अरूको हित सोचे स्वतः हुन्छ आफ्नो हित


■ शेखर ढुङ्गेल

आउनुहोस्, एकछिन समाजको दुष्ट्याइँ, धूर्त्याइँ, फटाइँ, लोभलालच, इर्ष्या, घमण्डलाई थाती राखी ‘मरेर बाँच्ने कि बाँचेर मर्ने ?’ भन्ने सवालमा केही चिन्तन–मनन गरौँ ।

समाजमा सृष्टिको अनादिकालदेखि नै लोभ, मोहका कारण कतिपय वाञ्छित–अवाञ्छित कर्म–कुकर्महरू भइरहेका छन्, जसलाई मानवीय र दानवीय स्वभावको रूपमा परिभाषा गरिएको छ । प्रत्येक मानिसभित्र यस्ता गुण कुनै न कुनै कुनामा विद्यमान हुन्छन् । मानिसको आवश्यकता, इच्छा अनि आपूर्तिबीचको खेल नै जीवन हो । यो खेलमा व्यक्ति (मानिस)ले कस्तो इच्छा र आपूर्तिको सीमा निर्धारण गर्छ त्यसमा नै व्यक्तिको स्वभाव र व्यवहारले समाजमा स्थायी प्रभाव पार्ने गर्छ । र, स्वयम् व्यक्तिको परिचयसमेत निर्धारण गर्छ ।

समाजको खेलको एउटा सानो हिस्सालाई सम्बोधन गर्दै श्रीमद्भागवत गीतामा लेखिएको छ– ‘जब मानिसको इच्छा पूरा हुँदैन, तब ऊ आक्रोशित हुन्छ । मानिसमा क्रोध त्यसबेला आउँछ, जब उसको इच्छामा रोकावट, बाधा–अड्चन आउँछ । अर्थात् सम्पूर्ण समस्याको जड व्यक्तिको अस्वाभाविक इच्छाआकाङ्क्षा नै हो ।’

एकजना विद्वान्ले मानिसको स्वभावलाई यसरी उल्लेख गरेका छन्– फाइदा दिनेहरू वरिपरि झुम्मिएका बेला बेमतलबको मानिसको दुःख उसले किन सोच्छ ? अर्थात्, मानिस स्वार्थी हुन्छ र उसका प्रत्येक कदम स्वार्थका लागि अगाडि बढिरहेका हुन्छन् । जायज स्वार्थले व्यक्ति र समाजको भलो गरिरहेको हुन्छ भने नाजायज स्वार्थले अर्को व्यक्ति, समाज र स्वार्थलाई प्रताडित गराइरहेको हुन्छ ।

श्रीमद्भागवत गीताको १६.२९ खण्डमा उल्लेख गरिएको छ– काम, क्रोध, लोभदेखि बच्नुपर्छ, नर्क र स्वर्ग अन्यत्र होइन, यही जीवन र यही पृथ्वीमा नै छ । अनियन्त्रित लालच पूरा गर्न दौडने मानिसलाई बारबार असफलता हात लाग्छ । त्यस्ता मान्छे शङ्का गर्ने, भ्रममा पर्ने, असहनशील र क्रोधी हुन्छन् । जबसम्म मानिस यस्तो इच्छामा आशक्त रहन्छ, उसको जीवन नर्कमय हुन्छ । गीताकै २.६३ खण्डमा भनिएको छ– ‘मानिसमा क्रोधबाट सम्मोह रस हुन्छ, सम्मोहबाट स्मृतिमा भ्रम सिर्जना हुन्छ । भ्रम वा शङ्काले मानिसको बुद्धि नष्ट हुन्छ र अन्त्यमा मानिस स्वयम् नष्ट हुन्छ ।

सम्मोह त्यस्तो क्रोधको अवस्था हो, जसबेला व्यक्तिले सोच्छ कि म जे गर्दै छु ठीक गर्दै छु, बाँकी सबै गलत देख्छ र अरूको कुरा सुन्ने र बुझ्ने क्षमतासमेत नष्ट भइसकेको हुन्छ । त्यस्तो व्यक्तिले के उचित, के अनुचित भनी विवेक प्रयोग गर्न सक्दैन अनि विवेकहीन बनेर स्वयम् नष्ट हुन्छ ।

मानिसहरू, जो अरूको खराबी सोच्छन्, बोल्छन् तर एउटा ध्रुवसत्य कुरो के हो भने जतिसुकै गोप्य ठाउँमा त्यो विषाक्त भावनाको बिउ बमन गर वा रोप, जतिसुकै विश्वासपात्र भनिएको मित्रलाई ‘कसैलाई नभन्नू है’ भनी कसम खुवाएर गलत कुरा, अर्कोलाई बिगार्ने कुरा गर, एक दिन समयले निर्मम र कठोर बनेर त्यो दुष्ट विचार र कर्मको बदलामा सजाय गरेर नै छाड्छ । गलत नियतिको भण्डाफोर भएर नै छाड्छ ।

