टर्कीले उत्तरपूर्वी सिरियाको कुर्द नियणन्त्रित क्षेत्रहरूमा गरेको आक्रमणको कारण तीन लाखभन्दा बढी मानिस विस्थापित भएका मानवअधिकारवादी संस्थाले बिहीबार जानकारी दिएको छ ।
मानवअधिकारवादी संस्था ‘सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स’का प्रमुख रामी अब्देल रहमानले यो आक्रमण सुरु भएदेखि हालसम्म तीन लाखभन्दा बढी सर्वसाधारण विस्थापित भइसकेका बताए । बाध्य भएर विस्थापित हुने व्यक्तिको संख्या अझै बढ्ने सक्ने पनि उनको भनाइ छ ।
विस्थापितले आफन्तहरूसँग सुरक्षित क्षेत्रमा सर्न खोजेको भए तापनि कोही बगैँचामा सुतिरहेका थिए भने कोही आपतकालीन शरणस्थलमा पुगेका अब्देल रहमानले बताए ।
उत्तर, उत्तरपूर्वी सिरियाको कुर्दिस समर्थकहरूले नियन्त्रण गरिरहेको क्षेत्रहरूमा गत अक्टोबर ९ बाट हमला शुरु भएको थियो । उत्तरपूर्वी सिरियाबाट अमेरिकी सेना फर्काउने संयुक्त राज्य अमेरिकाको निर्णयपछि टर्कीले हवाई र स्थलगत आक्रमण शुरु गरेको थियो ।
उत्तरपूर्वी सिरियाको कुर्दिस लडाकुको नियन्त्रणमा रहेको यस इलाकाबाट राष्ट्रपति डोनाल्ड ट्रम्पले आधिकारिक रूपमा अमेरिकी सहयोग रोकेर असाधारण कदम चालेको भन्दै आलोचना भइरहेको छ ।
रासस–एएफपी
प्रतिक्रिया