल्नको लागि उचित वातावरण बनाउँदै दोषीलाई कारबाही गर्नुपर्छ । गौरिकाको नागरिकतासम्बन्धी विवाद कसले उठायो, किन उठायो र के प्रयोजनका लागि उठायो ? त्यस्ता व्यक्तिको छानबिन किन भएन ? प्रश्न यहाँ छ । त्यस्ता व्यक्तिका कारण हामीले कति दुःख र तनाव खेप्नुपऱ्यो, त्यसको मन्त्रालयका सचिवले खडा गरेको फाइलमा उल्लेख छ । सबैभन्दा चुरो कुरो दोषीले बारम्बार गल्ती दोहोऱ्याउँदा पनि कारबाही नहुनु हो । आठौँ राष्ट्रियमा गौरिकाले नौवटा कीर्तिमान कायम गरे पनि सङ्घले ६ वटामा मात्रै कीर्तिमान कायम गरेको भनेर पठायो । त्यसपछि सङ्घमा निवेदन दिँदा अहिलेसम्म मौनता साँधेर बसेको छ, कुनै प्रतिक्रिया दिएको छैन । आफ्नो उत्कृष्ट खेलाडीलाई यस्तो भेदभाव गर्दा सम्बन्धित निकाय पुनः सक्रिय हुन जरुरी भइसकेको छ ।

० केही समयपश्चात् खेलकुदमा राष्ट्रिय खेलकुद विकास ऐन (२०७६) लागू हुँदै छ, यो ऐनलाई अध्ययन गर्दा तपाईंलाई कस्तो महसूस भयो ?
– यो ऐन समग्रमा हेर्दा खेलाडीले गलत काम गरे कैद एवम् जरिवाना हुने व्यवस्था छ । तर, खेलाडीउपर भेदभाव गरी खेलाडीको भविष्य शून्य बनाउन खोज्ने व्यवस्थापकहरूलाई कैद एवम् जरिवानाकोे व्यवस्था छैन । त्यसतर्फ उपयुक्त व्यवस्था भएमा गौरिकाले भोगेका पीडाहरू अरू खेलाडीले भोग्नु नपर्ने हुन्छ । यसका लागि म संसद्को समेत ध्यानाकर्षण गर्न चाहन्छु ।

० प्रसङ्ग बदलौँ, हालै प्रधानन्यायाधीशले न्याय क्षेत्रमा पर्याप्त सुधार हुँदै गएको बताउनुभएको छ । न्यायालयमा के विकृति थियो, के सुधार भयो के भन्नुहुन्छ तपाईं ?
–पहिलाको विकृतिभन्दा अहिले घटेको छ । मैले प्रत्यक्ष रूपमा देखेको सर्वोच्च अदालतबाट सुराकीहरू अन्य अदालत र सर्वोच्च अदालतमै पनि गोप्य रूपमा खटिरहेका छन् । कुनै अनुचित कारोबार गर्न लागेको फेला परे त्यहीँ पक्राउ गरी कारबाही गर्ने रहेछ । कतिजना अदालतको कर्मचारी, बिचौलिया र कानुन व्यवसायीहरू आर्थिक लेनदेनमा परिसकेका छन् । आर्थिक लेनदेनको कारोबार नियन्त्रित हुन गएको छ । लामो अवधिदेखि चलिरहेको यस्तो कार्य रातारात शून्य अवस्थामा पुग्ने हुन्न, तर त्यसतर्फ उन्मुख छ ।

० न्याय क्षेत्रका सबैभन्दा ठूला समस्या र विकृति के हुन् त ?
– ठूलो समस्या भनेको बाह्य हस्तक्षेप हो । यही हस्तक्षेपमार्फत विकृतिहरू मौलाएका कारण न्यायाधीशहरूलाई काम गर्न असाध्यै अप्ठ्यारो होला जस्तो लाग्छ । हस्तक्षेपका कारण उत्कृष्ट व्यक्तिहरूभन्दा अरूले प्रवेश पाउने र त्यस्ताबाट भएको न्याय सम्पादन स्तरीय नहुनाले विकृति बढेका छन् । यस्तो ठाउँमा पनि यस्ता केही इमानदार न्यायाधीश हुनुहुन्छ जसको अनुहार सम्झँदा अन्याय भन्न मन लाग्दैन ।

० अहिलेको राजनीतिक नेतृत्वले सबैभन्दा उन्नत व्यवस्था ल्याएको भनिरहेका छन्, के मुलुकमा कानुनी राज सुरु भएको तपाईंलाई लागेको छ ?
–कुनै पनि विकासोन्मुख देश अगाडि बढ्दा कानुनी व्यवस्थाहरूमा केही नियन्त्रण हुनु अपरिहार्य छ । सवाल केमा उठ्छ भने त्यसलाई कार्यान्वयन गर्दा सदनियत वा बदनियतबाट भयो भन्ने हो । अहिले हाम्रो समाज धेरै छाडा भइसकेको हुनाले आवश्यक नियन्त्रण हुन जरुरी छ । ती नियन्त्रणका व्यवस्था उपयुक्त ठाउँमा सदनियतबाट प्रयोग भएमा देश अगाडि बढ्छ, तर बदनियतपूर्ण तवरबाट प्रयोग भएमा यसको विपरीत हुन जान्छ । त्यसैले प्रयोग हेरौँ, केही नियन्त्रण हुँदैमा कानुनी राज्य छैन भन्न मिल्दैन ।

० तपाईंको विचारमा कानुनी राज्यका निम्ति चुनौती के–के हुन् ?
– मुख्य चुनौती भनेको जनताको स्तर हो । जनताले यसको महत्व बुझी सोबमोजिम आचरण गरेमा कानुनी राज्य सफल हुन्छ । तर, अहिले जस्तो हरेक क्षेत्रमा सिन्डकेडद्वारा सञ्चालित भई जनता लुट्ने काम भएमा कानुनी राज्य शब्दमा मात्रै सीमित हुने हुन्छ । अब यस्ता सिन्डिकेडलाई तोड्न, नियन्त्रण गर्न कठोर कानुनको आवश्यक पर्दछ । कठोर कानुन ल्याउँदा कानुनी राज्य समाप्त भयो भने कानुनी राज्य टिक्न सक्तैन । बेलायत अमेरिकाजस्तो जनता नेपालमा भएको परिकल्पना गरी त्यहाँ उपयुक्त हुने कानुन नेपालमा स्थापित भएमा नेपालमा कानुनी राज्य कागजमा मात्रै सीमित हुन्छ ।

० के गरियो भने अहिलेको न्यायप्रणाली र राजनीतिमा सुधार होला ?
– सर्वप्रथम राम्रो कानुन र सिस्टम मात्रै भएर पर्याप्त हुँदैन । त्यसको लागि आफ्नो ठाउँमा सबै इमानदार हुनु जरुरी छ । तर विडम्बना ! यतिबेला राम्रो मान्छे उपयुक्त ठाउँमा आउने वातावरण नै छैन ।

प्रतिक्रिया