बलात्कार के हो, के होइन ?



■ बबिता बस्नेत

यौनजन्य हिंसाको जघन्य रूप हो बलात्कार । विभिन्न मुलुकमा यो जघन्य हिंसाबाट महिला जोखिममा परिरहेका र बलात्कारपछि महिला तथा बालिकाको हत्यासमेत भइरहेकाले यो वर्षको महिलामाथि हुने हिंसाविरुद्धको १६ दिने अभियानको विश्वव्यापी नारा नै ‘समानताको पुस्ता : बलात्कारविरुद्धको ऐक्यबद्धता’ राखिएको छ । अभियान चलिरहेकै बेला भारतमा एक डाक्टरको बलात्कार गरी बीभत्स हत्या गरेको समाचार सार्वजनिक भएको छ । नेपालमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको डेढ वर्ष बितिसक्दा पनि बलात्कारी हत्यारा पत्ता लागेको छैन ।

प्रहरी तथ्याङ्कअनुसार नेपालमा ०७४/७५ मा एक हजार पाँच सय महिलामाथि बलात्कार भएको थियो भने बलात्कार प्रयासका सात सय घटना भएका थिए । एक वर्षमा २२ सय हाराहारीको सङ्ख्यामा महिलाको बलात्कार हुनु सानोतिनो तथ्याङ्क होइन । यतिका सङ्ख्यामा महिला बलात्कार हुनुको अर्थ सम्बन्धितमाथि शारीरिक एवम् मानसिक यातना र विक्षिप्तता मात्र होइन हाम्रो समाजमा एक वर्षमा २२ सय हिंस्रक पुरुषको जिउँदोजाग्दो उपस्थिति पनि हो ।

हाम्रा दिदीबहिनी, भाउजू–बुहारी, साथी, श्रीमती, प्रेमिकालाई बलात्कार गर्ने ती पुरुषहरू बाहिरबाट आयातीत लोग्नेमान्छे होइनन्, हाम्रै दाजुभाइ, काका, मामा, पति, प्रेमी, साथी, छोरा, भतिजाहरू हुन् । महिला या पुरुष भन्नुको परिधि पनि यति नै त हो । एक वर्षमा २२ सय पुरुषबाट बलात्कारजस्तो जघन्य, घृणास्पद र कलङ्कित काम भयो भने विगतका वर्षदेखि जोड्दै जाँदा यो तथ्याङ्कको ग्राफ कहाँ पुग्ला ? वर्षेनी बलात्कार बढ्दै जाँदा चिन्ता महिलाहरू पीडित भए भन्ने मात्र होइन, समाजमा कस्ता पुरुषहरूको सङ्ख्या बढ्दै छ भन्ने पनि हो । आखिर समाजलाई जति दोष दिए पनि यो समाजमा तपाईं–हामी नै त बस्छौँ ।

एक वर्षमा २२ सय पुरुषबाट बलात्कारजस्तो जघन्य, घृणास्पद र कलङ्कित काम भयो भने विगतका वर्षदेखि जोड्दै जाँदा यो तथ्याङ्कको ग्राफ कहाँ पुग्ला ? वर्षेनी बलात्कार बढ्दै जाँदा चिन्ता महिलाहरू पीडित भए भन्ने मात्र होइन, समाजमा कस्ता पुरुषहरूको सङ्ख्या बढ्दै छ भन्ने पनि हो ।

बलात्कारको तथ्याङ्क र घटनाहरूलाई हेर्दा अधिकांश बलात्कार घरभित्र हुने गरेका छन् । आफन्त, नातेदार र नजिक ठानेका व्यक्तिबाट बलात्कृत हुनेहरूको सङ्ख्या ठूलो छ । पतिबाट बलात्कार नहुने महिलाहरू कमै भेटिन्छन्, तर वैवाहिक बलात्कारको कानून भए पनि पतिविरुद्ध मुद्दा भने नगण्य मात्रै पर्ने गरेका छन् । हाम्रो समाजमा वैवाहिक बलात्कारबारे खुलेर बोल्ने गरिएको छैन, तर महिला मात्रै भएका कार्यक्रमहरूमा आफूलाई इच्छा नहुँदानहुँदै पनि कति महिलाले पतिसँग शारीरिक सम्बन्ध राख्छन् भनेर चर्चा गर्दा धेरैले आफूलाई ‘त्यस्तो त कति हुन्छ नि’ भन्नेको जमातबाट टाढा राख्न सक्दैनन् । पतिसँग या कुनै पनि व्यक्तिसँगको अनिच्छित यौन सम्बन्ध बलात्कार हो । बाटोमा, यात्रामा, एकान्तमा, अँध्यारोमा महिलाहरूमाथि सामूहिक बलात्कारसमेत हुने गरेको छ ।

