जापानमा निओगुरी र बुआलोई आँधीको त्रास

जापानमा निओगुरी र बुआलोई आँधीको त्रास


■ एस क्षेत्री, टोकियो (जापान)

जापानका मौसम अधिकारीहरुले विनासकारी हागीबिस ताईफुले विपत्ति निम्त्याएको क्षेत्रहरुमा असर पार्ने गरी निओगुरी र बुआलोई नाम गरेको दुईवटा ताईफु आउँदै गरेको जनाएका छन् ।

मंगलबार (५ कात्तिक) मध्यान्हबाट बुधबार साँझसम्म राजधानी टोकियो र आसपासको क्षेत्रमा भारी वर्षा गराउने निओगुरी ताईफुले बिहीबार जापानी भूमि पार गर्नेछ ।

सोमबार मध्यरातबाटै वर्षा गराउने ताईफुले सिजुओखामा मंगलबार असर पार्दै मध्य टोकियो प्रवेश गर्नेछ । निओगुरी आँधीले मंगलबार रातीबाट बुधबार साँझसम्म मध्य टोकियोलाई असर गर्नेछ ।

जापानको मौसम एजेन्सीका अधिकारीहरुका अनुसार निओगुरी ताईफुले शिजुओखा, योकोहामा, खावासाकी, चिबा, टोकियो, साईतामा देखी मितो क्षेत्रसम्म भारी वर्षा गराउनेछ ।

गत साता आएको विनासकारी हागीबिस ताईफुजस्तो शक्तिशाली नभएपनि तिबग्रगतिको हावाहुरीसँगै यसले भारी वर्षा गराउने मौसम अधिकारीहरुले बताएका छन् ।

केही क्षेत्रमा हवाई र रेल सेवासहित सडक यातायातसमेत प्रभावित पार्ने हुँदा यसअघि ताईफुले क्षति पारेको क्षेत्रमा थप नोक्सान पुर्याउनेसक्ने भएकाले सतर्कता अपनाउन मौसम अधिकारीहरुले सुझाव दिएका छन् ।

निओगुरी सकिन नपाउँदै बुआलोई ताईफुको मार

निओगुरी ताईफुको तीव्र गतिको हावासहित मुसलबारे वर्षाले जनजीवन प्रभावित बनाएर सामान्य अवस्थामा फर्कँदै गर्दा अर्को ताईफु बुआलोई जापानी भूमितर्फ अघि बढ्नेछ ।

जापानको मौसम एजेन्सी मेटोरोलोजिकल एजेन्सीका अधिकारीहरुका अनुसार शक्तिशाली आँधी बुआलोईले बिहीबार ओगावासारा द्विपमा असर पार्नेछ ।

शुक्रबार रातीबाट कान्तो क्षेत्रतर्फ अघि बढ्ने उक्त आँधीको बाटो हेर्दा मध्य जापानको कान्तो क्षेत्रमा भारी वर्षासहित सामान्य हावाको बेगले मात्र असर पार्ने अनुमान मौसम अधिकारीहरुले गरेका छन् ।

स्मरणीय छ अघिल्लो साता मध्य जापानलाई गम्भीर असर पारेको हागीबिस ताईफुबाट अहिलेसम्म ८० जनाको मृत्यु भएको जापानी अधिकारीहरुले पुष्टि गरेका छन् ।

अझै १२ जना हराइरहेका र उनीहरु जिवितै भेटिने सम्भावना न्यून रहेको बताइएको छ ।