तेल भिसा कि कर्तव्य भिसा ?

■ आचार्य प्रभा



लगभग एक वर्षअघि मैले यही विषयमा एउटा आर्टिकल लेखेर पठाएकी थिएँ जुन घटना र विचारमा प्रकाशित पनि भयो । फेरि मलाई यही विषयलाई एकपटक फर्केर हेर्न मन लाग्यो । कुरो उही र उस्तै भए पनि कहिलेकाहीँ एकै कुराका अर्थ विभिन्न लाग्न सक्छ जुन स्वाभाविक पनि हो ।

अब कुरोको चुरो फुकाऊँ । खास कुरा र विषय के हो भने लगभग एक वर्षअघि मैले यही विषयमा लेख्नुको कारण थियो बबिता बस्नेतजीको ओजपूर्ण लेख ‘तेल भिसा’ वा यस्तै । त्यही लेखलाई सम्बोधन गरेर मैले पनि उस्तै भावको तर आफूले भोगेको, देखेकोबारे मनशाय हालेर उक्त आर्टिकल लेखेकी थिएँ । र, मलाई बबिताजीको त्यो आर्टिकलले त्यो समय पनि निक्कै छोयो र लेखेँ र अझै मलाई त्यही लेखले झस्काइरहेको छ र फेरि लेख्न प्रेरित बनेँ ।

कुरो के हो भने नेपाल वा भारत कुनै पनि देशबाट आफ्ना छोराछोरी पढ्न वा कुनै प्रयोजनका लागि अमेरिका, अस्ट्रेलिया र क्यानडा भित्रिन्छन् । धेरैजसो आफ्नो पढाइ अर्थात् कामविशेषले । उनीहरू उही ठाउँमा बसोबास गर्छन् । बिहेबारी गर्छन् अनि सन्तान पनि जन्माउँछन् । त्यो समयमा उनीहरूले आफ्ना नवजात शिशुको हेरचाहका लागि सहयोगको रूपमा आफ्ना आमाबुबालाई झिकाउँछन् । अनि यस्तै अर्को भिसा हुन्छ उनीहरूले उच्च शिक्षा हासिल गरेपछि ग्य्राजुएसनको समयमा पनि आफ्ना बाआमालाई बोलाउने एक माध्यम रोज्छन् । कसैले आगमन भिसा पाउँछन् । कसैले पाउन सक्दैनन् । जसले भिषा पाउँछन् उनीहरू हर्ष र खुसीका साथ आफ्नो छोरा या छोरी भेट्न पुग्छन् । त्यो दुवैतर्फीको खुसीको कुरा हुन्छ । हो यही भिसालाई गाउँघरमा वा छरछिमेकीले ‘थाङ्ने भिसा’ वा ‘तेल भिसा’ भन्दा रहेछन् । तर, सबैको आफ्नो बाबाआमालाई बोलाउने यही मात्र प्रयोजन हुन्न । कतिले आफ्ना बाआमालाई देश पनि हेरोस्, मुख पनि फेरोस् भन्ने हिसाबले पनि बोलाउँछन् र आफ्ना कलेजको ग्य्राजुएसनमा पनि बोलाउने गर्दछन् । आउनु नआउनु उहाँहरूको स्वेच्छाको कुरा हुन्छ ।

अब यही पेरीफेरीमा आउँछन् अनेकौँ कुरा । विदेशमा बाआमालाई बोलाएर दुःख दिएका । बन्धनमा राखेका अनेकौँ गन्थन । यसो हुनु पनि आफ्ना बाआमा कस्तो प्रकृतिको हुनुहुन्छ ? कत्तिको शिक्षित हुनुहुन्छ ? उहाँहरूलाई विदेशको रहनसहन, क्रियाकलाप, खानपान मन परेको छ वा छैन ? विदेशका हरेक कामकुरा चित्त बुझेको छ वा छैन ? उहाँहरू पहिला पनि अन्य देश वा बाहिर कतै जानुभएको छ–छैन ? यी सबै कुरामा पनि निर्भर हुन्छ त्यहाँका हरेक कुरामा भिज्नु, नभिज्नु । कोही–कोही गाउँघरका आमाबा घरबाट कतै निस्केका हुँदैनन् । कोही बाहिरको खानपान मन नपराउने हुन्छन् ।

