माननीयज्यू ! राजनेता नबन्ने ?



■ मुक्तिनाथ भुसाल

अर्घाखाँची जिल्लाको नरपानी क्षेत्र धार्मिक तथा पर्यटकीय हिसाबले अत्यन्तै महत्वपूर्ण रहेको छ । यो पहाडमा दशानन् रावणले भगवान् शिवलाई ताण्डवनृत्यद्वारा खुशी बनाई शिवजस्तै शक्तिशाली र हजारौँ वर्ष आयुुुुको वरदान लिएका कारण यसलाई नर्चनाचल पर्वतले नामाकरण गरिएको धार्मिक ग्रन्थहरूमा उल्लेख छ । जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको सुपादेउरालीमा आउने हजारौँ भक्तजन नरपानीमा आएर यहाँको प्राकृतिक सौन्दर्यसँग रमाउने गरे पनि नरपानीवासीहरूको भित्री पिरलो बेग्लै रहेको छ । बुझिएअनुसार उनीहरूको सामूहिक पीडा समाधान गर्न सक्ने जिल्लामा एक मात्र साहसी नेता चेतनारायण आचार्य भएको र जिल्लाको एक नम्बर क्षेत्रबाट प्रदेश सभा सदस्य भएदेखि आफूहरूलाई बिर्सेकोे स्थानीय गुनासो छ । सङ्क्षेपमा भन्नुपर्दा सुपा, नरपानी र खाँचीकोटलाई गहिराइमा अध्ययन गर्ने हो भने सम्पूर्ण भूभागहरू देवतासँग जोडिएकाले यसलाई देवभूमिका रूपमा लिनुपर्ने हुन्छ ।

जिल्लाकै महत्वपूर्ण यी स्थानलाई ध्वस्त गराउने सुनियोजित योजनाअनुसार ग्लोबल टेन्डरमार्फत भारतीय कम्पनी डाइनेस्टीलाई ३० वर्षका लागि उत्खनन अनुमति राज्यले विगतमा प्रदान गरेको थियो । जसअनुसार ०६२ देखि उत्खनन शुरु भए पनि स्थानीय आन्दोलनको प्रभाव २०६८ देखि हालसम्म नरपानीमा उत्खनन बन्द रहेको छ । तत्कालीन श्री ५ को सरकार मन्त्रिपरिषद्को मिति २०६२/२/२५ मा भएको निर्णयले जम्मा ६८.३५ हेक्टर भूभाग उत्खननका लागि अनुमति दिएअनुसार सुपादेउराली मन्दिर र सीतखोलाको शिर अर्थात् खाँचीकोटको तिनपानेमा हालसम्म उत्खनन कार्य सुचारु रहेको छ ।

नर्चनाचल पर्वतको फेदीमा केही वर्षयता जिल्लास्थित धार्मिक युवा नेता नारायणप्रसाद खनालको सक्रियतामा ॐ श्रीकृष्ण गौशालाय सञ्चालन गरिएको छ । करिब डेढ सय स्थानीय जातका गाईलाई पालनपोषण गरिएको यो स्थानमा भाइटीकाको अघिल्लो दिन गाईलाई पूजासहित नुन खुवाउने कार्यक्रममा प्रदेश सभा सदस्य आचार्यसमेत आउने सुइँको पाएपछि अन्य नेता तथा कार्यकर्ताको भिड लागेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेता आचार्यले धार्मिक, सांस्कृतिक, सामाजिक र भौगोलिक दृष्टिले अत्यन्तै सुन्दर रहेको नरपानी क्षेत्रलाई पूर्वाधारको विस्तार गरी देशकै नमुना पर्यटकीय गन्तव्य बनाउने भन्दै गर्दा स्थानीय सहभागीले आँसु निकालेको कारुणिक दृश्य सायद नेता आचार्यलाई जानकारी नहुन सक्छ । प्रदेश सभा सदस्य आचार्यलाई आशालाग्दा नेताको रूपमा स्थानीयले लिनुको कारण विगतको समयमा उनले देखाएको त्याग हो । पवित्र देवभूमिलाई उत्खनन हुनबाट बचाउन नरपानीवासीले गरेको आन्दोलनमा जिल्लास्थित नेताहरूले आ–आफ्नै हैसियत प्रस्तुत गरेका भए पनि तत्कालीन नेकपा एमालेको जिल्ला अध्यक्ष रहेका आचार्यले उत्खनन सदाका लागि बन्द गरिनुपर्छ भन्ने मागसहित वामदेव गौतम गृहमन्त्री छँदा केपी शर्मा ओलीसमक्ष अध्यक्ष पदबाट राजीनामा दिएका थिए । आचार्यको उक्त निर्णयले कमाउमुखी धन्दामा लागेका जिल्लास्थित धेरै नेताका लागि दह्रिलो झापट बनेको थियो । यसरी धर्म, संस्कृति तथा जनताको भावनालाई साथ दिएबापत उनी आमनागरिकका बीचमा साहसी नेता कहलिनुको अलावा मृत्युलाई पराजय गरी प्रदेश सभा सदस्यमा भारी मतले विजयी बनिसकेका छन् र हाल उनी शक्तिशाली नेकपा पार्टीको जिल्ला अध्यक्षसमेत रहेका कारण अगाडिपछाडि घुम्नेहरूको ओइरो लागेको हुन सक्छ ।

