पोर्चुगलमा कृषि मजदुरले किन पाउँदैनन् पारिश्रमिक ?

पोर्चुगलमा कृषि मजदुरले किन पाउँदैनन् पारिश्रमिक ?


यूरोपियन मुलुक पोर्चुगल नेपाललगायत अन्य मुलुकका नागरिकहरुको रोजाईमा छ । राम्रो पारिश्रमिक र स्थायी कागज बन्ने आशाले उनिहरु पोर्चुगल छिर्ने गर्दछन् ।

आप्रबासीकै कारण आफ्नो अर्थतन्त्रलाई माथि उठाएको पोर्चुगलले आप्रबासीलाई स्वागत गर्न कुनै कसर पनि बाँकी राख्दैन् । किनभने आप्रबासीहरु कृषि र होटल क्षेत्रमा बढी काम गर्छन् । अहिले पनि हजारौं नेपाली मजदुरहरु पोर्चुगलको कृषि क्षेत्रमा काम गर्छन् । सजिलै ‘सोसल’ बन्ने, छिट्टै ‘टिआरसी’ तथा ‘पिआर’ बन्ने र आकर्षक पारिश्रमिक पाउने आशले नेपाल लगायत अन्य देशका मजदुरहरु कृषि क्षेत्रमा प्रवेश गर्छन् । तर पछिल्लो समय भने पोर्चुगलको कृषि क्षेत्रमा बिकृति देखा पर्न थालेको छ । समयमा तलव नपाउने भएपछि कामदारहरुमा कृषि क्षेत्रको मोह पनि ह्वात्तै घटेको हो ।

के हो त कृषि क्षेत्रको प्रमुख समस्या ?

पोर्चुगलको कृषि क्षेत्रमा कामका लागि आउने मजदुरले समयमा पारिश्रमिक नपाउने समस्या बढ्दो छ । सिधै उत्पादक कम्पनीमार्फत आएका मजदुरहरुले तलव पाउने गरेपनि एजेन्सीमार्फत आएका मजदुरले पारिश्रमिक नपाएको गुनासो आउने गरेको हो । पोर्चुगलमा उत्पादक कम्पनीले एजेन्सीमार्फत काम गराउने गर्दछन् । तर उत्पादक कम्पनीले एजेन्सीलाई आवश्यक रकम भुक्तानी नगर्दा कृषि क्षेत्रका अधिकांश मजदुर प्रदायक एजेन्सीहरु लाखौं यूरो पाउनबाट बञ्चित भएका छन् । उत्पादक कम्पनीले एजेन्सीलाई रकम उपलब्ध नगराउँदा यसको साझो असर मजदुरमा परेको छ । मजदुरहरु फलफूल, मासु, दुध, ओलिभ आयल उत्पादन तथा ‘हार्भेस्टिङ’ को क्षेत्रमा काम गर्ने गर्दछन् ।

एजेन्सी र मजदुरबीच दूरी बढ्दै

एजेन्सीमार्फत कृषि क्षेत्रमा कार्यरत मजदुरले काम गरेवापतको पारिश्रमिक नपाएपछि एजेन्सी र मजदुरबीचको सम्बन्ध टाढिन थालेको छ । अहिले पोर्चुगलमा ५० देखि ६० वटा नेपाली एजेन्सी छन् । उनिहरु उत्पादक कम्पनीलाई मजदुर दिएर सघाउँछन् । उत्पादक कम्पनीले एजेन्सीलाई मजदुरको जिम्मा दिएर काम गर्न लगाएपनि समयमा बजेट निकासा नहुँदा मजदुरले तलववापतको रकम पाउन सकेका छैनन् । जसका कारण नेपाली एजेन्सीहरुले बदनामी कमाउनु परेको छ ।

‘हामी हाम्रा मजदुरहरुले समयमा काम गरेको पारिश्रमिक पाऊन भन्ने चहान्छौं तर उत्पादक कम्पनीले समयमा हामीलाई रकम नै भुक्तानी गर्दैनन् ।’ नेपाली एजेन्सीका एक सदस्यले भने, ‘उत्पादक कम्पनीले एजेन्सीलाई रकम नदिँदा पनि हामीले ऋण धन गरेर भएपनि मजदुरको पारिश्रमिक दिएका छौं ।’ एजेन्सीकै कारण पारिश्रमिक रोकिएको हो भन्ने आरोप पनि नेपाली एजेन्सी कम्पनीहरुलाई नलागेको भने होइन् । तर नेपाली एजेन्सीलाई सम्झौता अनुसारको रकम उत्पदक कम्पनीले समयमा उपलब्ध नगराउँदा मजदुर र एजेन्सीहरु विस्थापित हुन थालेका छन् ।

उत्पादक कम्पनीबाट लाखौं यूरो भुक्तानी भएन

कृषि उत्पादक कम्पनी र मजदुर प्रदायक नेपाली कम्पनीबीच सम्झौता भएपनि सम्झौता अनुसारको रकम नपाएको गुनासो एजेन्सीहरुको छ । उनिहरुको अनुसार उत्पादक कम्पनीले लाखौं यूरो बराबरको रकम नपाउँदा विश्वास गुमाउनुपरेको छ । पोर्चुगलको सरकारले कृषि क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्ड भएको बताइरहँदा उत्पादक कम्पनीले गर्ने गैरजिम्मेवार कामले सरकारी योजनालाई नै प्रभावित बनाउँदै लगेको नेपाली एजेन्सीहरुको आरोप पनि छ ।

कृषि पोर्चुगलको शान

आज कृषि क्षेत्रकै कारण पोर्चुगलको अर्थतन्त्र मात्रै चलायमान भएको छैन । यहाँको कुषिले विश्वमाझ चिनाएको समेत छ । सरकारले आप्रबासीका लागि लिएको खुकुलो नीति र आप्रबासीको बढ्दो आगमनले यहाँको आर्थिक विकासले फड्को मारेको छ । यहाँको एउटा ठूलो जनसंख्या कृषि कर्ममा तल्लिन छ । अहिले हजारौं हेक्टर जमिनमा कृषि उपजका सामाग्रीको उत्पादन हुँदै आएको छ । आप्रबासीको सहयोगमा अघि बढेको पोर्चुगलको कृषि विकास अन्य मुलुकहरुको तुलनामा उदाहरणिय बन्न पुगेको छ ।

यूरोपियन यूनियनका अनुसार सन् २०१९ को जुलाईसम्म १३.०७ विलियन यूरो बराबरका कृषि उपज विदेश निर्यात हुँदै आएको छ । यसैले पनि पोर्चुगलको सरकारले कृषि क्षेत्रमा थप योजना अघि बढाएर कृषिलाई व्यवस्थित बनाउने लक्ष्य राखेको छ ।