संसारव्यापी हस्ताक्षर कार्यक्रम बेल्जियममा पनि

संसारव्यापी हस्ताक्षर कार्यक्रम बेल्जियममा पनि


मातृभूमिका लागि नेपाली प्रवास समिति बेल्जियमले लुभेनमा संसारव्यापी हस्ताक्षर कार्यक्रम आयोजना गऱ्यो ।

मातृभूमिका लागि नेपाली बेल्जियम समिति संयोजक डिल्ली अम्माईको सभापतित्वमा आयोजना भएको कार्यक्रममा अभियानका केन्द्रीय सचिव सनत आचार्यले नेपाल प्राकृतिक, जातीय, सामाजिक तथा धार्मिक विभिन्न दृष्टिकोणले वैदिक सनातन हिन्दु राष्ट्र घोषणा गरिनुपर्ने बताउनुभयो । देशलाई धर्मनिरपेक्ष बनाउनु सिङ्गो नेपाल र तमाम नेपालीको भावनाविपरीत भएको उहाँको भनाई थियो ।

सभाका विशिष्ट अतिथि पत्रकार ओम शर्माले देश भनेको भूगोल मात्र नभएर धर्म पनि रहेको उल्लेख गर्दै देशलाई धर्मनिरपेक्ष तुल्याएर ध्वस्त पार्न खोजिएको आरोप लगाउनुभयो ।

संयोजक डिल्ली अम्माईले नेपाली–नेपालीलाई जोड्ने भाषा, धर्म, संस्कार, संस्कृतिलाई निमिट्यान्न पार्ने काम भएबाट सम्पूर्ण नेपाली मर्माहत भएको र अब उप्रान्त सबै जोडिनु आवश्यक रहेको सुझाव प्रस्तुत गर्नुभयो ।

समाजसेवी मोहन खत्रीले नेपाल जोड्ने अभियान आजको आवश्यकता भएकोले सबैलाई भावनात्मक रूपबाटै जोडिन आग्रह गर्नुभयो भने अनित केसीले अभियानले चाल्नुपर्ने भावी कदमबारे सुझाव प्रदान गर्नुभएको थियो ।