थाइल्याण्डकी पोर्नतिप र भियतनामका फामलाई उपाधि

थाइल्याण्डकी पोर्नतिप र भियतनामका फामलाई उपाधि


थाईल्याण्डकी पोर्नतिप बुरानाप्रसेर्तुक महिलातर्फ र भियतनामका काव सुओङ फाम पुरुषतर्फ योनेक्स सनराइज नेपाल अन्तर्राष्ट्रिय च्यालेञ्ज २०१९ को उपाधि–विजेता भएका छन् ।

आइतबार सम्पन्न फाइनल खेलमा प्रतियोगितामा पहिलो स्थान प्राप्त पोर्नतिपले कोरियाकी गा युन पार्कलाई २१–१६, २१–१४ को अंकका साथ उपाधि जितेकी हुन् । यस्तै पुरुषतर्फ प्रतियोगितामा छैठौँ बरियता पाएका भियतनामका फामले आठौँ स्थान प्राप्त थाइल्याण्डका अदुलराच नामकुललाई २४–२२, ९–२१, २१–१९ ले पन्छाउँदै उपाधि उचालेका हुन् ।

विजयी पुरुष तथा महिला एकलतर्फ विजेताले नगद १८७५ युएस डलर र उपविजेताले ९५० डलरसहित मेडल, प्रमाण पत्र र ट्रफी प्राप्त गरे । यस्तै तेश्रोले ३६२.५० डलर, प्रमाण पत्र र मेडल प्राप्त गरे ।

महिला युगलतर्फ अष्ट्रेलियाका सेताना मापासा र ग्रोन्या सोमरभिल्ले उपाधि उचाले । प्रतियोगितामा पहिलो बरियता प्राप्त अष्ट्रेलियन जोडीले फाइनलमा चौथो स्थानका मनिषा के. र रुतापर्ना पान्डाको जोडीलाई २१–१०, १८–२१ र २१–११ ले पराजित गरे । त्यस्तै पुरुष युगलतर्फ आत्री मनु र रेड्डी बि. सुमिथको जोडीले भारतकै एम.आर. अर्जून र ध्रुव कपिलाको जोडीलाई २१–१९, २१–१५ ले पन्छाउँदै उपाधि उचाले ।

मिश्रीत युगलतर्फ थाइल्याण्डका सुपार्क जोमखो र सुपिसारा पाउसाम्प्रानको जोडीले कोरियाका ना सुङ्ग सिउङ्ग र किम मिन जीको जोडीलाई पराजित गर्दै उपाधि हात पारे । थाई जोडीले कोरियन जोडीलाई २१–१८, २१–१६ ले पराजित गरेका हुन् । विजयी पुरुष तथा महिला जोडी र मिश्रीत जोडीले नगद १ हजार ९ सय ७५ डलर, उपविजेताले ९ सय ५० डलर, तेश्रोले ३ सय ५० डलर प्राप्त गरे ।

विजयी खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश कुमार सिलवाल, सदस्य एकेन्द्र कुँवर, नेपाल लन टेनिस संघकी अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटिकी उपाध्यक्ष ज्योती राणालगायतले पुरस्कार वितरण गरेका थिए ।

पाँच दिन सम्म चलेको प्रतियोगितामा २१ राष्ट्रका १४९ खेलाडीहरुको सहभागिता रहेको थियो । पहिलोपटक नेपालले आयोजना गरेको च्यालेञ्जको पुरस्कार राशी २५ हजार डलर रहेको थियो ।