५ लाख ५० हजार ‘अपराधी’लाई जापान सरकारले माफी दिने

५ लाख ५० हजार ‘अपराधी’लाई जापान सरकारले माफी दिने


■ एस क्षेत्री, टोकियो

जापान सरकारले ५ लाख भन्दा धेरै अपराधीहरुलाई माफी दिने भएको छ । सरकारले सम्राट नारुहितोको राज्याभिषेक समारोहको अवसर पारेर ५ लाख ५० हजार अपराधीहरुलाई माफी दिने घोषणा गरेको हो ।

यसरी माफी पाउनेहरुमा कम्तीमा पनि तीन वर्षअघि सा–साना अपराधमा दोषी पाइएकाहरु भएका बताइएको छ । यसले राष्ट्रिय लाइन्सेन्स उल्लंघन गर्नेहरुमाथिको प्रतिबन्ध स्थायी रुपमा हटाउने र नागरिक अधिकार पुनःस्थापित गर्ने छ । जेल सजाय पाएका र कठोर सजाय पाएकाहरुका लागि भने माफी दिइने छैन । तिनलाई न आममाफी दिइनेछ न त सजाय नै घटाइनेछ ।

यसअघि यस्तो माफी सन् १९९३ मा सम्राटको विवाहको बेलामा दिइएको थियो । यसपटक दिन थालिएको माफी सीमित र यसअघिको तुलनामा सानो भएको सरकारी भनाई छ ।

सन् १९८९ मा सम्राट हिरोहितो मृत्यु यता १ करोडभन्दा धेरै मानिसहरुले माफी पाएका छन् । सन् १९९० मा पूर्वसम्राट अकिहितोको राज्यारोहणको बेलामा २५ लाखलाई माफी दिइएको थियो । यसपटक माफी दिन थालिएको ५ लाख ५० हजारमध्ये ६५ दशमलव २ प्रतिशत सडक नियम उल्लंघन गर्नेहरु छन् ।

सडक दुर्घटनामा मृत्यु वा चोटपटक गराएकाहरुको संख्या भने १७ दशमलव ४ प्रतिशत छ । त्यस्तैगरी, अक्रमण र चोटपटक गराउनेको संख्या ३ दशमलव ३ प्रतिशत छ भने चोरीका आरोप लागेको संख्या २ दशमलव ६ प्रतिशत छ ।