केही समययता हामीकहाँ सहमतिका सम्बन्धहरू पनि बलात्कारमा परिणत हुँदै आएको भन्ने चर्चा बढ्दै गएको छ । केही घटना–सन्दर्भहरू सार्वजनिक भएपछि मानिसहरूले बलात्कार र सहमतिको सम्बन्धलाई जोडेर हेर्न थालेका छन । बलात्कार, यौन हिंसा र सहमतिको सम्बन्ध एकै ठाउँ राखेर हेर्न मिल्ने विषय होइनन् । यौनिकतासँग सम्बन्धित हिंसा यौन हिंसा हो । बलात्कार यौन हिंसाको चरम रूप हो । मानिसमा आफ्नो शरीरका सम्बन्धमा व्यक्तिगत र सार्वजनिक सीमाहरू हुन्छन । व्यक्तिगत सिमानाले व्यक्तिलाई अरूबाट अलग्याउँछ, व्यक्तिगत कुरा नितान्त निजी हो ।

व्यक्तिका शारीरिक र मानसिक आ–आफ्नै प्रकारका परिधिहरू हुन्छन् । कसले के सोच्छ, व्यक्तिगत रूपमा के गर्छ अरूको सरोकारको विषय होइन । सरोकार राखेर साध्य हुने कुरा पनि होइन । यौनजन्य क्रियाकलाप, यौन परिकल्पना, यौनजन्य हिंसा र दुर्व्यवहार फरक कुरा हुन् । यौनजन्य हिंसा र बलात्कार भनेको कसैको इच्छाविरुद्ध यौनजन्य मनसायले गरिने दुर्व्यवहार हो । जुन जबर्जस्ती गरिएको हुन्छ । जबर्जस्ती गरिने हुँदा सशक्त र अशक्तबीच बलात्कार हुन्छ । कुनै पनि यौन दुर्व्यवहार र बलात्कार पीडायुक्त, भययुक्त, लज्जाजनक र अप्रिय हुन्छ । एक–अर्काप्रति आकर्षित दुई व्यक्तिबीचको सहमतिपूर्ण यौनजन्य गतिविधि यौनजन्य दुर्व्यवहार होइन । आपसी आकर्षण र मित्रतासँग दुर्व्यवहारको कुनै सम्बन्ध छैन ।

कुनै पनि यौन दुर्व्यवहार र बलात्कार पीडायुक्त, भययुक्त, लज्जाजनक र अप्रिय हुन्छ । एक–अर्काप्रति आकर्षित दुई व्यक्तिबीचको सहमतिपूर्ण यौनजन्य गतिविधि यौनजन्य दुर्व्यवहार होइन । आपसी आकर्षण र मित्रतासँग दुर्व्यवहारको कुनै सम्बन्ध छैन ।

बलात्कारकै प्रसङ्गमा केही दिनअघि मात्र सार्वजनिक भएको सिद्धबाबा भनिने कृष्णदास गिरीबाट बलात्कृत भनिएकी महिला र कृष्णदासबीचको टेलिफोन संवाद फरक लाग्छ । कृष्णदासले महिलासँग ‘मलाई बचाइदेऊ’ भनी रुवाबासी गरेका छन् । यसबाट उनी सम्बन्धमुक्त थिए भन्न मिल्दैन । ‘मबाट भूल भयो नानी’ भनेका छन् । परस्त्री सम्बन्ध सन्न्यासीका लागि भूल नै हो । मानिसले साधु हुनका लागि धेरै कुराको त्याग गर्न सक्नुपर्छ । आफ्नो अहम्माथि प्रहार हुँदा पनि चुपचाप सहन सक्ने भएपछि मानिस साधु बन्छ । साँच्चिकै साधुलाई सत्ता, ठूला भनिने शक्तिशाली मान्छे, राष्ट्रपति, प्रधानमन्त्री, सम्पत्तिजस्ता कुरासँग कुनै सरोकार हुँदैन ।

सन्त–महन्तका नाममा ढोंग गर्दै सनातनी धर्मको धज्जी उडाउने कृष्णदासहरूको रोदनमा सहानुभूति राख्नुपर्ने कारण छैन । तर, बलात्कारको सन्दर्भमा यसलाई फरक संवादचाहिँ भन्न सकिन्छ । कुनै पनि बलात्कृत महिलाले अपराधीलाई ‘हजुर’ भनेर सम्बोधन गर्न सक्छन् जस्तो लाग्दैन । ती महिलाबाट ‘सन्न्यासी र सिद्धबाबाका नाममा ढोंग गर्ने तँजस्तो अपराधी’ भन्नेस्तरका शब्दहरू प्रयोग भएका भए त्यसलाई स्वाभाविक मान्नुपर्ने हुन्थ्यो । बलात्कृत व्यक्ति आक्रोशित हुनु स्वाभाविक हुन्छ । ‘अनि हजुरले किन त्यस्तो गर्नुभयो त, मैले हजुरलाई भनेकै थिएँ त, मैले समय दिएकै थिएँ त’ भनेर कुनै पनि बलात्कृत महिलाले अपराधीसँग भन्दैनन् । पीडितबाट वर्षौंसम्म आक्रोशको आगो शब्दका रूपमा बाहिर आउँछ ।