समाजमा खराबीको बिउ रोप्नेहरू प्रशस्त छन्, यसको विजारोपण गर्न सजिलो छ, जसरी घर भत्काउन । असल कुराको बिउ रोप्नु र उमार्नु एउटा घर बनाउनुजत्तिकै गाह्रो छ । यस सन्दर्भमा भारतीय दर्शनशास्त्री स्वामी रामतीर्थ भन्छन्– ‘मानिसहरू, जो अरूको खराबी सोच्छन्, बोल्छन् तर एउटा ध्रुवसत्य कुरो के हो भने जतिसुकै गोप्य ठाउँमा त्यो विषाक्त भावनाको बिउ बमन गर वा रोप, जतिसुकै विश्वासपात्र भनिएको मित्रलाई ‘कसैलाई नभन्नू है’ भनी कसम खुवाएर गलत कुरा, अर्कोलाई बिगार्ने कुरा गर, एक दिन समयले निर्मम र कठोर बनेर त्यो दुष्ट विचार र कर्मको बदलामा सजाय गरेर नै छाड्छ । गलत नियतिको भण्डाफोर भएर नै छाड्छ ।’

आजको समयमा संसारका नरनारीलाई खड्किएको एउटा समस्या हो– सच्चा मित्रता । मित्रताको बारेमा परिभाषा गर्दै पण्डित रामचन्द्र शुक्ल भन्नुहुन्छ– मानिस–मानिसबीच हुने निःस्वार्थ र सच्चा मित्रतामा उच्चकोटिको वैद्यले (आधुनिक डाक्टर) गर्ने उपचारपछिको आरामभन्दा उत्तम र महँगो सेवाभाव, त्याग हुन्छ, एउटा असलभन्दा असल आमाको भन्दा माया, सहन, धैर्य, कोमलता, क्षमा र त्याग हुन्छ । कहाँ खोज्ने त्यस्तो मित्र ? त्यो मित्र छ आफैँभित्र, आफ्नै मनभित्र रहेको विश्वास, प्रेमलाई बाँड्न सक्नुपर्छ । लिने र प्रयोग गर्ने होइन, दिने र सहयोगी बन्ने भावना स्वयम्मा हुनुपर्छ ।

यसै सन्दर्भमा महात्मा गान्धी भन्नुहुन्छ– जुन मानिसमा नैतिकता, इमानदारी, धैर्य हुँदैन र स्वार्थ मात्र लुकेको हुन्छ, त्यस्तो मानिसको कोही मित्र हुँदैन, कोही आफ्नो हुँदैन र त्यो मानिसले अरूले भन्दा स्वयम्ले नै धेरै नोक्सानी पुऱ्याइरहेको हुन्छ ।

यहाँ महामानव गौतम बुद्धको अमर वचनलाई शिरोधार्य गर्नु पनि अनिवार्य छ । उहाँले भन्नुभएको थियो– तिमी आज जहाँ छौ, जस्तो छौ, अर्थात् दुःखी, सुखी जे छौ, तिमी तिनै कारणले छौ । जे हुन्छ, लेखिएको नै हुन्छ । तसर्थ अरूलाई दोष नदेऊ, सबैको राम्रो मात्र सोच ।

मानिस स्वयम् उसको नियन्त्रणमा छैन । मनले एउटा खोज्छ, मस्तिष्कले अर्को आदेश दिन्छ । मानिसले मनले त के–के चिताउँछ–चिताउँछ, तर उसकै मस्तिष्कले यो गर, त्यो गर वा नगर भनिराखेको हुन्छ ।

त्यो मेरो मित्र हो, त्यो ठीक छ, त्योसित कुरा मिल्दैन, त्यो ठीक छैन, त्यसको सङ्गत नगर्नू, त्योदेखि होसियार हुनू, मलाई विश्वास गर्नू, त्यसलाई विश्वास गर्न सकिन्न, त्यो काम हुँदैन, त्यसको पछि नलाग्नू आदि यस्ता सबै कुरा एउटा क्षुद्र चित्त भएको मानिसले मात्र गर्छ । उदार मन, ठूलो चित्त भएको मानिसका लागि त सारा संसारका सबै मानिस असल मित्र हुन्छन्, ऊ कसैलाई खराब देख्दैन । उसले हमेसा अरूको भलो मात्र चिताएर काम गर्छ । यो कुरो महोपदेशमा उल्लेख गरिएको छ ।

अन्त्यमा, सत्य साइबाबा भन्नुहुन्छ– संसारमा बाँच यसरी कि संसारको लोभ–लालच, इर्ष्यालाई मनबाट निकाली फ्याँकिदेऊ अनि तिमीलाई विवेकी बनाउँछ । सदाचारपूर्ण विवेकको प्रयोगले नै मानिसको आत्मशान्तिको बाटो निर्माण गर्छ ।

प्रतिक्रिया