दलितलाई ऋण दिलाउने भन्दै ठगी गर्ने प्रहरी नियन्त्रणमा

दलितलाई ऋण दिलाउने भन्दै ठगी गर्ने प्रहरी नियन्त्रणमा


■ आरके श्रीवास्तव, रौतहट

दलितको नाउँमा ठग्दै हिँडेका एक व्यक्तिलाई रौतहट प्रहरीले पक्राउ गरेको छ । सर्लाही बलरा नपा ३ लक्ष्मीपुर टोल घर भएका उमेशकुमार मिश्राको छोरा ज्ञानेन्द्रकुमार मिश्रालाई फतुवा विजयपुर नपा ८ बुनियादटोलबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय फतुआ विजयपुर प्रहरीले जनाएको हो ।

चन्द्रपुर ४ रौतहटमा रहेको गरिब तथा दलित विकास कोष नेपाल (युएनएलआरपी) नामक संस्थाको कर्मचारी हुँ, मेरो संस्थाले दलित, विपन्न तथा पिछडिएको वर्गका मानिसलाई कम ब्याजदरमा लगानी गगर्छ, त्यसको लागि म सहयोग गर्छु, मौकाको फाइदा लिनु भन्दै प्रलोभन देखाउँदै मानिसलाई आफूतर्फ खिच्ने र समूह गठन गरेर मात्र ऋण पाइन्छ भन्दै उनले स्थानीयलाई झुक्याएका थिए । ऋणका निम्ति पाँच सय सेवा शुल्क बुझाउनेले पचास हजार, पन्त्र्र सय बुझाउनेले एक लाख र साढे बाइस सय बुझाउनेले डेढ लाख ऋण पाउने आश्वासन दिएर मिश्राले २३ जनाबाट एकचालीस हजार रकम संकलन गरि ठगी गरेका थिए । यसरी नाम परिवर्तन गरेर ठाउँ ठाउँमा ठग्दै हिँडेका मिश्रालाई सोही वडाको दलित बस्ती चमारटोलमा त्यस्तै अर्को समूह बनाउन लगाई ठगी गर्न लागेको सूचनाका आधारमा इप्रका विजयपुरबाट खटिएको गस्ती टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।

गरिव तथा दलित विकास कोष नेपाल नामक संस्था कुनै कार्यालय दर्ता नरहेको प्रहरीले जनाएको छ । पक्राउ परेका व्यक्तिको साथबाट क्याल्कुलेटर, मोबाईल दुई थान, क्यामेरा, नगद एकचालीस हजार र मोटरसाईकल बरामद भएको प्रहरीले जानकारी दिएको छ । उनलाई जिल्ला अदालत गौरबाट सात दिनको म्याद लिई थप अनुसन्धान भइरहेको प्रहरी निरिक्षक चन्द्रकिशोर साहले जानकारी गराए ।