अमेरिकी युद्धविराम प्रस्ताव टर्कीद्वारा अस्वीकार

अमेरिकी युद्धविराम प्रस्ताव टर्कीद्वारा अस्वीकार


उत्तरी सिरियामा युद्धविरामका लागि अमेरिकाले गरेको आग्रहलाई टर्कीका राष्ट्रपति रिसेप तायिप एर्डोगानले अस्वीकार गरेको टर्कीको सञ्चारमाध्यमले बुधबार जानकारी दिएको छ ।

अमेरिकी उपराष्ट्रपति माइक पेन्स र विदेशमन्त्री माइक पोम्पेओले युद्ध रोक्ने प्रयास गर्न भन्दै टर्की जाने तयारी गरिरहेको अवस्थामा एर्डोगानको त्यस्तो भनाइ आएको हो । सिरियाली सेनाले उत्तरी सिरियाको मन्बिज शहरमा प्रवेश गर्नु ‘धेरै नकारात्मक’ नभएको, तर सो क्षेत्रबाट सिरियाली कुर्द लडाकुहरूलाई हटाइने सकारात्मक भएको एर्डोगानले बताएका छन् ।

अमेरिकाले आफूहरूलाई युद्धविराम घोषणा गर्न भने तापनि आफूहरूले कहिल्यै पनि युद्धविराम घोषणा नगर्ने अजरबैजानबाट फर्किएका एर्डोगानले पत्रकारहरूलाई भनेको हुरिएट दैनिकले प्रकाशित गरेको छ ।

पेन्सले बिहीबार एर्डोगानलाई भेट गर्ने, अमेरिकाद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ । कुनै समाधान नहुन्जेलसम्म टर्कीमा ‘आर्थिक प्रतिबन्ध लगाइने’ ट्रम्पको प्रतिबद्धता दोहोऱ्याइने पनि बताइएको छ । अमेरिकाले आफूहरूले सञ्चालन गरेको कुर्दविरुद्धको कारबाही रोक्न दबाब दिइरहेको, तर आफूहरूको स्पष्ट लक्ष्य रहेको एर्डोगानले बताएका छन् । अमेरिकी प्रतिबन्धको विषयको कुनै चिन्ता नभएको उनले बताए ।

टर्कीका नेता एर्डोगानले सिरियाली सेनाले मान्बिजलाई नियन्त्रणमा राख्नु भनेको ठूलो समस्या नभएको पनि बताएको सो समाचारमा जनाइएको छ । सिरियाली कुर्द लडाकुहरूविरुद्धको आफ्नो घातक आक्रमणलाई अन्त्य गर्न माग गर्दै संयुक्त राज्य अमेरिकाले मंगलबार टर्कीमाथि आर्थिक प्रतिबन्धहरू लगाएको थियो । उत्तरपूर्वी सिरियाबाट अमेरिकी सेना फर्काउने संयुक्त राज्य अमेरिकी निर्णयपछि टर्कीले हवाई र स्थलगत आक्रमण शुरु गरेको थियो ।

उत्तरपूर्वी सिरियाको कुर्दिस लडाकुको नियन्त्रणमा रहेको यस इलाकाबाट राष्ट्रपति डोनाल्ड ट्रम्पले आधिकारिक रूपमा अमेरिकी सहयोग रोकेर असाधारण कदम चालेको भन्दै आलोचना भइरहेको छ ।

अमेरिकाले टर्कीका दुईवटा मन्त्रालय र तीन वरिष्ठ अधिकारीहरूमाथि प्रतिबन्ध लगाएको छ । अमेरिकाले स्टिलमा कर बढाउने र व्यापार सम्झौतासम्बन्धी वार्ताहरूसमेत रोकेको जनाएको छ । टर्कीले केही यताबाट उत्तर र उत्तरपूर्वी सिरियामा गरेको आक्रमणपछि करिब एक लाख मानिस विस्थापित भएका छन् । ‘जबसम्म टर्कीले युद्धविराम गर्दैन र यो विषयलाई समाधान गर्न दीर्घकालीन उपायबारे छलफल गर्न सहमत हुँदैन तबसम्म आज घोषणा भएका प्रतिबन्धहरू अझ कडा हुँदै जानेछन्,’ ह्वाइटहाउसमा बोल्दै पेन्सले बताए ।

टर्कीको आक्रमणपछि पूर्वी सिरियामा कुर्दिस विद्रोहीसँगको सम्झौतापछि सिरियाली सेना सीमाक्षेत्रमा पुगेको छ । सेनाको प्रवेशपछि टर्की र सिरियाली सेनाबीच संघर्ष हुन सक्ने आशंका गरिएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले एउटा विवादास्पद कदमका रूपमा उत्तरी सिरियाबाट एक हजार अमेरिकी सैनिक फिर्ता गर्ने निर्णय गरेको केही दिनपछि नै टर्कीले आक्रमण थालेको थियो ।

टर्कीका राष्ट्रपति रिसेप तयिप एर्डोगानले सिरियाली भूमिमा आक्रमण गर्नुको मुख्य उद्देश्य नै सुरक्षित इलाका निर्माण गर्नु मात्र रहेको बताएका छन् । उनले यो क्षेत्र सिरियाभित्र करिब ३० देखि ३५ किलोमिटरमा मात्र केन्द्रित हुने जानकारी दिए । मानवअधिकारका लागि सिरियाली अब्जरभेटरीले टर्कीको आक्रमणबाट आइतबार मात्र कम्तीमा २६ जना सर्वसाधारणको मृत्यु भएको बताएको छ । हालसम्म टर्कीको कारबाहीबाट ६० जनाभन्दा बढीको मृत्यु भइसकेको छ ।

रासस–एएफपी