दक्षिणी थाइल्यान्डमा विद्रोहीद्वारा १५ जना सर्वसाधारणको हत्या

दक्षिणी थाइल्यान्डमा विद्रोहीद्वारा १५ जना सर्वसाधारणको हत्या


दक्षिणी थाइल्यान्डमा सक्रिय शंकास्पद मुस्लिम विद्रोहीको आक्रमणबाट कम्तीमा १५ जनाको मृत्यु भएको थाई सेनाले जनाएको छ । थाइल्यान्डको दक्षिणी क्षेत्रमा विगत १५ वर्षदेखि रक्तपातपूर्ण संघर्ष भइरहेको छ ।

थाइल्यान्डको दक्षिणमा अवस्थित तीनवटा प्रान्तमा जारी विद्रोही आक्रमणमा हालसम्म सात हजारभन्दा बढी सर्वसाधारणको ज्यान गइसकेको छ । मलाया–मुस्लिम विद्रोहीहरूले बढी स्वायत्तताको माग राखी सशस्त्र आन्दोलन गरिरहेका छन् ।

यो क्षेत्रमा थाई सरकारले सैनिक कानुन लगाएको छ । यहाँ सैनिक र प्रहरीको बाक्लो उपस्थिति रहनुका साथै तालिमप्राप्त नागरिक स्वयंसेवी परिचालन गरिएको छ । स्थानीयवासी र अधिकारकर्मीहरूले सैनिक कानुनका कारण स्थानीयवासीले कठिनाइ भोग्नुपरेको बताउँदै आएका छन् ।

गत मंगलबार विद्रोहीले याला प्रान्तका दुईवटा जाँच चौकीमा आक्रमण गरेका थिए । सेनाका प्रवक्ता प्रमोट प्रोम–इनले आक्रमणका कारण १२ जनाको घटनास्थलमै र तीनजनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जानकारी दिए ।

आक्रमणकारीले एम–१६ राइफल र सटगनसमेत लुटेर लगेको जानकारी दिँदै उक्त क्षेत्रमा सैनिक परिचालन गरिएको र आक्रमणकारीको खोजी तीव्र बनाएको बताए ।

थाइल्यान्डका प्रधानमन्त्री प्रयुत चान–ओ–चाले आक्रमणकारीलाई न्यायको कठघरामा ल्याइने बताएको रक्षा मन्त्रालयका प्रवक्ता कोङचिप तान्त्राभानिचले उल्लेख गरे ।

मलेसियासँग सीमा जोडिएको यस क्षेत्रमा सक्रिय विद्रोहीले बौद्धमार्गी बहुल थाई सरकारविरुद्ध सशस्त्र संघर्ष गरेको वर्षौं भइसकेको छ । यो क्षेत्र एक सय वर्षभन्दा अघि थाइल्यान्डले अधीनस्थ गरेको थियो ।
रासस–एएफपी