बर्खास्तीमा परेका विष्टको मार्मिक फेसबुक स्टाटस

बर्खास्तीमा परेका विष्टको मार्मिक फेसबुक स्टाटस


बुधबारको मन्त्रिमण्डल पुनर्गठनबाट बाहिरिएका श्रम तथा रोजगारमन्त्री गोकर्ण विष्टले सामाजिक सञ्जालमा आफ्नो भनाइ राखेका छन् । उनलाई केपी शर्मा ओली नेतृत्वको मन्त्रिमण्डलमा उत्कृष्ट मन्त्रीका रूपमा हेरिएको थियो । उनका कार्यशैलीले ओली सरकारको लोकप्रियता पनि बढाएको थियो । तर, मन्त्रिमण्डल पुनर्गठनको समयमा विष्टले जस पाएनन् र मन्त्रिमण्डलबाट बाहिर धकेलिए ।

तर, जति समय मन्त्री पदमा रहेर काम गर्ने अवसर प्रधानमन्त्री ओलीले उनलाई दिए, त्यसप्रति उनले कृतज्ञता जाहेर गरेका छन् ।

मन्त्रिमण्डल पुनर्गठनको भोलिपल्ट (आज) बिहीबार विष्टले आफ्ना मार्मिक भनाइ सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा उनले भनेका छन्, ‘जति दिन श्रममन्त्रीको रूपमा रहेँ, वैदेशिक रोजगारीको नाममा ठगीमा परेका युवाहरू, पसिनाको मूल्य नपाएका श्रमिकहरू र बेरोजगार युवाहरूको पक्षमा इमानदारीपूर्वक ज्यामी माहुरीले जस्तै काम गर्ने प्रयास गरेँ । अहिले मन्त्रीबाट बाहिरिएको छु, थप उर्जा र प्रेरणाका साथ । मन्त्रीको रूपमा काम गर्ने अवसर प्रदान गर्ने सम्माननीय प्रधानमन्त्रीज्यूप्रति कृतज्ञ छु । सुधार अभियानमा साथ दिने सहयोगी, शुभचिन्तक एवं सबै दाजुभाइ दिदीबहिनीहरूलाई हार्दिक धन्यवाद !’

प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिमण्डलमा मन्त्रीका रूपमा रहेका विष्टको कार्यप्रति सबै सन्तुष्ट रहेको विश्वास गरिन्थ्यो । पुनर्गठित मन्त्रिमण्डलमा पनि उनी यथावत रहने धेरैको विश्वास थियो । तर, मंसिर ४ गते गरिएको मन्त्रिमण्डल पुनर्गठनमा उनी अटाउन सकेनन् ।