भौतिकवादको दबदबा

■ दीपेन्द्र पाण्डे



राजनीतिक परिवर्तनको आडमा जस्केलाबाट छिराइएको धर्मनिरपेक्षतापछि मुलुकको प्रमुख धर्म नै इसाई धर्मजस्तो बनाइएको छ । जताततै चर्च र इसाईभक्त मात्र देखापरेको मुलुकमा क्रिसमसको केही दिन पहिला सपिङ सेन्टरमा पङ्क्तिकार प्रवेश गर्दा यस्तो भान हुन्थ्यो कि देशको सबैभन्दा ठूलो चाड हाम्रो घरआँगन आइसकेको छ । सेन्टरमा सान्टा क्लाउजको पहिरनमा सम्पूर्ण कर्मचारी देखिन्थे । हरेक धर्मका मानिस ‘ह्याप्पी क्रिसमस’ भन्न हतारो गर्दै थिए । इसाई धर्म नमान्ने मानिस गैरइसाई धर्मावलम्बीसँग क्रिसमस साटासाट गरिरहेका भेटिन्थे । काठमाडौंका अधिकांश निजी विद्यालय क्रिसमस मनाउन तँछाडमँछाड गर्दै थिए । यस्तो महसूस हुन्थ्यो कि यो पर्व उनीहरूकै निम्ति बनाइएको हो ।

पछिल्लो समय समाजवादको वकालत गर्ने चीनसमेत भौतिकवादको दबाब थेग्न नसक्दा बजारवादी बन्न विवश छ । बजारवाद र भौतिकवादले मानिसलाई केवल उपभोक्ता मात्र देख्न थालेको समयमा कट्टर राजनीतिक दुस्मन देश ‘चीन र अमेरिकाले’ सबै बिर्सँदै केवल व्यापारिक स्वार्थ जीवित राखेका छन् । भौतिकवादमा मन पग्लेको समाजवादी देश चीनले अमेरिकाको राष्ट्रिय झण्डाको व्यापार गर्छ । त्यसै गरी भारतीय रक्षाबन्धनको ‘राखी’ र हिन्दू ब्राह्मण क्षेत्रीको ‘जनै’ समेत चीनले उत्पादन गरिरहेको छ । आफ्नो देशमा क्रिसमस मनाउन प्रतिबन्ध लगाउन तम्सेको चीन विश्वका इसाईलाई सान्टा क्लाउजको लुगा निर्यात गर्दा मज्जाले रमाएको छ । देखासिखीमा रमाउने बानीको फाइदा उठाउँदै विशेष गरी क्रिसमस र जन्मदिनको बोझ भौतिकवादका व्यापारीले मुलुकवासीको दिमागमा अपलोड गरिदिएका छन् । फलस्वरूप विगतमा अस्तित्वमा नरहेका भौतिकवादी चिजहरू स्कुलसम्म पुऱ्याउन हाम्रा अभिभावकहरू हतारिएका छन् । केक र उपहार संस्कृति स्थापित गर्न राजी हामी कहाँ जाँदैछौँ भन्ने सोच्न बिर्सिसकेका छौँ ।

भौतिकवादले विशेष गरी युवाहरूको मनस्थितिसँग खेल्न जानेको छ । वर्तमान समयमा युवाहरू विचित्रको समस्याको सामना गर्दै छन् । भौतिकवादको चर्को प्रभाव र फैलावटले गाँजेको विश्व राजनीतिमा युवाहरू सामान्य तर उचित समाधानबिनाको झमेलामा फस्न बाध्य भएका छन् । पछिल्लो समय विशेष गरी युवाहरूमा ‘ट्रन्डी’ हुनुपर्ने मानसिकता हाबी भएको छ । जसको कारण उनीहरू भौतिकवादको दास बन्दै महँगा सामान खरिद र प्रयोग गर्न हतारिएका छन् । युवाहरूको मनोभावना यसरी विकसित गरिएका छन् कि महँगो जीवनशैलीले आत्मसम्मानमा वृद्धि गर्दै छ ।

आजकल अभिभावकको जीवन कठिन बन्दै छ । चर्को महँगीको कारण बच्चाहरूको हरेक फर्माइस पूरा गर्न अभिभावक असमर्थ हुँदै छन् । तर, बजारवादले सामग्रीहरू जताततै पुऱ्याउँदै छ । गरिबीमा परेकाहरूको लागि भौतिकवादको दबाब एक अभिशाप बन्दै छ ।

भौतिकवादले सिकाएको छ– समाजमा परिचित हुन वा स्थापित हुन ब्रान्डेड वस्तुहरूको अधिकतम प्रयोग गर्न जान्नुपर्नेछ । हाम्रा परम्परा, जीवनशैली र संस्कृतिलाई अदृश्य भासमा फसाउन सफल भौतिकवादको दबाब हरकोही देख्दै छन्, भोग्दै छन् । समाज यस्तो अवस्थाबाट गुज्रँदै छ कि भौतिकवादी जीवन हुनु नै उत्तम जीवन हो र यो नै राम्रो जीवन बिताउने एक मात्र तरिका हो । जसरी भए पनि (मागेर वा ऋणमा डुबेर) दुःख लुकाउने र देखावटी शानमार्फत सामाजिक हैसियत बनाउने भौतिकवादी दबाब समाज र युवाहरूमा बढ्दो छ । परिवारहरूका लागि केही सामानहरू दिन नसक्दा आफू ठूलो तवरले असफल भएको महसूस गर्ने अवस्थामा उनीहरू पुगेका छन् । उत्तम जीवन बिताइरहेका मानिसहरूसमेत नवीन झमेला सहर्ष स्वीकार गर्न राजी पछिल्लो पुस्ता भौतिकवादको दबाबसमेत चिन्न असफल हुँदै छ ।

