चिलीमा सरकारविरोधी प्रदर्शनमा १० को मृत्यु

चिलीमा सरकारविरोधी प्रदर्शनमा १० को मृत्यु


चिलीमा जारी सरकारविरोधी प्रदर्शनका क्रममा राजधानी सान्टियागोमा १० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । कानुन व्यवस्थामा चुनौती देखिएसँगै सरकारले २४ घन्टे निषेधाज्ञा (कर्फ्यु) आदेश जारी गरेको छ ।

राजधानी सान्टियागोको एक सुपरमार्केटमा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच भएको हिंसात्मक झडपका कारण तीनजनाको मृत्यु भएपछि निषेधाज्ञा लगाइएको छ ।

मेट्रोको भाडा वृद्धिको विरोधबाट शुरु भएको प्रदर्शन हाल चिलीमा बढेको असमानता र दैनिक जीवन कष्टकर हुँदै गएको विरोधमा केन्द्रित भएको छ ।

प्रहरीले हालसम्म लुटपाट र अरू गम्भीर अपराधको आरोपमा सात सयभन्दा बढी प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ ।

माध्यमिक तहमा पढ्ने विद्यार्थीले राष्ट्रपति सेबास्टियन पिनेरालाई सार्वजनिक यातायातको भाडा वृद्धि फिर्ता लिन आग्रह गर्दै विरोध प्रदर्शन शुरु गरेका थिए । तर, यो प्रदर्शनले पछिल्ला दिनमा उग्ररूप लिएको छ र प्रदर्शन देशव्यापी हुन थालेको छ ।

राजधानी सान्टियागोमा कम्तीमा पाँचवटा भूमिगत स्टेसन र बसहरूमा आगजनी गरिएको छ भने उग्र प्रदर्शनकारीले सुपरमार्केट र फार्मेसी पसलमा लुटपाट गरेका छन् । धेरैवटा समूहले सोमबारका लागि राष्ट्रव्यापी आमहडताल आह्वान गरेका छन् ।

राष्ट्रपति पिनेराले शनिबार सवारीसाधनको भाडा वृद्धि फिर्ता लिने घोषणा गरेपनि प्रदर्शनहरू रोकिएका छैनन् । सन् १९९० मा चिलीमा लोकतन्त्रको पुनर्वहाली भएपश्चात् सरकारको विरोधमा यो सबैभन्दा ठूलो हिंसात्मक प्रदर्शन भएको हो ।