जेलबाट छुटेका कैदीझैँ एनआरएन प्रतिनिधि !



■ अनिलभक्त खरेल

प्रधानमन्त्री केपी शर्मा ओलीले एकताका भनेका थिए– नेपालीले चान्स पायो भने गर्छ ! प्रधानमन्त्रीको यो अभिव्यक्ति विदेशमा बसेका नेपालीहरूले जन्मभुमिमा आयोजित एनआरएन सम्मेलनमार्फत पुष्टि गरिदिए ।

विदेशमा बस्दा कडा अनुसाशनमा बस्नु परेकाहरू नेपाल जाँदा जेलबाट भर्खर छुटेका कैदीझैँ देखापरे र त्यस्तै व्यहोरा दर्शाए । उनीहरू मातृभुमिको भौतिक सम्पत्ति तोडफेड गर्नेदेखि गुण्डागर्दीसम्म उत्रिए जसले गर्दा विदेशमा बस्ने ८० लाख नेपाली लज्जित हुनु परेको छ ।

आफुहरू विदेशमा बस्दा विदेशको उदाहरण दिँदै नेपालभित्रको बेथिति, अनुसाशसनहीनता, अराजकता, अन्याय, अत्याचार, भ्रष्टाचारबारे सामाजिक सञ्जालमार्फत चर्को आलोचना गर्नेहरूले विदेशमा बसेरचाहिँ के सिकेछन् भन्ने कुरा एनआरएनको नवौँ सम्मेलनमा विभिन्न देशबाट नेपाल गएका प्रतिनिधहरूले देखाएको तमासा लाजमर्दो, अमर्यादित र निन्दनीय छ । प्रवासमा बस्ने एक नेपालीको नाताले पङ्क्तिकार यसको घोर भत्र्सना गर्दछ ।

यस घटनाले कुकुरको पुच्छर १२ बर्ष ढुङ्ग्रोमा हाले पनि बाङ्गाको बाङ्गै भनेझैँ विदेशमा जति वर्ष बसेपनि नेपालीहरूको बानी व्यहोरा जस्ताको तस्तै देखायो । हैन भने यही बेलामा आफुसँग भएका बौद्धिक योग्यता, सीप, दक्षता, क्षमता देशहितको लागि किन प्रस्तुत गर्न सकेनन् चिन्ताको विषय छ । किन आर्थिक सहयोग गर्न सकेनन् विपन्न परिवारलाई ? सोचनीय छ । के यसैको लागि नेपाल छनौट गरिएको हो सम्म्ेलनको लागि ? जाबो एउटा विद्युतीय भोटिङ मेसिनसमेत गतिलो व्यवस्था गर्न नसक्ने एनआरएनले के चाहिँ गर्ला, चिन्ताको विषय छ ।

जातीको नाममा, भाषीको नाममा, जिल्लावासीको नाममा, पार्टी विचारधारको नाममा मात्र नभई पछिल्लो समयमा त एउटै थरको नाममा समेत संस्था खोलिन थालेका छन् । तर विडम्बना ! सबै नेपाली अटाउने संगठन अझसम्म खोलिएका छैनन् ।

हुन त पदबिना भोक, प्यास, निन्द्रा समेत नलाग्ने केही नेपालीहरू विदेशमा पहिलो पाइला टेक्नेवित्तिकै संघ–संगठन खोल्नतिर लाग्छन् । २–३ घर नै किन नहोस् उनीहरू एउटा न एउटा नाम दिएर संस्था खोलिहाल्छन् । जातीको नाममा, भाषीको नाममा, जिल्लावासीको नाममा, पार्टी विचारधारको नाममा मात्र नभई पछिल्लो समयमा त एउटै थरको नाममा समेत संस्था खोलिन थालेका छन् । तर विडम्बना ! सबै नेपाली अटाउने संगठन अझसम्म खोलिएका छैनन् ।

१६ वर्ष अगाडि स्थापना भएको एनआरएनचाहिँ विगतमा हो कि जस्तो थियो तर अहिले आएर त्यो पनि भ्रम रहेछ । राजनीतिक आस्था भएकाहरूले एनआरएनभित्र उनीहरूकै राजनीतिक आस्था लाद्न खाजेपछि आम गैरआावासीय नेपालीहरूमा वितृष्णा जाग्दैछ । यसरी राजनीतिक आस्था भएकाहरूले उनीहरूकै राजनीतिक आस्था लाद्न खोजेपछि के फरक रह्यो र कांग्रसको जनसम्पर्क समिति, कम्युनिष्टको प्रवासी नेपाली मञ्च तथा एनआरएनमा ? विदेशमा आएको लामो समय भएपनि नेपालको नशाबाट नउत्रिएकाहरूले आफ्नो श्रमलाई ढाकछोप गर्दै नेपालमा झैँ आफूलाई पत्रकार, कलाकार, साहित्यकार, पार्टीको पदाधिकारी सम्झिएर एनआरएनमा सक्रिय भएपछि एनआरएन यस्तो अवस्थामा आएको हो भन्दा अत्युक्ति नहोला ।

यसरी राजनीतिक पार्टीका झुण्डहरू बसेर राजनीतिक गर्ने थलो बनाएपछि एनआरएनप्रति सबैको वितृष्णा जाग्नु त स्वभाविक नै हो । कतै त्यही तत्वहरूले एनआरएनलाई मागीखाने भाँडो त बनाइरहेका छैनन् भन्ने अहिले ठुलो प्रश्न चिन्ह खडा भएको छ एनआरएनमा लाग्नेहरूका लागि ? यसरी आप्mनो हैसियत र क्षमता भुलेर हावा तालमा नेपालका राजनीतिक पार्टीका पछाडि लागेर सपनाको महल बनाउन तल्लिन एनआरएनप्रति विदेशमा बस्ने आम नेपालीहरूको खास चासो छैन ।

एनआरएनप्रति विदेशमा बस्ने नेपालीहरूको मात्र हैन कि नेपालमा रहेका नेपालीहरू र सरकारले पनि चासो दिएका छैनन्, जुन पुष्टि समेत भैसकेको छ । यदि चासो दिएको हुन्थ्यो भने चिनियाँ राष्ट्रपति आउँदा बनाइएका तीनदिने विकासलाई १० दिने बनाउन सक्थ्यो । चिनियाँ राष्ट्रपतिको विदाइसँगै सडकका दायाँबायाँ रहेका सजिसजावट हटाइने थिएनन् । राष्ट्रपतिले कार्यक्रम उद्घाटन गर्नु मात्रै ठुलो उपलब्धि हैन । आफ्ना घरका पाहुना आउँदा स्वागत गर्न कन्जुस्याइँ गर्नेहरूले भोलि भिजिट नेपाल २०२० कसरी सफल पार्लान्– त्यो पनि चिन्ताको विषय भएको छ । अस्तु ।

हाल : भर्जिनिया (युएस)

प्रतिक्रिया