‘न गरिन्छ चण्डी पाठ, न बढाइन्छ श्रमदानमा हात’

आत्मीयता र सामीप्यता हराउँदै गएकामा चिन्ता





■ ध्रुवसागर शर्मा, म्याग्दी

बडा दशैँ शुरु भएसँगै लाहुरेको जिल्ला भनेर परिचय पाएको म्याग्दीका गाउँहरूमा रौनक छाएको छ । दशैँ मनाउन परदेश र स्वदेशका विभिन्न ठाउँमा मानिसहरू गाउँमा आएपछि विगतमा युवाविहीन भएका रित्ता गाउँहरू केही समयका लागि भए पनि भरिन थालेका छन् । सदरमुकाम बेनीबजारलगायत गलेश्वर, बाबियाचौर र दरवाङ आदि ग्रामीण बजारहरूमा मानिसको चहलपहल कम भएको छ ।

अध्ययन, जागिर, छोरीछोरी पढाउन आदि कारणले बजारमा बस्दै आएका व्यक्तिहरू आ–आफ्नो गाउँ फर्किएपछि बेनी बजार सुनसान जस्तै बनेको छ । आफन्तहरू विदेश वा शहरबाट गाउँमा आए पनि दशैँ केवल औपचारिकतामा सीमित हुन थालेकामा बूढापाकाहरूको गुनासो रहेको छ । बल्ल बल्ल घरमा आएका छोराछोरी, नातिनातिना र आफन्तजनहरू पनि मोबाइल र इन्टरनेटमा व्यस्त हुने हुँदा मन खोलेर कुराकानी गर्न नपाइने बाबियाचौरका दधिराम शर्माले बताउनुभयो ।

‘एक ठाउँमा बस्दा पनि सामीप्यताको अनुभूति नै हुँदैन, सबै आ–आफ्नो तालमा व्यस्त हुन्छ, सोधेको कुरा मात्रै संक्षेपमा भन्छन् बढी कुरा गर्ने समय नै हुँदैन’, शर्माले भन्नुभयो ‘प्रविधिले सामिप्यता र आत्मियतामाथि नै अतिक्रमण गरेको छ ।

दशैं मनाउने शैलीमा परिवर्तन

करिव चार दशकअघिको दशैं र अहिलेको दशैंमा धेरै भिन्नता आइसकेको स्थानीय बृद्धबृद्धाहरूले बताएका छन् । युवा विदेश पलायन, सामाजिक संस्कारमा आएको विचलन र प्रविधिको विकासले दशैंलाई फरक बनाउँदै लगेको उनीहरूको भनाइ रहेको छ ।

त्यसैगरी भौतिक पूर्वाधारमा आएको विकासका कारण अव घर सिंगारपटार, लिपपोत गर्ने चलन हराउँदै गएको छ । लिंगे पीङ र चमच्चा गाउँघरमा देखिन छोडेका छन् भने युवा र बालबालिकाहरू मोवाइल, ल्यापटप लगायतका प्रविधिमा व्यस्त हुने गरेका म्याग्दीका साजिक विकास विज्ञ हरिकृष्ण आचार्यले बताउनुभयो ।

गुञ्जिनै छोड्यो मालाश्री धुन

दशैंमा गाउँका घरघरमा पुगेर क्लाँटा बाजा बजाउँदै मालाश्री धून बजाउने चलन हट्दै गएको छ । अहिले त्यो धुन रेडियो, टेलिभिजनमा प्रशस्त सुन्न पाइन्छ । मालाश्री धुन कस्तो हुन्छ ? अहिलेका पुस्तालाई थाहा नै नभएको बेनी नगरपालिका २ का ८३ वर्षिय बेदप्रसाद शर्माले बताउनुभयो ।

संचारमाध्यमहरूमा दशैंको समयमा व्यापकरूपमा मालाश्री धुन वज्ने भएपनि म्याग्दीका नेवार समुदायलाई बाहेक अन्यलाई मालाश्री धुनको वारेमा केही जानकारी नै छैन भन्दा अत्युक्ति हुँदैन । शान्त रसमा करुणाको सञ्चार प्रवाह गराउने मालाश्री धुनको सट्टामा अहिले गाउँघरमा पनि आधुनिक र आयातित गीत सङ्गीत बजाएर दशैं मेला आयोजना गरिएका छन् ।

न गरिन्छ चण्डी पाठ, न बढाइन्छ श्रमदानमा हात

दर्शैंलाई नवरात्र पनि भनिन्छ । नवरात्र अवधिभर घरघरमा शक्ति स्वरुपा दुर्गाका ९ ओटा स्वरुपको वर्णन गर्दै दुर्गासप्तशति (चण्डी) पाठ गर्ने गरिन्थ्यो । तर, अव चण्डी पाठ एकादेशका कथामा परिणत भैसकेको स्थानीय बूढापाकाहरूको भनाइ रहेको छ ।

‘दशैंको पहिलो दिन घटस्थापना (जमरा राखेपछि) गरेपछि साँझ विहान घरघरमा दुर्गा सप्तशति पाठ गर्ने गरिन्थ्यो’, बेनपा २ का ८३ वर्षिय बेदप्रसाद शर्माले भन्नुभयो ‘तर अहिले दुर्गा सप्तशतिको पाठ गर्नु त परको कुरा दुर्गा सप्तशतिको पुस्तक समेत देख्न पाइदैन ।’

त्यसैगरी दशैंमा सार्वजनिक स्थल (बाटो,मठ मन्दिर,विद्यालय,चौतारी आदि) को मर्मत तथा सरसफाइका लागि श्रमदान गर्ने चलन थियो । तर पछिल्लो समय त्यो चलन पनि हटेर गएको बूढापाकाहरूको भनाइ रहेको छ ।

प्रतिक्रिया