भौतिकवादको दबाब हाम्रो राजनीतिमा मात्र होइन हरेक मुलुकवासीको जीवन पद्धतिमा प्रवेश गरिसकेको छ । हाम्रा चाडपर्व मात्र होइनन् आयातीत चाडपर्वमा समेत हामीहरूलाई अनेक उपहार किन्न बाध्य पारिएका छन् । कमाई र खर्चको असन्तुलनबीच हाम्रा युवा र बच्चाहरू उनीहरूको उपभोक्ता बन्न विवश छन् । भौतिकवादले हाम्रा युवाहरूलाई नराम्रोसँग गिजोलेको छ । पछिल्लो पुस्ता नवीन प्रविधिको दास बनिसकेको छ । स्मार्टफोन, सुपरबाइक, ल्यापटप मात्र होइन रेस्टुरेन्ट संस्कृतिमा आफ्नो भविष्य खोज्दै छ । हामी इन्टरनेट जेनेरेसनमा छौँ, हामी आफैँलाई वा कसैलाई मायाभन्दा हाम्रो स्मार्टफोनलाई माया गर्छौँ । हाम्रा युवायुवतीहरू यसलाई स्वीकार गर्दा रमाइलो मान्दछन् । यो पुस्तालाई आधुनिक सामग्रीहरू सबैभन्दा ठूला र महत्वपूर्ण चिजहरू हुन् । उनीहरू टेक्नोलोजीलाई मित्र, आफ्नो परम्परा, धर्म, संस्कृति, भाषालाई दुस्मन देख्न राजी छन् । फेसन, सङ्गीत र सामाजिक सञ्जालसँग नाता गाँसेको यो पुस्ता भौतिकवादको दबाबमा रोगीसमेत बन्दै छ । भौतिकवादको दबाबमा मानिसहरू अत्यधिक सपिङ गर्ने स्थितिमा पुग्दै छन् । जुन मानसिक रोगको कोटीअन्तर्गत पर्दछ । जसलाई ‘ओनानिज्म’ भनिन्छ । जुन एक पागलपन हो ।

औद्योगिक क्रान्तिले मानवीय उत्पादकत्व पनि बढायो, जसको परिणामस्वरूप जीवनको गतिमा वृद्धि भयो । जसले मानव जातिलाई ‘मुसा जाति’मा रूपान्तरण गऱ्यो । ‘मुसा दौड’ले हामीलाई तत्काल सन्तुष्टि खोज्न बाध्य बनायो । भौतिकवादका जन्मदाताहरू भन्छन्, ‘पैसा खर्च गरेर सामानहरू किन । आफैँ रित्तो भएर हामीलाई भर ।’ हामी यसो गर्दा अत्यन्त हर्षित भइरहेका छौँ । बेलायतमा हालसालै गरिएको एक अध्ययनअनुसार बच्चाहरूले भौतिकवादी बन्नका लागि आमाबाबुलाई दबाब दिन्छन् । विद्यालय जाने नानीहरूको निम्ति ब्रान्डेड सामानको कुनै औचित्य छैन । तथापि ब्रान्डेड बन्नु जरुरी छ । आजकल अभिभावकको जीवन कठिन बन्दै छ । चर्को महँगीको कारण बच्चाहरूको हरेक फर्माइस पूरा गर्न अभिभावक असमर्थ हुँदै छन् । तर, बजारवादले सामग्रीहरू जताततै पुऱ्याउँदै छ । गरिबीमा परेकाहरूको लागि भौतिकवादको दबाब एक अभिशाप बन्दै छ ।

भौतिकवादबाट आफूलाई स्वतन्त्र गर्नु भनेको तपाईँको मानसिकतालाई स्वतन्त्र पार्ने एक तरिका हो । सम्बन्धमा सम्पत्ति राख्ने विचारले कुनै अर्थ राख्दैन । मानिसहरू सम्पत्तिको दुर्गुण थाहा पाउन चाहँदैनन् । भौतिकवादको दबाबमा खुसी र सम्बन्धको आयु पातलो बन्न जानेछ । भौतिकवादी हुनुको फाइदाहरू यो छ कि यसले तपाईँलाई दुःखी बनाउँछ । आध्यात्मिक हुनुको फाइदा यो छ कि मानव जीवनको वास्तविक लक्ष्य खोजी गर्न प्रेरणा मिल्नेछ । भौतिकवादीहरू बढी सुख, बढी पैसा, बढी सेक्स, राम्रो कार, उत्कृष्ट काम आदि प्राप्त गरेर आफ्नो दुःख रोक्न कोसिस गर्छन्, तर एक बुद्धिमान व्यक्तिले आफ्नो दुःखको मूख्य कारण भौतिकवाद हो भन्ने महसुस गर्नेछ । भौतिकवादले तपाईंको चेतनामाथि विचित्रसँग पकड जमाएर शासन गर्दछ । जसको कारण तपाईँलाई अनैतिक हुनुबाट रोक्ने छैन । भौतिकवादले तपाईँलाई नैतिकताको व्याकरण परिवर्तन गर्न उत्साहित गर्दछ ।

