ओमानसँग नेपालको लज्जास्पद पराजय

ओमानसँग नेपालको लज्जास्पद पराजय


■ आरके श्रीवास्तव, ओमान

ओमानमा चलिरहेको टि-२० सिरिजमा ओमानसँग नेपाल ६ विकेटले पराजित भएको छ । राजधानी मस्कटको ओमान क्रिकेट एकेडेमीको ग्राउन्डमा ओमानले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको थियोे । ब्याटिङ गर्न उत्रेको नेपाल ११ ओभर खेल्दै ६४ रनमा अलआउट भयो ।

पाँच राष्ट्र सम्मिलित २०–२० सिरिजमा नेपालले ओमानविरूद्व निकै खराब ब्याटिङ गरेको थियो । नेपालका लागि कप्तान पारस खड्काले ५, आरिफ शेखले २०, दीपेन्द्र सिंह ऐरीले ११ रन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकसमेत जोड्न सकेनन् । ओमानका लागि बलिङ गरेका आमिर कलिमले ४ ओभरमा १५ रन खर्चेर ५ विकेट लिएका थिए । जवाफी ब्याटिङमा उत्रेको ओमानले ११ ओभर ५ बलमा मा ४ विकेटको क्षतिमा विजयी लक्ष्य प्राप्त गरेको थियो ।

नेपालको तर्फबाट सन्दिप लामिछानेले १, सोमपाल कामीले १ र करण केसीले २ विकेट लिएका थिए भने ओमानको तर्फबाट सुरज कुमार एक्लैले ४२ रन बनाएका थिए । स्मरण रहोस्, नेपालले यसअघिको खेलमा हङकङ र नेदरल्यान्ड दुईटै टिमलाई चार चार विकेटले हराउन सफल भएको थियो ।

बुधबार भएको खेलमा नेपाललाई आयरल्याण्ड विरुद्ध १३ रनको हारको सामना गर्नुपरेको थियो । सिरिजमा आयोजक राष्ट्र ओमान, नेपाल, नेदरल्यान्ड, आयरलैण्ड र हङकङले प्रतिस्पर्धा गरेका थिए । जितको आशमा धेरै संख्यामा पुगेका नेपाली समर्थकहरू निराश भएर फर्किएका थिए ।

सिरिजमा सबै खेल जितेको ओमान तालिकाको शीर्ष स्थानमा रहेको छ । आयरल्यान्ड ६ अंकका साथ दोस्रो स्थामा रहेको छ । नेपालले ४ खेलमध्ये २ खेल मात्रै जितेर ४ अंकसहित तेस्रो स्थान हासिल गरेको छ । आजको खेलसँगै पाँच देश सहभागी टि-२० प्रतियोगिता टुंगिएको छ ।