‘पृथकतावादी’ राउतको अलपत्र राजनीति !

‘पृथकतावादी’ राउतको अलपत्र राजनीति !


■ राजा हुसेन

पृथकतावादी सिद्वान्त बोकेर मधेसलाई अलग देश बनाउने अभियानमा लागेका जनमत पार्टीका संयोजक चन्द्रकान्त (सीके) राउत वर्तमान अवस्थामा राजनीतिको मूलधारमा आएका छन् । स्वतन्त्र मधेस गठबन्धन स्थापना गरी नेपालबाट मुक्ति पाउने र मधेसलाई छुट्टै देश बनाउने अनि आफ्नै सेना, झण्डा र राष्ट्रिय गान राख्ने भनिएका राउतले आफ्नो छुट्टै देशको लागि हिन्दीमा राष्ट्रिय गानसमेत लेखिसकेका थिए । जुन हर्कतका कारण राउत पटक–पटक कारागार चलान भएको कुरा विदित नै छ ।

विशेष अदालत र सर्वोच्च अदालतबाट निर्दोष ठहर भए पनि पटक–पटक त्यस्ता अभियानका कारण प्रहरीले गिरफ्तार गरी राज्यविरुद्वको मुद्दा चलाएर थुनामा राखेको अवस्थामै नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीकोे प्रयासमा राउत राजनीतिक मूलधारमा आएका थिए । राउत मूलधारमा आउँदा नेपाली राजनीति नै तरङ्गित भएको थियो । राजनीतिको मूलधारमा आएलगत्तै उनले ‘जनमत पार्टी’ निर्वाचन आयोगमा दर्ता पनि गराएका थिए । राजनीतिको मूलधारमा आउनुअघि ‘कुनै बेला मधेस छुट्टै देश थियो, हामीलाई गुलाम बनाइएको हो र अब हामी गुलामीबाट आजादी लिँदै छौँ’ भन्ने अभिव्यक्ति दिँदै आएका र विभिन्न कार्यक्रम गरी अभियानसमेत चलाएका थिए राउतले । साथै उनले स्थानीय, प्रदेश र सङ्घीय चुनावमा मतपत्रमा तोकिएको चिह्नको कोठाभन्दा बाहिर मतदान गरी जनमतसङ्ग्रहको शुरुवात गर्ने अभियानसमेत चलाए । जसअन्तर्गत स्वतन्त्र मधेस गठबन्धनका कार्यकर्ताहरू कोठाबाहिर मतदान गर्नु भनी निर्वाचनका बेला गाउँगाउँमा सक्रिय भएका थिए ।

यति हुँदाहुँदै अचानक राजनीतिको मूलधारमा आएपछि नेपाली राजनीतिमा तरङ्ग नै पैदा भयो भने तराई–मधेसमा पनि राजनीतिक भूकम्प नै आएको आभास गरेका पाइयो । स्वतन्त्र मधेस गठबन्धनका कार्यकर्ता र समर्थकमा यो के भयो के भयो भन्ने प्रश्न पैदा भएको पाइयो, तर यसको उत्तर कसैसँग थिएन त्यतिबेला । यसमै केही अवसरवादी पात्रहरूले राजनीतिमा जम्ने अवसर पाएको ठानेर खुशी हुँदै राउतको प्रशंसा पनि गरे । तर, स्वतन्त्र गठबन्धनकै केही समूहले राउतको यो निर्णय स्वीकार गरेनन् र राउतबाट अलग भए । उनीहरू अहिले पनि स्वतन्त्र मधेसकै कार्यकर्ता र मधेस स्वतन्त्र नै रहेको दाबी गर्दछन् ।

सीकेमाथि त राज्यद्रोेहको मुद्दा लाग्नुका साथै विखण्डनकारी भनी पूरै पहाडले चिन्दछ । यस्तोमा के राउतलाई नेपालको पहाडी समुदायले कहिल्यै विश्वास गर्ला त ?

राउत राजनीतिको मूलधारमा आउँदा मधेसकेन्द्रित दल समाजवादी र राष्ट्रिय जनता पार्टी नेपाललाई हदसम्म असर पर्ने राजनीतिक विश्लेषकहरूको अनुमान थियो । समाजवादी दल र राजपा नेपाल अब समाप्त नै हुनेसम्मको तर्क दिनेहरू पनि भेटिए । यही भयका कारण समाजवादी र राजपा नेपाल एक हुन लागेको अभिव्यक्ति सामाजिक सञ्जालमा समेत छरप्रस्ट भए । तथापि, राजपा र समाजवादीका नेताहरूले यसको आ–आफ्नै तरिकाले खण्डन गर्दै आएका छन् । र, प्रश्न नै प्रश्नको घेरामा रहेको राजपा र समाजवादीबाहेक जनमत पार्टीप्रति पनि त्यत्तिकै प्रश्न उठिरहेको देखिएको छ । राउत मधेस मूलका व्यक्ति हुन् । अब प्रश्न यो छ कि के उनलाई पहाडमा विश्वास गरिएला ? कि राउत पनि क्षेत्रीय पार्टीको नेता भएर मधेसमै खुम्चने हुन् ? सानो ‘पसल’ खोलेर राउतजस्ता महत्वाकाङ्क्षी पात्र राजनीतिक बजारमा टिक्लान् त ? जनमत पार्टीको भविष्य कस्तो होला भन्ने जिज्ञासाको जवाफ हालै सम्पन्न उपनिर्वाचनको एक सन्दर्भले पनि दिएको छ भन्दा अत्युक्ति नहोला ।

