‘धर्मनिरपेरक्षता’कै कारण संविधान दीगो नहुने दाबी

‘धर्मनिरपेरक्षता’कै कारण संविधान दीगो नहुने दाबी


वैदिक सनातन हिन्दूराष्ट्र स्थापनाका निम्ति ‘मातृभुमिका लागि नेपाली’ अभियानद्वारा संसारव्यापी रूपमा शुरु गरिएको हस्ताक्षर अभियानअन्तर्गत शनिबार (३० कात्तिक)मा उक्त अभियानको धादिङ जिल्ला समितिद्वारा भव्य रूपमा ‘मेरो देश, मेरो हस्ताक्षर’ कार्यक्रम आरम्भ गरिएको छ ।

स्थानीय भद्रकाली गुरुकुलका चेलाहरूको स्वस्ती शान्ति वाचनबाट शुरु भएको कार्यक्रममा विश्व हिन्दु महासंघ नेपालका कार्यवाहक अध्यक्ष भरतराज पौडेलले विशेष अतिथिको रूपमा हस्ताक्षर सभालाई सम्बोधन गर्दै आमनेपालीलाई नेपालमा धर्मनिरपेक्षता मान्य नभएको बताए ।

जनताको अभिमतलाई लत्याएर लादिएको धर्मनिरपेरक्षता अस्वीकार्य रहेको तर्क गर्दै अभियन्ता पौडेलले दलीय भागण्डामा नेपाललाई हिन्दुराज्यबाट हटाएर धर्मनिरपेक्ष राज्य घोषणा गर्ने अधिकार दलहरूलाई कसैले नदिएको जिकिर गरे । मुलुकबाट संस्कृति हटे संस्कार हट्छ, संस्कार हटे धर्म हट्छ भन्दै उनले यस्तो विपरीत परिस्थितिमा नेपाली संस्कृति–संस्कार र धर्म बचाउन सबै लाग्नुपर्ने बताए । सनातनदेखि हिन्दुत्व जोडिएको मुलुकलाई धर्मनिरपेरक्ष राज्य घोषणा गरेर बनेको संविधान दीगो हुनै नसक्ने दाबी उनको थियो । पौडेलले गौ हत्या गर्नेदेखि लिएर हिन्दुको संस्कृतिमाथि दिन–प्रतिदिन प्रहार भइरहेको जानकारी दिँदै यस्तो विकृति–व्यभिचारको अन्त्य गर्नका लागि नेपाललाई हिन्दु राष्ट्र कायम गर्नैपर्ने उल्लेख गरे ।

मातृभूमिका लागि नेपाली अभियान धादिङका उपाध्यक्ष श्रवण कुमार त्रिपाठीको अध्यक्षतामा आयोजित सभामा अर्का अभियन्ता शिवप्रसाद पाण्डेले प्रजातन्त्रदेखि लोकतन्त्रका निम्ति लडेका नेपाली जनतालाई झुक्याएर ल्याइएको संविधानबाट धर्मनिरपेक्ष नहटाइएमा संविधान दीगो नहुने दाबी गरे । धर्मनिरपेक्ष राज्य घोषणा गरेपछि देश झनै अस्थिर अवस्थामा पुगेको भन्दै पाण्डेले हाम्रो संस्कृति, संस्कार र धर्म बचाउन सबै लाग्नुपर्नेमा जोड दिए ।

उपाध्यक्ष श्रवण त्रिपाठीले संविधानमा उल्लेख गरिएको धर्मनिरपेक्षता नहटाएमा संविधान स्वतः निष्प्रभावी तथा समाप्त हुने दाबी गरे । सदियौँदेखि सनातन धर्मसँगै हिन्दुत्व जोडिएको मुलुक नेपाललाई धर्मनिरपेक्ष घोषणा गर्दा करोडौँ हिन्दुहरूको मन दुःखेको उनको धारणा थियो ।

सभामा सञ्चारकर्मी सुशील थापाले पनि ओजिलो अभिव्यक्ति राखेका थिए । हिन्दू, किराँत, बौद्ध, शिख, जैन, बोन र नेपाली मुसलमानहरूले परापूर्वदेखि मान्दै आएका इस्लामलगायतको धर्म–संस्कृति संरक्षण गर्ने वैदिक सनातन हिन्दूराष्ट्र स्थापनाका निम्ति मातृभूमिका लागि नेपालीले शुरु गरेको हस्ताक्षर अभियानलाई सार्थक परिणाममा पु¥याउन सबै दिलोज्यानले लाग्नुपर्ने उनको धारणा थियो ।

ज्ञातव्य छ, स्वधर्म, स्वसंस्कृति, राष्ट्रियता, राष्ट्रिय एकता र जनताका दैनिक समस्या समाधानका निम्ति दबाब पैदा गर्न जनस्तरमा गठित नागरिक सङ्गठन ‘मातृभूमिका लागि नेपाली’ले कात्तिक ३० गतेदेखि संसारव्यापी हस्ताक्षर अभियान शुरु गरेको छ ।