‘जय नेपाल’ नै राष्ट्रवादको बेजोड प्रतीक !

‘जय नेपाल’ नै राष्ट्रवादको बेजोड प्रतीक !


■ इन्द्रबहादुर बराल

यतिबेला लिपुलेक, लिम्पियाधुरा र कालापानी मात्र होइन नेपाली भूमि धेरै स्थानमा अतिक्रमणको शिकार बनेको समाचार ब्याप्त छ । तर, जनस्तरमा मातृभूमिप्रतिको जति चासो र चिन्ता छ, सरकार भने कुनै ठोस कदम चाल्न पटक्कै तत्पर देखिँदैन । राष्ट्रियताको गफ गर्न गर्व महसुस गर्ने कम्युनिस्टहरू अहिले सामान्य प्रतिक्रिया मात्र जनाएर चुप बस्नु रहस्यको कुरा हो ।

हाम्रा प्रधानमन्त्री केपी ओलीलाई प्रकारान्तरले घोर राष्ट्रवादी तुल्याउने उपेन्द्र यादव र राजेन्द्र महतोबीचको सम्बन्ध पनि आश्चर्यजनक छ । नेपालमा नाकाबन्दी गराएर ओलीलाई ‘राष्ट्रवादी’ बनाउन सहयोग गरेबापत आफ्नो सरकार बनाउने यथेष्ट बहुमत हुँदाहुँदै पनि उपेन्द्र यादवलाई उपप्रधानमन्त्री तथा मन्त्री बनाउने कामले त्यसबेलाको नाकाबन्दी नेपाली डिजाइनबाट भएको भन्न सकिन्छ । नत्र उपेन्द्र यादवलाई मन्त्रिपरिषद्मा सामेल गराउनुपर्ने कुनै कारण नै देखिँदैन । त्यसमा पनि नेपालको संविधान स्वीकार गर्दैनौँ भन्नेलाई कुन बाध्यताले मन्त्री बनाइयो भन्ने प्रश्नको जवाफ घटनाक्रमले आफैँ बोल्छ ।

त्यस्तै, राजेन्द्र महतो अर्का त्यस्ता पात्र हुन् जसले नाकाबन्दीका बेला काठमाडौंका जनताको दानापानी रोक्छौँ भने । काठमाडौंका जनताको दानापानी रोक्छु भन्ने महतोलाई २०७४ को प्रतिनिधिसभा सदस्यको चुनावमा सघाउने पार्टी बन्न पुग्यो नेकपा । अब उसको राष्ट्रवाद कस्तो हो भन्ने स्वतः प्रमाणित हुन्छ । वास्तवमा कम्युनिस्ट सिद्धान्त नै राष्ट्रवाद होइन भनिन्छ । कम्युनिस्टहरू अन्तर्राष्ट्रियवादमा विश्वास गर्छन् र भन्दछन् कि विश्वका मजदुरहरू एक होऔँ । यसरी हेर्दा पनि नेकपा राष्ट्रवादी हुन सक्दैन । जो प्रचारबाजी चले–चलाइएका छन्– यी त केवल सत्ताप्राप्तिको लागि गरिएका हल्ला मात्रै हुन् ।

राष्ट्रवादलाई सत्ताको सिँढी मात्रै बनाउने होइन आवश्यकता पर्दा बलिदानी पनि दिन सक्नुपर्छ । यस कोणबाट भन्नुपर्दा वर्तमान अवस्थामा देशमा सच्चा राष्ट्रवादीको खाँचो छ । यस्तो स्थितिमा नेपालमा ‘जयनेपाल’रूपी राष्ट्रवादी अभिवादनको आवाजलाई बुलन्द गर्नुपर्ने अपरिहार्यता छ । राष्ट्रियताको जग ‘जयनेपाल’बाट मात्र बलियो बन्न सक्छ । तर, ‘जयनेपाल’को अभिवादन गर्नेहरूलाई जहिल्यै पञ्चायत र कम्युनिस्टले प्रमुख दुस्मन बनाए । अनि आज जयनेपालको राष्ट्रिय भावनाले ओतप्रोत भएको अभिवादनको स्वर मधुरो बन्दा नेपालीहरूको अस्मितामाथि खतरा उत्पन्न भएको छ ।

राष्ट्रियताको प्रमुख आधार भूमि र त्यस भूमिमा बस्ने नागरिक हुन् । राष्ट्रियताको आधार तिनका अतिरिक्त अन्य तत्वहरू पनि छन् । तर, प्रमुख रूपमा भूमि र नागरिक नै हो । आज नेपाली भूमि अर्कैको नक्सामा समेटिँदै गर्दा त्यसले एकथरी नेपालीको रगत उमालेको छ भने अर्कोथरी सत्ता र कुर्सीमोहले नतमस्तक देखिन्छन् । जबसम्म नेपालीमा ‘जयनेपाल’को राष्ट्रवादी अभिवादनको गहिरो प्रेम जोडिँदैन तबसम्म नेपाली राष्ट्रियता सोचेजस्तो बज्र बन्न गाह्रो छ ।

