उम्मेदवारको नाम टुङ्गो लगाउन शुक्रबार काङ्ग्रेसको बैठक

उम्मेदवारको नाम टुङ्गो लगाउन शुक्रबार काङ्ग्रेसको बैठक


आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारको नाम टुङ्गो लगाउन नेपाली काङ्ग्रेसले शुक्रबार (१५ कात्तिक) केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ ।

शुक्रबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठक उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारको नाम टुङ्गो लगाउने विषयमा केन्द्रित हुने बताइएको छ ।

कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएअनुसार बैठकमा समसामयिक राजनीति, उपनिर्वाचनमा पार्टीको तयारी, पार्टीका केन्द्रीय विभाग गठनलगायत विषयमा समेत छलफल हुने छ ।

पार्टीको संसदीय समिति गठन नभएकाले केन्द्रीय समिति बैठकले उम्मेदवार टुङ्गो लगाउने सम्बन्धमा पदाधिकारीलाई अधिकार प्रत्यायोजन गर्ने बुझिएको छ । यसपछि कात्तिक १७ गते बस्ने केन्द्रीय समितिको बैठकले पार्टीका तर्फबाट उम्मेदवारको नाम टुङ्गो लगाउने पार्टी कार्यालयले जनाएको छ ।

यसअघि आज पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकमा उपनिर्वाचन हुने जिल्ला, प्रदेशसभा निर्वाचन क्षेत्र र स्थानीय तहबाट पार्टीका सम्बन्धित निकायले सिफारिस गरी पठाएका नामावलीमाथि छलफल भएको थियो । पदाधिकारी बैठकमा उपनिर्वाचन हुने सम्बन्धित प्रदेशमा पार्टीको राष्ट्रिय जागरण अभियानमा खटिएका केन्द्रीय प्रतिनिधिले सम्बन्धित प्रदेशमा पार्टीको वस्तुस्थितिका बारेमा जानकारी गराएका मुख्यसचिव पौडेलले बताए ।

उपनिर्वाचन हुने जिल्ला, प्रदेशसभा निर्वाचन क्षेत्र र स्थानीय तहबाट पार्टीका सम्बन्धित सबै निकायले उम्मेदवारको नाम सिफारिस गरिसकेको पार्टी कार्यालयले जनाएको छ । ३७ जिल्लाका विभिन्न रिक्त पदमध्ये प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन तथा स्थानीय तहका प्रमुख एक, अध्यक्ष तीन, उपाध्यक्ष एक र वडाध्यक्ष ४३ गरी जम्मा ५२ पदका लागि मङ्सिर १४ गते उपनिर्वाचन हुँदैछ ।