हो, यस्ता कतिपय कुरा नै त्यहाँ उनीहरूबीच ठूलो समस्या बनेर उठ्छ । जहाँ गए पनि त्यहीअनुसारको रहनसहनमा भिज्न सक्नुपर्छ । तर, सबै आमाबुबामा यी कुराहरू लागू हुन असम्भव नै हुन्छन् । जसजसका सोचहरू अति नै सङ्कुचित हुन्छन् । कोहीकोही त अति विकट ठाउँबाट पनि आएका हुन्छन् जसले आफ्नै देशको ठूला शहरहरूको पनि अनुभव पाएका हुँदैनन् । झन् त्यस्ताहरूको लागि त विदेश कैदखाना नै बन्दछ । स्वदेशमा जस्तो स्वतन्त्र डुल्नघुम्न पाइन्न । गाउँका बूढापाकाहरू बिहान जुरुक्क उठेर चिया पिउने बहानामा चियापसलमा बसेर ठुटे राजनीति गफ हाँकेर बस्ने बानी हुन्छ । आमाहरू पनि कोहीकोही गाउँगाउँ डुलेर गफ चुटेर हिँड्ने बानी हुन्छ । अब ती सब क्रियाकलापबाट वञ्चित हुनुपरेपछि त्यसभन्दा सकसको कुरा के हुन्छ ? छोराबुहारी वा छोरीज्वाइँ काममा व्यस्त हुन्छन् । घरदेशमा जस्तो काममा आज जान्नँ भनेर धर पाइन्न । परिवार बढेपछि झनै खर्च बढ्छ । भनुँ बाध्यताको कारणले पनि कति कुरालाई छोपेर बाँच्नुपर्ने बाध्यता हुन्छ । यी सब कुरालाई आत्मसात् गर्न सक्नुपर्छ आफ्ना बाआमाले पनि । आफ्नो घरमा जस्तो अरूलाई खटन गरेर खाएको सम्झेर हुन्न । जब परदेशको असली बाध्यता र मर्म बुझ्न सक्दैनन् आफ्ना आमाबाबाले हो त्यहि नै यी दुईबीचको मनमुटावको गहिरो खाडल बन्दछ र त्यो परिवारमा असन्तुष्टि छाउन सक्दछ । कोही बाबाआमाहरू घुमघाममा नरमाउने किसिमका पनि हुन्छन् । त्यस्तालाई त झनै गाह्रो हुन्छ । समग्रमा भन्नुपर्दा विदेश आउने बाआमा पनि फराकिलो विचारधाराको र अलिक आधुनिक विचारको हुन आवश्यक छ । जो खानपान र अन्य रमाइलोमा भुलिन सक्ने हुन् ।

विकसित राष्ट्रमा आएर पनि त्यही चाला गर्नेहरूको सोच परिवारभित्र पनि कस्तो होला ? हो, यस्तै-यस्तै कार्यले गर्दा पनि असन्तुष्टि र निरशताको पहाड अग्लिन्छ परिवारबीच । यस्तै साँघुरो विचारकाले नै आफ्नो देश फर्केर आफूलाई दुखपीडा भएको गुनासो पोख्छन् । यी गुनासा नै अन्तिममा ठूलो कारक बन्दछ र गाउँघरमा हङ्गामा नै मच्चिन्छ- ‘थाङ्ने भिसा’, ‘तेल भिसा’मा बोलाएर विदेशमा बाआमालाई दुःख दिए भन्ने ।

तर, यो समयमा त अमेरिका, अस्ट्रेलिया, क्यानडा वा विदेशका जुनसुकै ठाउँमा पनि धर्मअनुसारको मठ–मन्दिर, चर्च–मस्जिदहरू जताततै बनाएका हुन्छन् । विभिन्न ठाउँमा घुम्ने, केटाकेटी खेल्ने, भेटघाट गर्ने पार्कहरू हुन्छन् । ती ठाउँहरूमा पनि आफ्ना छोराछोरीहरूले घुमाउन लैजाने गर्छन् । विभिन्न ठाउँबाट आएकाको गफ हुन्छ । चिनजान हुन्छ । तर, ती भेटघाट गर्ने ठाउँहरूमा पनि हाम्रा नेपालीले आफ्नो नेपालीपन भने छोड्दैनन् । महिला भए छोरीबुहारीका कुरा र लोग्नेमान्छेहरू भए ठुटे राजनीति गर्दा नै ठिक्क हुन्छ । अनि विकसित राष्ट्रमा आएर पनि त्यही चाला गर्नेहरूको सोच परिवारभित्र पनि कस्तो होला ? हो, यस्तै-यस्तै कार्यले गर्दा पनि असन्तुष्टि र निरशताको पहाड अग्लिन्छ परिवारबीच । यस्तै साँघुरो विचारकाले नै आफ्नो देश फर्केर आफूलाई दुखपीडा भएको गुनासो पोख्छन् । यी गुनासा नै अन्तिममा ठूलो कारक बन्दछ र गाउँघरमा हङ्गामा नै मच्चिन्छ- ‘थाङ्ने भिसा’, ‘तेल भिसा’मा बोलाएर विदेशमा बाआमालाई दुःख दिए भन्ने । हालै फेसबुकमा फेरि यही चर्चा भएको पाइएको छ ।

