‘बेल्ट एण्ड रोड’सँग जोडिएका मुलुकमा यस वर्ष चीनको लगानी १० अर्ब डलर

‘बेल्ट एण्ड रोड’सँग जोडिएका मुलुकमा यस वर्ष चीनको लगानी १० अर्ब डलर


चीनसँग ‘बेल्ट एण्ड रोड’ कार्यक्रमअन्तर्गत जोडिएका मुलुकहरूमा सन् २०१९ को शुरूदेखि अहिलेसम्म गैरवित्तीय लगानीका क्षेत्रमा १० अर्ब चार करोड अमेरिकी डलर खर्चिएको चीनको वाणिज्य मन्त्रालयले जनाएको छ ।

यो लगानी चीनको गैरनाफामूलक वैदेशिक लगानीका क्षेत्रमा भएको लगानीको १२.४ प्रतिशत हो भने भने गत वर्षको सोही (जनवरीदेखि अक्टोबरसम्म) भएको लगानीको तुलनामा ६ प्रतिशतले कमी हो । खासगरी सिङ्गापुर, भियतनाम, लाओस, इन्डोनेसिया, पाकिस्तान, संयुक्त अरब इमिरेट्स, थाइल्याण्ड, मलेसिया, कम्बोडिया र काजकस्तानमा उत्त लगानी भएको मन्त्रालयद्वारा दिइएको तथ्याङ्कमा उल्लेख छ ।

वैदेशिक आयोजनाका हकमा यस वर्षको शुरूका नौ महिनामा चिनियाँ उद्योगहरूले चार हजार ९०४ नयाँ करारमार्फत ८६ अर्ब आठ करोड अमेरिकी डलर ‘बेल्ट एण्ड रोड’ कार्यक्रममा जोडिएका मुलुकहरूमा लगानी गर्ने सम्झौता गरेका छन् । यो लगानी रकम गत वर्षको सोही अवधिको तुलनामा १८.४ प्रतिशतले बढी रहेको सिन्ह्वाले जनाएको छ ।

नयाँ करार भएका कार्यक्रमको मूल्य चीनको वैदेशिक कार्यक्रम करारका लागि भएका कूल लगानीको ५९.२ प्रतिशत रहेको देखिएको छ । ‘बेल्ट एण्ड रोड’ कार्यक्रममा जोडिएका मुलुकहरूसँग चीनको वैदेशिक कार्यक्रमका लागि करार भई सम्पन्न भएका आयोजनाको कूल लगानी ५५ अर्ब ८९ करोड अमेरिकी डलर रहेको र यो गत वर्षको अक्टोबरसम्मको तुलनामा ४.४ प्रतिशतले कमी हो । करार भई सम्पन्न भएका आयोजनाको कूल प्रतिशत ५४.७ प्रतिशत रहेको छ ।