चीन पुग्यो रूसी ग्यास पाइपलाइन

चीन पुग्यो रूसी ग्यास पाइपलाइन


रुस र चीनबीच पहिलो पटक ग्यास पाइपलाइनको सुरुवात गरिएको छ । विश्वकै मुख्य ग्यास वितरक देशमा पर्ने रुसले चीनसँग ग्यास पाइपलाइन जोड्नुलाई ऐतिहासिक घटनाका रूपमा लिइएको छ ।

रूसका राष्ट्रपति भ्लादिमिर पुटिन र चीनका राष्ट्रपति सी चिनफिङ्ले टेलिभिजनबाट प्रसारण भइरहेको समारोहमा सोमबार ग्यास पाइपलाइनको उद्घाटन गरेका छन् । दुई देशका बीचमा ग्यास पाइपलाइन सञ्चालन हुनुलाई आपसी सहकार्यको नयाँ कदमका रूपमा व्याख्या गरिएको एएफपीले जनाएको छ ।

‘आज एउटा ऐतिहासिक काम भएको छ, यो विश्वको उर्जा बजारका लागि मात्रै नभई तपाई हाम्रा लागि पनि पहिलो पटक महत्वपूर्ण कदम भएको छ,’ पुटिनले भनृका छन् ।

चिनियाँ राष्ट्रपति सीले भने यस कार्यलाई आपसी सहकार्यको नयाँ नमुनाका रूपमा अर्थ्याएका छन् । यसले दुई देशको सम्बन्धलाई थप उचाइमा पु¥याउने विश्वास पनि उनले व्यक्त गरे ।

कार्यक्रममा दिइएको जानकारीअनुसार दुर्गम क्षेत्रमा पर्ने पूर्वी रूसदेखि चीनको सिमा क्षेत्रमा पर्ने ब्लागोभेशचेन्सकसम्म जोड्नेगरी ग्यास पाइपलाइन जोडिएको छ । सो पाइपलाइन तीन हजार किलोमिटर लामो रहेको जनाइएको छ । यसलाई राष्ट्रपति पुटिनले संसारकै सबैभन्दा ठूलो निर्माण परियोजनाको संज्ञा दिनुभएको छ ।

सो पाइपलाइनबाट सन् २०२५ देखि मात्रै पूर्ण क्षमतासहित ग्यास निर्यात गर्न सकिने भएको छ । पूर्ण क्षमतासहित सञ्चालन हुँदा सो पाइपलाइनबाट प्रति वर्ष ३८ अर्ब क्युविक मिटर ग्यास निर्यात गर्न सकिने अधिकारीहरूले जनाएका छन् ।

यो निर्माण गर्न रूस र चीनले सन् २०१४ मा सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । तीसवर्षे यो ४०० अर्ब अमेरिकी डलर लाग्ने परियोजनालाई महत्वाकांक्षी परियोजना मानिएको थियो । पाइपलाइन निर्माण गर्ने क्षेत्रमा दलदल, डाँडाकाँडा र ढुङग्यान भूभाग रहेको र गाह्रो खालको वातावरणीय अवस्था रहेको जनाइएको छ ।

पाइपलाइनअन्तर्गत पर्ने याकुतिया क्षेत्रमा माइनस ६० डिग्री सेल्सीयस र रूसको सुदुर पूर्वी अमुर क्षेत्रमा माइनस ४० डिग्री सेल्सीयस तापक्रम हुने गरेको अधिकारीहरूले जनाएका छन् ।