‘साग’मा खटिने स्वयंसेवकलाई प्रशिक्षण

‘साग’मा खटिने स्वयंसेवकलाई प्रशिक्षण


नेपालमा हुने १३औँ दक्षिण एसियाली खेलकुद (साग) का लागि गठित स्वयंसेवक परिचालन समितिले स्वयंसेवकका लागि प्रशिक्षण कार्यक्रम आयोजना गरको छ । सागमा खटिने स्वयंसेवकको जिम्मेवारी बारे जानकारी गराउन प्रशिक्षण कार्यक्रम आयोजना गरिएको समितिका सचिव प्रेम मल्लले जानकारी गराए ।

काठमाडौंमा हुने विभिन्न खेलका लागि ५ सय स्वयंसेवक परिचालन हुँदैछन् । उनीहरूलाई सुरक्षा, अतिथि सत्कार, सागमा सहभागी हुने विभिन्न महानुभावहरूले प्रयोग गर्ने एक्रिडेसन कार्ड, अनुशासन, नियम, कानूनलगायतका विषयमा जानकारी गराएको थियो । रमेश खनाल, डा. प्रकाश प्रधान, रुकेश तण्डुकार, चतुरानन्द राजवैद्य, दीपक राई र अर्जुन विकले प्रशिक्षण दिएका थिए ।

तीनदिनसम्म चल्ने प्रशिक्षणको पहिलो दिन २ सय १५ जना सहभागी थिए । बाँकीलाई मंगलबार र बुधबार प्रशिक्षण दिइने छ । त्यस्तै पोखरा र जनकपुरमा हुने खेलका लागि खटिने स्वयंसेवकलाई पनि यस्तै तालिम दिइने सचिव मल्लले जनाएका छन् । पोखरामा मंसिर ५ र ६ तथा जनकपुरमा मंसिर ७ गते प्रशिक्षण कार्यक्रम सञ्चालन हुने छ ।

प्रशिक्षणको युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा आयोजित एक कार्यक्रमबीच उदघाटन गरे ।