१३औँ साग : कुस्तीमा भारतको वर्चस्व

१३औँ साग : कुस्तीमा भारतको वर्चस्व


तेह्रौं दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत जनकपुरधाममा जारी कुस्ती प्रतियोगिताको आज (२२ मंसिर) तेस्रो दिन पनि भारतले आफ्नो वर्चस्व कायम राख्न सफल भएको छ ।

आज भएको विभिन्न सात तौल समूहको खेलमा भारतले चार, श्रीलङ्का दुई र पाकिस्तानले एक स्वर्ण पदक हासिल गरेको छ । शनिबार एक स्वर्णसमेत जित्न सफल नेपालले आज तीन पुरुष र चार महिलाको विभिन्न तौल समूहमध्येको खेलमा दुई रजक र दुई कास्यपदक मात्र लिएर सन्तुष्ट भए । पुरुषतर्फ ६१ केजी तौल समूहमा भारतका रवीन्द्रले स्वर्ण, पाकिस्तानका मो बिलालले रजत र श्रीलङ्काका उदराले कास्य पदक जितेका छन् भने ८६ किलोग्राम समूहमा भारतका पवन कुमार स्वर्ण, पाकिस्तानका उमर अहमद रजत र बङ्गलादेशका श्रीश्रोत रायले रजतपदक जितेका छन् ।

त्यस्तै, ९२ केजी समूहको खेलमा पाकिस्तानका मो इनाम स्वर्ण, श्रीलङ्काका सलिथा रजत र नेपालका समीर शाहले कास्यपदक जितेका छन् । महिला समूहतर्फ ५९ केजी समूहमा भारतकी अंशुले स्वर्ण, बङ्गलादेशकी निपारेनले रजत र नेपालकी कोमल खत्रीले रजत, ६२ केजी समूहमा भारतकै साक्षी मलिक स्वर्ण, श्रीलङ्काकी महिराले रजत र बङ्गलादेशकी अख्तर सरमिनले रजतपदक जित्न सफल भएका छन् ।

यसैगरी ६५ केजी समूहतर्फ श्रीलङ्काकी दिलहानी स्वर्ण, नेपालकी सुशीला चन्द रजत र बङ्गलादेशकी मोस लक्की कास्यपदक पाउन सफल भएको छ भने ७२ केजी समूहतर्फ श्रीलङ्काकी अयोमी स्वर्ण, नेपालकी निर्मला रजत र बङ्गलादेशकी अख्तर रोजिना कास्यपदक जित्न सफल भएका छन् ।