‘जयनेपाल’ भन्दैमा काङ्ग्रेसी हुनुपर्छ वा भइन्छ भन्ने मान्यताको लघुताबोधबाट सबैले मुक्त हुनु जरुरी छ । अब ‘जयनेपाल’ भन्न लाज नमानौँ, बरु गर्व गरौँ ‘जयनेपाल’भित्र राष्ट्रियताको प्रतीकात्मक सन्देश दिन सकेकोमा ।

पञ्चायतकालमा पनि नेपाल प्रहरी र राजाले जयनेपाल भन्ने गर्दथे नेपाली काङ्ग्रेसका अतिरिक्त । तर, अहिले ‘जयनेपाल’ भन्दा काङ्ग्रेस भइने भयले ‘जयनेपाल’को अभिवादनलाई कमजोर बनाउन खोजिँदैछ, जसले गर्दा पनि देशको सीमा रक्षा हुन गाह्रो परेको छ । यहाँ ‘लालसलाम’को अभिवादनले देशको रक्षा गर्न त सकेन–सकेन, पछिल्ला घटनाक्रमलाई हेर्दा नेकपा (नेकपा)को सरकारले न जनताको आवश्यकता सम्बोधन गर्न सकेको छ न राष्ट्रको सीमा बचाउन नै । यसर्थ वर्तमान सत्ताधारी पार्टी नेपालीको लागि बोझ मात्रै साबित भइसकेको छ ।

राज्यको हरेक क्षेत्रमा अस्वाभाविक कर बढाएर राज्यले नै आतङ्कित बनाएको छ । अन्धाधुन्ध कर वृद्धि गरेर जनप्रतिनिधिको सुविधा वृद्धि गर्नु किमार्थ नागरिकप्रति न्याय गरेको ठहरिँदैन । कर वृद्धिको औचित्य प्रमाणित गर्न सरकार असफल छ । करआतङ्कले उद्योग र व्यापारिक क्षेत्र अत्यन्तै असुरक्षित भएका छन् । सामान्य दैनिक ज्याला–मजदुरी गरेर आफ्नो जीविकोपार्जन गरिरहेका श्रमजीवी मजदुरसमेत त्रसित छन् । अहिले कहीँकतै कोही पनि सुरक्षित महसूस गर्न सकिरहेका छैनन् । सुरक्षित छन् त केवल सत्तासीन पार्टीका मानिसहरू मात्रै ।

दाबी जेसुकै गरिए पनि देशमा सुशासनको प्रयत्नै भएन । भ्रष्टाचारका सुन्दै कहालीलाग्दा काण्डहरूमा स्वयम् नियमनकारीको नाम मुछिएर आउँछ, अनि कहाँबाट हुन्छ नेपाली समाज भ्रष्टाचारमुक्त ? भ्रष्टाचारमा रेकर्ड नै बिट गरिसक्यो वर्तमान सरकारले । ब्रिटिस भर्जिन आइल्यान्ड र दुबईमा ठूलो परिमाणमा पैसा राखेको कुरा सामाजिक सञ्जालमा ढुङ्गगुङ्ती हुने गरी आयो, तर त्यसको प्रतिकार चित्तबुझ्दो गरी आउन सकेन । खुला मञ्चदेखि बालुवाटारसम्मको सार्वजनिक सम्पत्तिको रक्षा गर्न नसक्ने सरकार पनि के सरकार ! यस्तै भन्नुपर्ने अवस्था सिर्जना भएको छ । हुन त यसभन्दा अगाडिका सरकार पनि गाईको दूधले नुहाएका अवश्य थिएनन् होला, तर यति साह्रो नग्न थिएन ।

यही पृष्ठभूमिमा अब नेपाल र नेपालीले एउटै स्वरमा ‘जयनेपाल’को राष्ट्रप्रेमी अभिवादन घन्काउनुको विकल्प छैन । ‘जयनेपाल’ भन्दैमा काङ्ग्रेसी हुनुपर्छ वा भइन्छ भन्ने मान्यताको लघुताबोधबाट सबैले मुक्त हुनु जरुरी छ । अब ‘जयनेपाल’ भन्न लाज नमानौँ, बरु गर्व गरौँ ‘जयनेपाल’भित्र राष्ट्रियताको प्रतीकात्मक सन्देश दिन सकेकोमा । अतिरञ्जना नठहरियोस्– राष्ट्रियताको चुरो भनेकै ‘जयनेपाल’ हो । यस्तो अभिवादन गर्न पाउनु आफैँमा गर्वको कुरा पनि हो ।