तर, अर्कोतिर हेर्ने हो भने अलिक पढेलेखेका र विदेशका मर्म बुझेका आमाबाबाले भने आफ्ना सन्तानलाई सहयोग गरेर आफूहरूले पनि केही खर्च आर्जन गर्न सक्छन् सानोतिनो काम गरेर । यता आफ्ना नातिनातिना पनि हुर्काउन मद्दत गर्छन् । उता आफूले पनि मौका परे केही रकम जम्मा गर्छन् । तर, आफूहरू पनि सक्षम हुनुचाहिँ पऱ्यो । यस्तै उदाहरण म दिन चाहन्छु यहाँ (नाम नलिई) एकजना लग्भग ७० वर्ष पुगेका बुढा बा हुनुहुन्थ्यो कोलोराडोमा जो एक रेस्टुरेन्टमा काम गर्नुहुन्थ्यो । मान्छे बुढा नै भए पनि निकै बलियो र स्वस्थ हुनुहुन्थ्यो । उहाँले महिनाको लगभग नेपाली ७०–८० हजार खानुहुन्थ्यो । आफ्ना छोराबुहारी काम गर्दथे । बुढीआमाचाहिँ घरको हेरदेख र नातिनातिनाको स्याहार । छोरा उसबेला डाक्टरी पनि पढ्दै काम गर्दै छ भन्नुहुन्थ्यो ती बा । त्यही बेला ती बाले मैले कमाएको पैसाले काठमाडौंको कुन ठाउँमा हो चारतले घर बनाउँदै छु भन्नुहुन्थ्यो । साधारण किसान परिवार । जे होस् छोरा डाक्टरी पढ्दै काम गर्दै छ भन्नुहुन्थ्यो । हामी ६ वर्षपछि आउँदा अहिले उनी डाक्टर बनिसकेछन् । यो एउटा राम्रो उदाहरण हो । एक अक्षर नपढेका ती बा–आमाले विदेशमा आएर छोराबुहारीको प्रगतिमा सहयोग गर्नु र आफूहरूले पनि केही पैसा आर्जन गरेर आफ्नो ठाउँमा घर बनाउनु ठट्टा होइन । त्यसैले सबैको प्रगति र उन्नति हुनलाई पारिवारिक सम्झौता सहयोग चाहिन्छ । यस्ता सकारात्मक पक्षहरू पनि छन् बाआमा विदेशमा बोलाउनुको ।

यस्तै अनेकौँ राम्रा अन्य उदाहरण पनि छन् । छोराछोरी भेट्न आएको मौकामा अलिअलि आम्दानी गर्नेहरू पनि छन् । आफ्नो बर्कतअनुसार र आफ्नो उमेर र बलअनुसार काम गरेर घर फर्कंदा गोजी भरेर फर्कने पनि छन् । हरकुरामा राम्रानराम्रा पक्ष छन् । यो सब हुनु मान्छेको सोंच र आ–आफ्नो प्रवृत्तिमा पनि भर पर्छ । कोही विदेशमा बसेर अलिक अहमताको चुलीमा चढ्ने सन्तान पनि नहोलान् भन्न सकिन्न । हुन्छन् कोही पढेर ठूला बन्ने र आफ्ना बाआमा–सासुससुराहरू जो गाउँका, अशिक्षित र अन्जान छन् त्यस्ताहरूलाई अलिक हेपाहा व्यवहार गर्ने । कोही होलान् अभिमानी छोरीबुहारी जो अशिक्षित आमासासूलाई हेप्ने । यस्ता व्यवहार त जहाँ पनि हुन्छन् तर विदेशको मामलामा चाहिँ त्यति हुन्छ जस्तो लाग्दैन । त्यही हो जीवनशैलीको तारतम्य नमिल्दा एक–अर्कामा मनमुटाव भने पक्कै हुन्छ । यसमा दुईतर्फीकै अन्डरस्ट्यान्डिङ हुन आवश्यक छ ।

