गरिवको घर निर्माणमा सघाउन आए अमेरिकाबाट श्रमिक

गरिवको घर निर्माणमा सघाउन आए अमेरिकाबाट श्रमिक


■ हेमशंकर सिंह, राजविराज

सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिकामा गरिव तथा विपन्न वर्गको घर बनाउन अमेरिकाबाट श्रमिकहरु आएका छन् ।

वडा नम्बर ४ स्थिति कटाहा भेडियामा गरिव, असहाय, दलित र विपन्न बर्गका लागि निर्माणधीन ५० एकीकृत घर बनाउन अमेरिकन श्रमिकहरु मगंलबार निर्माण स्थलमा पुगेका हुन् ।

ह्याबिटेट फर ह्युम्यानिटी नेपाल, स्थानीय सरकार र महुली सामुदायिक विकास केन्द्रको संयुक्त लगानी निर्माणाधीन घर बनाउने कार्यमा सघाउन एक साताका लागि १६ जना अमेरिकी नागारिक आएको महुली सामुदायिक बिकास केन्द्रका निर्देशक प्रभु नारायण चौधरीले जानकारी दिए ।

गरिवको घर निर्माण गरिदिन विदेशी नागरिक आएपछि स्थानीयले भब्य स्वागत गरेका छन् । बिदेशी श्रमिकका स्वागतका लागि अग्निसाइर कृष्णासवन गाउँपालिकाका उपाध्यक्ष मिना चौधरी, वडा नम्बर ४ का अध्यक्ष तेज नारायण चौधरी, सहयोगी संस्थाका पदाधिकारीसहित स्थानीयहरुको उपस्थिति रहेको थियो ।

सामन्य परिचयपछि बिदेशी श्रमिकहरु निर्माण कार्यमा जुटेका थिए । उनीहरुलाई उपाध्यक्ष चौधरीले समेत सघाएका छ्न् ।

उक्त बस्ती निर्माणमा गाउँपालिकाले ७५ लाख, हयाबिटयाटबाट ५० लाख, महुली सामुदायिक बिकास केन्द्रले १५ लाख र जनश्रमदानबाट सहयोग उपलब्ध भएको उपभोक्ता समितिका अध्यक्ष समेत रहेको वडा नम्बर ४ का अध्यक्ष यादवले जानकारी दिए । गरिव तथा विपन्नका लागि निर्माण गरिएको सो सुरक्षित आवास आगामी वैशाखभित्र लक्षित समुदायलाई हस्तान्तरण गरिने महुली सामुदायिक विकास केन्द्रका अध्यक्ष रामलगन मण्डरले जानकारी दिए ।