सन्दर्भ यस्तो छ– मङ्सिर १४ को उपनिर्वाचनमा सहभागी हुन (प्रतिनिधिसभाको उपनिर्वाचनमा उम्मेदवारी दिन) मधेसबाट पहाड कास्कीको पोखरा गएका डा. कृष्णचन्द्र साह आफ्नो लागि प्रस्तावक र समर्थक नै नपाएपछि निराश भएर घर फर्केका थिए । उम्मेदवारीका लागि स्थानीय मतदाता रहेका व्यक्ति प्रस्तावक र समर्थक आवश्यक पर्दछ । मधेसी मूलका नेता पहाडलाई पनि चाहिएको छ नि भन्दै उम्मेदवारी दिन पोखरा पुगेका जनकपुर–१४ का बासिन्दा साहले कास्कीमा समर्थक नपाउँदा तीव्र गुनासो मात्र नगरी पहाड र मधेसबीच रहेको ‘परायापन’को अनुभूतिसमेत गरेर फर्किए । जब कि साहमाथि कुनै पनि किसिमको राज्यविरुद्वको अपराधका अभियोग पनि लागेको थिएन । सीकेमाथि त राज्यद्रोेहको मुद्दा लाग्नुका साथै विखण्डनकारी भनी पूरै पहाडले चिन्दछ । यस्तोमा के राउतलाई नेपालको पहाडी समुदायले कहिल्यै विश्वास गर्ला त भन्ने प्रश्न उब्जनु स्वाभाविक छ ।

राजनीतिक दललाई राष्ट्रिय पार्टी हुन निर्वाचन आयोगले थ्रेस होल्ड तोकेको कारण राष्ट्रिय पार्टी बनेर आफ्नो साख जोगाउन सानादेखि ठूला पार्टीसमेत फटाफट एकीकरण गर्न थालेका छन् । नेपाल कम्युनिस्ट पार्टी माओवादी र नेपाल कम्युनिस्ट पार्टी एमाले एकीकृत भई नेपाल कम्युनिस्ट पार्टी बन्यो भने नेपाली काङ्ग्रेसले पनि मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)सँग लगनगाँठो कस्यो । यस्तै, सङ्घीय समाजवादी फोरम नेपालले नयाँ शक्तिसँग एकीकरण गरी समाजवादी दल बन्यो । ६ वटा पार्टी सम्मिलित भई राष्ट्रिय जनता पार्टी नेपाल बनेको छ । त्यस्तै, रिजवान अन्सारीको नेपाल सङ्घीय समाजवादी पार्टी पनि स–सना पार्टीसँग एकीकरण गर्दै छ । साझा पार्टी र विवेकशील नेपाली अनि राप्रपाजस्ता पार्टीले एकीकरण गरे पनि धेरै दिन टिक्न सकेनन्, तर एकीकरणको प्रयास सबै पार्टीमा चलेको देखियो । यता केही समयदेखि समाजवादी र राजपा नेपालबीच पनि एकता हुने चर्चाले गरम रूप लिएको छ ।

राष्ट्रिय पार्टीको रूपमा भन्नुपर्दा सत्तारुढ नेकपा, नेपाली काङ्ग्रेस, समाजवादी दल र राजपा नेपाल मात्र रहेका छन् । जसमा समाजवादीले राजपा नेपालसँग एकीकरण गर्ने कसरत गरिरहँदा एकीकरण भएको खण्डमा जम्मा तीनवटा मात्र राष्ट्रिय पार्टी रहने देखिन्छ । पूर्वप्रधानमन्त्रीसमेत रहिसकेका र राजनीतिको लामो अनुभव लिएका राजनीतिका ‘रहस्यमयी’ खेलाडी बाबुराम भट्टराईले त आफ्नो पार्टीलाई राष्ट्रिय पार्टी बनाउन नसकी उपेन्द्र यादवसँग जोडिनुपऱ्यो भने राजनीतिका नयाँ खेलाडी सीके राउतले कसरी राष्ट्रिय पार्टी बनाउलान् ? यदि एकीकरणको बाटोमै हिँड्ने हो भने पनि सीकेसँग कसले एकता गर्ला भन्ने सवाल उठ्छ नै ।

यी सबका आधारमा अन्तमा भन्नैपर्ने हुन्छ कि सीके राउतको हविगत पनि अन्ततः मधेसकेन्द्रित अन्य दलहरूकै जस्तो हुने हो । चुनाव जितेर दुईतिहाई मत नल्याएसम्म संविधान संशोधन हुन सक्दैन, संविधान संशोधन नगरीकन मधेसीको अधिकर दिलाउन सकिन्न । विद्रोहको बाटो लिँदालिँदै दल खोलेर चुनावी प्रतिस्पर्धामा आएका सीकेलाई तत्कालै विखण्डनको राजनीतिमा फर्कने सुविधा पनि खासै छैन । यस्तोमा अब सीके राउत के गर्लान् त ? सत्तारुढ नेकपासँग मिलेर एउटा मन्त्री पद लिई चुप बस्ने कि आफ्नै पुरानो ‘स्वतन्त्र मधेस गठबन्धन’ सिद्वान्तमा फर्कने ? वास्तवमा पानीको फोकाजसरी एकाएक प्रकट भएका राउत त्यसैगरी बिलाएर जाने हुन् त ? प्रश्न विचारणीय छ ।