आफ्नो अडानमा नझुक्ने आशा दिलाएका माननीय आचार्यले नरपानीलाई मुलुककै नमुना पर्यटकीय क्षेत्र बनाउन हृदयवाट चाहेका हुन् भने अब राज्यसत्ताको मोह र खुरापातीको सञ्जालबाट ब्युँझिन ढिलाइ गर्नुहुँदैन । जसका लागि सबैभन्दा पहिला राज्यले विगतमा गरेको उत्खननसम्बन्धी सम्झौता पूर्ण रूपमा बदर गराइदिएमा उनीबाट नरपानीवासीहरूका लागि सबैभन्दा ठूलो उपहार प्राप्त भएकोे इतिहासमा लेखिनेछ । यसैगरी खाँचीकोटको तिनपानेबाट उत्खनन गरिएका ढुङ्गाहरू जिल्लाबाहिर ढुवानीका लागि प्रयोग गरिएका टिपरहरूको आतङ्कले सडकमा गुड्नेहरू भयभित हुनुका साथै करोडौँ लगानीको सडक दयनीय अवस्थामा पुगेको छ । गोरुसिङ्गे–सन्धिखर्क सडक सुधारका लागि बर्सेनि जे–जस्ता राम्रा प्रयास भएका भए पनि ती सबै चुनढुङ्गा ओसारपसारका कारण बेकार बन्दै गएका छन् । सडकमा रहेका पुल तथा कजवेहरू कति बेला ड्यामेज भई दुर्घटना निम्त्याउने हुन् यकिन बताउन सक्ने स्थिति नहुनुको अलावा नरपानीदेखि पत्थरकोटसम्म यात्रा गर्नेहरू ढुक्क हुन सक्ने स्थिति छैन । यस्तो अवस्थामा नरपानीमा बाह्य पर्यटकहरू भित्रिनेभन्दा पनि कतै सुपादेउराली आउनेहरूको सङ्ख्यामा कमी हुने त होइन भन्ने विषयमा माननीय आचार्यको ध्यान जानु आवश्यक देखिन्छ ।

मुलुकमा नेकपाको दुईतिहाइ सरकार भएको र नेता आचार्य उच्च शक्तिमा रहेका कारण खाँचीकोटको तिनपानेमा उत्खनन जारी राख्नुपर्ने रहर वा बाध्यता हो भने पनि त्यहाँ ढुवानीका लागि प्रयोग गरिएका टिपरहरूको ट्राफिक व्यवस्थापनका लागि वैकल्पिक सडकको व्यवस्था गर्न सकेमा उनले हरेक जिल्लावासीको मनमस्तिष्कमा बास पाउनेछन् । प्राकृतिक सम्पदामाथिको जथाभावी दोहनबाट वातावरणमा हुने प्रदूषणले प्राकृतिक सन्तुलनलाई खलबल्याइदिन्छ र समाजमाथि त्यसको प्रतिकूल असर पर्दछ । पृथ्वीलाई भोगबन्दीमा पाउने अधिकार हामीलाई होला, तर नष्ट गर्ने अधिकार होइन । हामीले पाएको पुख्र्यौली नासोझैँ, यसलाई अझ उन्नत स्थितिमा हामीहरूले भावी पुस्ताहरूलाई हस्तान्तरण गर्नुपर्दछ । यो आचार्यजस्ता जनप्रतिनिधिले पनि बुझेकै हुनुपर्छ ।

महाभारत शृङ्खला क्याल्सियम कार्बाेनेट र म्याग्नेसियम कार्बोनेटबाट बनेको हुँदा क्याल्सियम कार्बाेनेट अर्थात् लाइमस्टोन सिमेन्टको लागि ९९ प्रतिशत मुख्य कच्चापदार्थ हो । मुलुकका व्युरोक्र्याट र राजनीतिज्ञले देशी तथा विदेशी व्यापारीलाई थोरै राजस्व र धेरै कमिसनको लालचमा लेकहरू बेचिसकेका र बेच्ने क्रम चलिरहेकाले महाभारत शृङ्खला खतरामा रहेको छ । उद्योग सञ्चालन हुनु आफैँमा नराम्रो कुरा नभए पनि फाइदा वा बेफाइदाको तुलना गर्नु आवश्यक देखिन्छ । एउटा महाभारत शृङ्खलाको समाप्ति सँगसँगै समग्र जिल्लावासीलाई कति फाइदा भएको छ, त्यसको लेखाजोखा गर्ने जिम्मेवारीलाई नेता आचार्यले अब ढिलाइ गर्नुहुँदैन । अधिकांश कम्युनिष्ट नेताहरू उत्खनन सुचारु हुनुपर्छ भनिरहेको सङ्घारमा विगतमा जस्तै आफ्नो माग पूरा गराउन प्रदेश सभा सदस्य आचार्यले आवश्यक परेमा सबै जिम्मेवारीबाट बाहिर आउन कन्जुस्याइँ गर्नुहुँदैन । यसो गर्नासाथ चितवनमा पत्रकार रवि लामिछानेका पछाडि जनता ओइरो लागेजस्तै माननीय आचार्यका पछाडि पनि जनताको भिड लाग्न गई यिनी एक लोकप्रिय राजनेता बन्न सक्ने सम्भावना देखिन्छ । जिल्लाको शान महाभारत शृङ्खला अर्थात् लेजर हिमालयलाई मरुभूमिमा रूपान्तरण गरी बनाइएको सिमेन्टको आयु सय वर्ष हुन्छ भने लेजर हिमालयको आयु कति नि ? यहाँ रहेका बहुमूल्य जडीबुटीहरूलाई सही सदुपयोग गर्न सके उत्खननबाट प्राप्त हुने नगन्य आम्दानीको दोब्बर अहिले पनि हुन सक्नेतर्फ सबै तह र तप्काहरू सचेत हुनु आवश्यक देखिन्छ ।

प्रतिक्रिया