मानवीय मूल्यमान्यता र मानवीयता जीवित राख्ने हो भने भौतिकवादको दबाब र असरलाई कम गर्नु अनिवार्य छ । मुलुकमै बस्ने र मुलुकभित्रै बस्नको लागि उत्तम स्थान बनाउने हो भने भौतिकवादको भद्दा नक्कल र प्रयोग गर्न हजारपटक सोच्नुपर्नेछ ।

भौतिकवाद धनी मुलुकमा मात्र होइन, गरिब मुलुकमा पनि उत्तिकै सक्रिय छ । मानिसहरू शारीरिक मात्र होइन मानसिक रूपमा भौतिकवादको चपेटामा पर्न राजी छन् । मानिसहरू हाम्रा मूल्यमान्यता, परम्परा शारीरिक सुख प्राप्तिको नाममा त्याग्न तँछाडमछाड गर्दै छन् । फलस्वरूप भौतिकवादको दबाब र प्रभाव हाम्रो मुलुकमा क्यान्सर बनिसकेको छ । भौतिकवादले हामीलाई नछोएको क्षेत्र अब सायदै भेटिएला । यस्तैमा पङ्क्तिकारले सुनेको एउटा प्रतिनिधिमूलक घटना पस्कँदै छु । काठमाडौंको एक प्रतिष्ठित परिवारको एउटा युवक प्लस टुपछि अध्ययनको सिलसिलामा अस्ट्रेलिया प्रस्थान गऱ्यो । जीवनलाई नजिकबाट नचिनेको युवक अस्ट्रेलियामा एकाध महिना रमायो । आफ्नो भविष्य बनाउन वर्तमान नबिगार्ने सोचसहित नेपाल फर्कने निचोड अभिभावकलाई सुनायो । तर, परिवारले उसको विचारलाई तत्काल इन्कार गरे । आफ्ना नातेदारका सन्तान विदेशमा जमेका छन् । तिमी नेपाल फर्किने सोच त्यागिहाल । बरु तिमीले काम गर्नुपर्दैन । हामी सबै खर्च यतैबाट पठाउँछौँ । हाम्रो इज्जत र प्रतिष्ठाका लागि भने पनि तिमीले अस्ट्रेलियाको ‘पीआर’ लिनुपर्छ । जसले हाम्रो सामाजिक प्रतिष्ठा बढाउनेछ ।

भौतिकवादले हामीलाई वर्तमानमा मात्र सीमित गरेन । उसको शोषण दीर्घकालसम्म जारी राख्ने रणनीति हाम्रो दिमागमा जडान गर्न सफल भएको सन्दर्भ ‘पीआर’मार्फत पोखिएको छ । भौतिकवाद अपनाएर हामीले आफ्नै अवसरहरू सीमित गरिरहेका छौँ । भौतिकवादी सोचले हामीलाई अन्तर्मुखी र स्वार्थी बनाउँदै छ । हामी हाम्रो दृष्टिकोण र क्षितिज फराकिलो गर्न अल्छी मानिरहेका छौँ । जसले गर्दा हाम्रो ज्ञानको भण्डार सुक्दै छ । भौतिकवाद नामको भाइरस, कीटाणु वा ब्याक्टेरिया एक भौतिक वास्तविकताको रूपमा हाम्रो भौतिक संसारमा थपिएका छन् । हाम्रो अस्तित्वलाई भित्रभित्रै खाइरहेको भौतिकवादले हामीलाई प्रयोगशालाको कच्चा पदार्थ बनाउँदै छ ।

समाज विकासको लागि हामीलाई अमूर्त वास्तविकताहरू चाहिन्छ जुन भौतिकवादको तहमा आउँदैन । हामीलाई समाजको उत्तम स्वास्थ्यको लागि भौतिक र आध्यात्मिक जानकारीहरू हुनु आवश्यक छ । आध्यात्मिक र धार्मिक अवयवहरूले भौतिकवादका नकारात्मक प्रभावहरूलाई कमजोर पार्दछ र समाजलाई अधिक मनपर्दो र भरपर्दो बनाउनेछ । मानवीय मूल्यमान्यता र मानवीयता जीवित राख्ने हो भने भौतिकवादको दबाब र असरलाई कम गर्नु अनिवार्य छ । मुलुकमै बस्ने र मुलुकभित्रै बस्नको लागि उत्तम स्थान बनाउने हो भने भौतिकवादको भद्दा नक्कल र प्रयोग गर्न हजारपटक सोच्नुपर्नेछ ।

प्रतिक्रिया