छोरा–छोरी र नाति–नातिनाको विजोक र दुःख कुन आमाबालाई सह्य हुन्छ र ? देखेपछि स्याहार गर्नै मन लाग्छ । रमिता हेर्न मन लाग्दैन । हो, विदेशमा बाआमालाई भित्र्याउँदैमा नकारात्मक सोच पाल्नुहुन्न । सन्तानले पनि आमाबालाई सम्मान गर्नुपर्छ र आमाबाबाले पनि आफ्नो कर्तव्य बुझ्नुपर्छ । सम्झौता र समझदारी भयो भने मात्र एक–अर्कामा सन्तुष्टि र खुसीको क्षण बाँड्न सकिन्छ ।

अब म आफ्नै भोगाइ र व्यवहारको कुरा यहाँ प्रस्तुत गर्न चाहन्छु । म पनि विगत १५ वर्ष अघिदेखि अमेरिकामा छु । उसो त हामी पनि ‘तेल भिसा’ वा ‘थाङ्ने भिसा’मा आएको नभई छोरीको नर्सिङ विषयको ग्य्राजुएसनका लागि आएका थियौँ । भाग्यवश यहीँ सेटल हुने मौका पनि जुऱ्यो । नेपाल र अमेरिका मात्र नभएर अस्ट्रेलिया पनि दुईपटक पुग्ने अवसर मिल्यो, तर हामीलाई भिसा एप्लाई गरिरहनु आवश्यकता छैन, तर संजोगचाहिँ कस्तो पऱ्यो भने अस्ट्रेलिया जाँदा कान्छी छोरीको नातिनी जन्मिएकी थिई । चार महिनाको भएपछि हामी पहिलो नातिनी भेट्न उत्सुकताको साथ गयौँ ।

अब पुगेपछि त आफ्नो कर्तव्य र मानवीयता त निभाउनैपर्छ नि । छोरा–छोरी र नाति–नातिनाको विजोक र दुःख कुन आमाबालाई सह्य हुन्छ र ? देखेपछि स्याहार गर्नै मन लाग्छ । रमिता हेर्न मन लाग्दैन । हो, विदेशमा बाआमालाई भित्र्याउँदैमा नकारात्मक सोच पाल्नुहुन्न । मैलेमाथि नै वर्णन गरिसकेँ विदेश पुगेका बाआमाको सोच–व्यवहार र शिक्षा यी सबमा भर पर्दछ दुःखी बन्नु या सन्तुष्ट बन्नुमा । सन्तानले पनि आमाबालाई सम्मान गर्नुपर्छ र आमाबाबाले पनि आफ्नो कर्तव्य बुझ्नुपर्छ । सम्झौता र समझदारी भयो भने मात्र एक–अर्कामा सन्तुष्टि र खुसीको क्षण बाँड्न सकिन्छ ।

हरेक कुरामा अड्कलबाजी गर्न कसैले पनि हुन्न । छन् विदेश बसेर छोराछोरीको माध्यमबाट आमाबाबुले पनि धेरै किसिमका सहुलियतहरू पाएका । अन्य स्टेटहरूको त म भन्न सक्दिनँ कोलोराडोमा चाहिँ प्रायः सबैका बाआमा साथै छन् । कोही आउने–जाने क्रममा छन्, तर बसुन्जेल रमाएर नै बसेका छन् । आ–आफ्नो दुःख–पीडा त कसलाई कहाँ पो हुन्न र ? जहाँ आत्मा सन्तुष्टि त्यहाँ मन हर्षित ।

अन्त्यमा भन्नुपर्दा हामी पनि नेपाल गएर ६ वर्षपश्चात् फेरि अमेरिका भित्रिएका छौँ । जुन हाम्रो फर्किनुपर्ने बाध्यता पनि थियो र उही ग्य्राजुएसनमा हामीलाई अमेरिका भित्र्याउने छोरीको पनि नातिनी भएकीले हामी अहिले आएका छौँ । अहिले म व्यस्त छु लेखन र नातिनीको रेखदेखमा जसलाई म माया मात्र होइन आफ्नो कर्तव्य पनि ठान्छु र यो मेरो दायित्व पनि हो । तर, यसपटक पनि भ्रममा नपर्नुहोला- ‘म तेल र थाङ्ने भिसामा होइन आफ्नै अधिकारको भिसामा भित्रिएकी छु अमेरिका र म मेरी सानी नातिनीको कोमल शरीरको स्पर्शमा रमेकी छु जुन म आफ्नो सौभाग्य ठानेर हर्षित छु ।’

प्रतिक्रिया