शंकास्पद मृत्यु भएका कँडेलका परिजनद्वारा किटानी जाहेरी दर्ता

शंकास्पद मृत्यु भएका कँडेलका परिजनद्वारा किटानी जाहेरी दर्ता


चितवनको इच्छाकामना गाउँपालिका–३ फिस्लिङमा रहेको अस्थायी प्रहरी चौकीबाट हाम फालेर मृत्यु भएका भनिएका नेपाली सेनाको जवानका परिवारले किटानी जाहेरी दर्ता गराएका छन् । अस्थायी प्रहरी चौकी फिस्लिङमा कार्यरत प्रहरी जवान ठाकुर ढकालका नाममा मृतकका परिवारजनले हत्या भएको दाबी गर्दै किटानी जाहेरी दर्ता गराएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दानबहादुर मल्लले किटानी जाहेरी परेको र ढकाललाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको जानकारी दिए ।

इच्छकामना–५ निवासी २८ वर्षीय राम कँडेल फिस्लिङमा रहेको अस्थायी प्रहरी चौकीमा राखिएका समयमा आइतबार (१ मंसिर) बिहान बरण्डाबाट हाम फालेर घाइते भएको प्रहरीले जनाएको थियो । घाइते कँडेलको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको थियो ।

कँडेल सिन्धुलीको बर्दबहादुर गणका सिपाही हुन् ।

कँडेलको मृत्युपछि स्थानीयले हत्या भएको भन्दै आइतबार दिउँसो तीन घण्टा पृथ्वी राजमार्ग अवरुद्ध गराएका थिए । मृतक कँडेलको शव परीक्षणका लागि नेपाली सेना, प्रहरी र परिवारका साथमा शिक्षण अस्पताल महाराजगञ्ज पु¥याइएको छ ।

आइतबार बिहान फिस्लिङ क्षेत्रमा झैझगडा गरेपछि नियन्त्रणमा लिइएका कँडेल प्रहरी चौकीको तल्लो तलाको बरण्डाबाट हामफाल्दा घाइते भएको प्रहरीले जनाएको थियो । बिहान ७ः३० वजे लडेर घाइते भएका कँडेलको उपचारका क्रममा बिहान ८ः४० बजे मृत्यु भएको प्रहरीको भनाई छ ।