शरद अरबिन्द बोब्डे भारतको ४७औँ प्रधानन्यायाधीश


भारतको ४७औँ प्रधानन्यायाधीश पदमा न्यायाधीश शरद अरबिन्द बोब्डे नियुक्त भएका छन् । भारतका राष्ट्रपति रामनाथ कोविन्दले नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा सोमबार आयोजित विशेष समारोहमा न्यायाधीश बोब्डेलाई प्रधान न्यायाधीशको पद तथा गोपनीयताको शपथ गराएका छन् ।

निवर्तमान प्रधानन्यायाधीश रन्जन गोगोईको कार्यकाल समाप्त भएपछि न्यायाधीश बोब्डे प्रधानन्यायाधीश बनाइएका हुन् । गोगोई करिब १३ महिना भारतको प्रधानन्यायाधीश रहेका थिए । यही नोभेम्बर १७ मा उनले अवकाश पाएका छन् ।

सोमबारको शपथग्रहण कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह समेतका उच्च पदस्थ व्यक्ति उपस्थित थिए ।

प्रधानन्यायाधीश बोब्डे सन् १९५६ मा भारतको महाराष्ट्रस्थित नागपुरमा जन्मिएका हुन् । उनले नागपुर विश्वविद्यालयबाट कानुनमा एलएलबी र बिए सम्मको अध्ययन गरेका छन् ।

भारतीय उच्च अदालतमा न्यायाधीश रहेर सेवा गरेका उनी सन् २०१३ मा भारतीय सर्वोच्च अदालतको न्यायाधीशमा पदोन्नति भएका थिए । न्यायाधीश बोब्डेले आगामी सन् २०२१ को अप्रिल १३ मा अवकाश प्राप्त गर्ने एएनआईले जनाएको छ ।

प्रतिक्रिया