कृष्णदास घटनामा अनुसन्धान भई सत्यतथ्य बाहिर आउला नै । उनीहरूबीच विशेष सम्बन्ध रहेको र महिनौँदेखि भेट्न गरेको प्रयास असफल भएपछि बलात्कारको आरोप लगाएको भन्ने महिलाको संवाद र सन्देशहरूबाट स्पष्ट बुझिन्छ । कृष्णदास सजायका भागी यस अर्थमा हुन सक्छन् कि वासनामुक्त हुन नसक्ने मानिसले आफूलाई किन सन्त घोषणा गरे ? यो उनीमाथि उठेको गम्भीर नैतिक प्रश्न हो । कृष्णबहादुर महरा मुद्दामा पनि ‘महरा सर’ भन्ने सम्बोधन प्रयोग भएको थियो । लामो सम्बन्धमा रहेकाहरूले आफूले गर्दै आएको सम्बोधनलाई निरन्तरता दिनु स्वाभाविक हो ।

‘अनि हजुरले किन त्यस्तो गर्नुभयो त, मैले हजुरलाई भनेकै थिएँ त, मैले समय दिएकै थिएँ त’ भनेर कुनै पनि बलात्कृत महिलाले अपराधीसँग भन्दैनन् । पीडितबाट वर्षौंसम्म आक्रोशको आगो शब्दका रूपमा बाहिर आउँछ ।

सहमतिका सम्बन्धहरूलाई बलात्कारसँग जोडेर हेर्न थालियो भने वास्तविक बलात्कृतमाथि ठूलो अन्याय हुन्छ । सडकदेखि घरसम्म कुनै पनि स्थानमा सुरक्षाको प्रत्याभूति नभएकाले महिलाहरू स्वयम्ले पनि सचेतता अपनाउन आवश्यक छ । साधु बाबाका भक्तका नाममा जे गर्न पनि सक्ने स्थानमा किन जाने ? यो अहिलेको मात्रै कुरा होइन, धेरै महिला धर्मका नाममा ढोंग गर्नेहरूबाट शोषणमा परेका छन् । अहिले विद्युतीय सञ्चारमाध्यम, सामाजिक सञ्जालले सहज बनाइदिएको छ । नियत सफा भएका मानिसले च्याटमा दोहोरो अर्थ लाग्ने या व्यक्तिगत प्रकारका कुरा किन लेख्ने ? यसोभन्दा शोषण गर्ने पुरुष अनि महिलाले सजग हुनुपर्ने ? भन्ने प्रश्न गरिएला । हाम्रोजस्तो समाजमा आफ्नो सुरक्षामा आफैँले बढी ध्यान दिनुपर्ने अवस्था अहिले पनि छ । महिलाले आफ्नो आत्मसम्मान आफैँले जोगाउनुपर्ने परिस्थिति छ ।

मुलुकी अपराध संहिता ऐन, २०७४ ले बलात्कारमा कसुर सजायको व्यवस्था गरिएको छ । जसअनुसार जबर्जस्ती करणी गर्ने व्यक्तिलाई त्यसरी करणी गर्दाको परिस्थिति र महिलाको उमेर हेरी कैद सजाय हुनेछ । दश वर्षभन्दा कम उमेरकी बालिका, पूर्ण असक्त, अपाङ्गता भएका वा ७० वर्षभन्दा बढी उमेरका महिला भए जन्मकैद हुन्छ । १० वर्षभन्दा बढी १४ वर्षभन्दा कम उमेरकी बालिका भए १८ वर्षदेखि २० वर्ष कैद । १४ वर्ष वा १४ वर्षभन्दा बढी १६ वर्षभन्दा कम उमेरकी बालिका भए १२ देखि १४ वर्ष कैद । १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम भए १० वर्षदेखि १२ वर्ष कैद । १८ वर्ष वा १८ वर्षभन्दा बढी उमेरकी भए सातदेखि १० वर्षसम्म कैद सजायको व्यवस्था छ । यसैगरी वैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा पतिले पत्नीलाई जबर्जस्ती करणी गरेमा पाँच वर्षसम्म कैद हुने व्यवस्था छ ।

प्रतिक्रिया