शुरु भयो संसारव्यापी अभियान !

शुरु भयो संसारव्यापी अभियान !


मातृभूमिका लागि नेपालीको आयोजनामा संसारव्यापी हस्ताक्षर अभियान गत कात्तिक ३० गतेदेखि शुरु भएको छ । किरात, बौद्ध, जैन, बोन, मैत्रीय, इस्लामलगायतको धर्म–संस्कृति संरक्षण गर्ने हिन्दूराष्ट्र स्थापनाका लागि शुरु गरिएको हस्ताक्षर अभियानको गत शनिबार (कात्तिक ३०) काठमाडौंको वसन्तपुरमा मुस्लिम धर्मावलम्बी मोहम्मद अहमद कुरैसीद्वारा पानसमा बत्ती बाली शुभारम्भ गरिएको थियो । समारोहमा जैन धर्मका प्रतिनिधि फुलकुमार लालवाणी, शिख प्रतिनिधि रवि सिंह, हिन्दू–बौद्धधर्मका व्याख्याता विद्वान् मोहन लामा रुम्बा, मोहम्मद अहमद कुरैसी तथा महात्मा सुशीलले नेपाल सनातन वैदिक हिन्दू राष्ट्रका रूपमा वैधानिक ढङ्गले नै रहनुपर्नेमा जोड दिएका थिए ।

समारोहलाई सम्बोधन गर्दै नेपाली काङ्ग्रेसका नेता एवम् प्रदेश सभाका माननीय सदस्य नरोत्तम वैद्यले नेपाललाई हिन्दूराष्ट्र बनाएरै छोड्ने प्रतिबद्धता जाहेर गर्नुभएको थियो । सङ्गठनको काठमाडौं समितिका सहसंयोजक दीपकसिंह महर्जनले सहभागीहरूलाई स्वागत गर्दै काठमाडौंमा आगामी तीन महिनासम्म निरन्तर हस्ताक्षर अभियान चल्ने जानकारी गराउनुभयो ।

एक करोडभन्दा बढी हस्ताक्षर सङ्ग्रह गर्ने उद्देश्यका साथ शुरु भएको शुभारम्भ समारोहको सभापतित्व संयोजक देवप्रकाश त्रिपाठीले तथा कार्यक्रम सञ्चालन सावी घिमिरेले गर्नुभएको थियो भने सोही दिन नेपालगञ्ज, दाङ, चितवन, कास्की, धादिङ र झापालगायतका जिल्लामा पनि हस्ताक्षर अभियानको शुभारम्भ गरिएको थियो ।

बाँकेमा टुङ्गराज पाठक र विनोद बम, दाङमा मुरारी शर्मा, कास्कीमा प्रतिष्ठित नेता विश्व सिग्देल, अफजल मियाँ, भवानी शर्मा र राम बराल, चितवनमा दीपक रुवाली र हरिराज श्रेष्ठ, धादिङमा श्रवणकुमार त्रिपाठी, सुरेश मल्ल, सुशील थापा र शिवप्रसाद पाण्डे तथा झापामा गजेन्द्र पौडेललगायतका अभियन्ताहरूको अग्रसरतामा हस्ताक्षर अभियान अघि बढाइएको थियो ।

त्यस्तै भारतको गोवा, बेल्जियम र चिलीमा पनि हस्ताक्षर अभियान शुरु गरिएको छ । संसारव्यापी हस्ताक्षर अभियान माघ मसान्तसम्म चल्नेछ ।