नेपाली सेनाद्वारा प्रधानसेनापतिसहित तीन जना सम्मानित

नेपाली सेनाद्वारा प्रधानसेनापतिसहित तीन जना सम्मानित


नेपाली सेनाले तीन जना विशिष्ट व्यक्तित्वलाई ‘हल अफ फेम’ उपाधिबाट सम्मानित गरेको छ । नेपाली सेनाको आर्मी कमान्ड एन्ड स्टाफ कलेज शिवपुरीमा सञ्चालित कमान्ड तालीम पूरा गरी सुरक्षा निकायको उच्च नेतृत्वमा पुग्न सफल हुनुभएका व्यक्तित्वलाई पहिलो पटक सो उपाधिले सम्मानित गरिएको हो ।

यसरी सम्मानित हुनुहुनेमा प्रधानसेनापति पूर्णचन्द्र थापा, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल र सोही बलका पूर्वमहानिरीक्षक शैलेन्द्र श्रेष्ठ हुनुहुन्छ । स्वदेशभित्र नै उच्च कमाण्ड तालीम पूरा गरी राष्ट्रका लागि उत्कृष्ट सेवा पुऱ्याउँदै सुरक्षा निकायको उच्च नेतृत्वमा पुग्न सफल व्यक्तित्वलाई ‘हल अफ फेम’बाट सम्मान गर्ने प्रचलन रहेको छ ।

आफ्नै स्टाफ कलेजबाट कमान्ड तालीम लिई प्रधानसेनापति पदमा पुग्नु सफल हुुनुभएका प्रधानसेनापति थापा पहिलो प्रधानसेनापति हुुनुहुन्छ । विशेष गरी सेनाभित्र ‘कमान्ड तालीम’लाई विशेष महत्वका रूपमा लिइन्छ । कमान्ड तालीम पूरा भएपछि मात्र वृत्ति विकासका थप ढोकाहरू खोलिने गर्दछ ।

पूर्व प्रधानसेनापति राजेन्द्र क्षत्रीले अमेरिकाबाट कमान्ड तालीम लिनुभएको थियो । शिवपुरीमा रहेको सो कमान्ड कलेज विश्वको उत्कृष्ट तालीम केन्द्रभित्र पर्दछ । सन् १९९२ मा स्थापना भएको सो कलेजमा हाल २६औँ व्याजको कमान्ड तालीम जारी रहेको छ । कमान्ड तालीमका साथमा पछिल्लो सयम कलेजले सेना, सुरक्षा र सामरिक महत्वका विषयमा अनुसन्धान तथा तालीम पनि सञ्चालन गर्दै आएको छ ।

साथै सोही कलेजबाट कमान्ड तालीम लिई सशस्त्र प्रहरी बलको महानिरीक्षक पदमा खनाल र श्रेष्ठले पुग्नुभएको छ । महानिरीक्षक खनाल र पूर्वमहानिरीक्षक श्रेष्ठले आफ्नो सेवा नेपाली सेनाको सेकेन्ड लेफ्निटेन्टबाट शुरुआत गरीपछि सशस्त्र प्रहरी बलमा जानुभएको थियो ।

प्रधानसेनापति थापा र पूर्वमहानिरीक्षक श्रेष्ठले सो कलेजको चौथो व्याँच तथा महानिरीक्षक खनालले १३औँ व्याचमा कमान्ड तालीम पूरा गर्नुभएको थियो । कलेजद्वारा शुक्रबार शिवपुरीमा आयोजित कार्यक्रमका ती विशिष्ट व्यक्तित्वलाई कलेजका शिक्षाध्यक्ष एवं उपरथी ईश्वर हमालले सो सम्मान तथा कलेजबाट प्रदान गरिने प्रमाणपत्र समेत प्रदान गर्नुभयो ।

सो अवसरमा प्रधानसेनापति थापाले आगामी दिनमा आर्मी कमान्ड एन्ड स्टाफ कलेजको तालीमलाई समयानुकूल बनाउँदै जाने जानकारी दिँदै आफूले कलेजबाट तत्कालीन समयमा तालीम लिने अवसर पाएकोमा खुसी व्यक्त गर्नुभयो । सो अवसरमा उहाँले कलेज परिसरमा स्थापना गरिएको तालीमे सैनिकको मूर्ती अनावरण समेत गर्नुभएको थियो ।

सशस्त्र प्रहरी बलका महानिरीक्षक खनाल र पूर्वमहानिरीक्षक श्रेष्ठले आफ्नो जीवनमा व्यावसायिक र दक्ष सुरक्षाकर्मी बनाउन तालीमले कोशेढुङ्गाको रूपमा काम गरेको स्मरण गर्दै सिकेका सीप देशका लागि उपयोग भएको बताउनुभयो । शिक्षाध्यक्ष हमालले कलेजको गतिविधिका बारेमा जानकारी दिँदै विशिष्ट व्यक्तित्वलाई हल अफ फेमबाट सम्मानित गर्नु कलेजका लागि गौरवको विषय रहेको बताउनुभएको थियो ।