ऋण लिनेहरू होसियार !

ऋणीलाई सडकको बास, सुरेन्द्रलाई सर्वस्व





कसैको राम्रो जमिन र घर यिनलाई देख्नै हुन्न, ऋण दिने प्रस्ताव लिएर घरमै पुग्छन् र, ऋण नलिएसम्म पछि लागिरहन्छन् । तर, जब व्यक्तिले आफ्नो बहुमूल्य सम्पत्ति धितो राखेर ऋण लिन्छन्, त्यसपछि जसरी भए पनि उक्त सम्पत्ति कब्जामा लिने खेल शुरु हुन्छ र ऋणीलाई सडकको बास नगराएसम्म यिनले चैन लिँदैनन् । यस्ता व्यक्तिको नाम हो सुरेन्द्र भण्डारी र यिनले ऋण लगानी गर्ने संस्थाको नामचाहिँ लालीगुराँस सहकारी ।

गोरखाबाट खाली हात काठमाडौं छिरेका सुुरेन्द्र भण्डारी केही वर्षको अन्तरालमै अर्बौंको मालिक बनेका छन् र शहरमा सहकारी खोलेर पनि रातारात अर्बपति बन्न सकिन्छ भन्ने कुराका उदाहरण हुन् उनी । अहिले सुरेन्द्र भण्डारी लालीगुराँस सहकारीका सीईओ मात्र छैनन्, नौवटा कम्पनीका मालिक बनेका छन् । यिनले लालीगुराँस इन्भेष्टमेन्ट कम्पनी आफ्नो श्रीमतीको नाममा राखेका छन् । सातदोबाटोमा लालीगुराँस हस्पिटल, हरिहरभवनमा लालीगुराँस इन्भेष्टमेन्ट, बानेश्वरमा लालीगुराँस कलेज, चितवनमा लालीगुराँस गाई फार्म र लालीगुराँस हाइड्रोपावरलगायत नौवटा कम्पनी भण्डारीले सञ्चालन गरिरहेका छन् ।

एउटा सहकारी कम्पनी चलाएर भण्डारी कसरी अर्बपति बने भन्ने कुराको हजारमध्ये एक दृष्टान्त यहाँ प्रस्तुत गरिएको छ । ख्यातिप्राप्त गायक रामकृष्ण ढकालको भैंसेपाटीस्थित बङ्ला खोसेर आफ्ना दाजुलाई आवासको व्यवस्था गरिदिने भण्डारीले लेखनाथ न्यौपाने, शीतल खत्री, श्याम खत्री, सुशील ढकाल, भगवती सापकोटा, सीबी थापा र केशव पुरीलगायत सयौँ व्यक्तिलाई ‘उठिबास’ गराएको भए पनि यहाँ उदाहरणका रूपमा केशव पुरीसँग भएको घटना प्रस्तुत गरिएको छ ।

यतिबेला अभिभावक सङ्घको अध्यक्षसमेत रहेका केशव पुरीले योगेन्द्र सिलवालसँग मिलेर ललितपुरको नक्खु करिडोरमा चार रोपनी सात आना दुई पैसा जमिन खरिद गरेका थिए । सो जमिन खरिद गर्न पैसा अपुग भएपछि उनले सुरेन्द्र भण्डारीको आग्रहमा लालीगुराँस सहकारीबाट एक करोड नब्बे लाख रुपैयाँ ऋण लिएका थिए । र, धितो राखिएको थियो सोही जमिन, जसको मूल्याङ्कन प्रतिआना ६ लाख ५० हजार, अर्थात् रोपनीको एक करोड रुपैयाँ निर्धारण गरिएको थियो ।

ऋण लिएको केही समयसम्म १९ प्रतिशत ब्याज र १८ प्रतिशत पेनाल्टी बुझाउँदै आएका पुरीले आर्थिक मन्दीका कारण ब्याज बुझाउन सकेनन् । त्यसपछि सुरेन्द्र भण्डारीले जग्गाधनी पुरीलाई थाहै नदिई तीन वर्षपछि प्रतिआना एक लाख पचास हजारका दरले उक्त जमिन लिलाम गरे र, लिलाम सखार्नेचाहिँ उनकै पत्नीको नाममा राखिएको लालीगुराँस इन्भेष्टमेन्ट कम्पनी भयो । लिलामीका दिन जग्गाधनी पुरीले सूचना नपाएको भए पनि जमिनवरिपरिका केही छिमेकीहरूले जानकारी पाएर प्रतिआना दश लाख रुपैयाँसम्ममा लिलाम सखार्ने तत्परता लिएका थिए । सुरेन्द्र भण्डारीले यो जसको जमिन हो उसैलाई दिनका निम्ति प्रक्रिया मात्र पूरा गर्न खोजिएको हो, तपाईंहरू कसैले पनि लिलाम प्रक्रियामा सहभागिता नजनाइदिनुहोला’ भनेपछि त्यहाँ भण्डारीले पहिले नै ठीक पारेर राखेका मान्छेबाहेक अरू कसैले पनि लिलामीमा भाग लिएनन् । त्यसपछि भण्डारी आफैँले एक लाख पचास हजार आनाका दरले आफैँलाई उक्त जमिन पारेका थिए ।

लिलामी गरिनुभन्दा केही महिनाअघि केशव पुरीले उक्त जमिन खरिद गर्ने मानिस ल्याएको र चलेको मूल्यमा जमिन बिक्री गरी ऋण तिर्न खोज्दा सुरेन्द्रले ‘यति राम्रो जमिन किन बेच्नुहुन्छ, भाउ बढिरहेको छ, मैले तपाईंलाई ‘सपोर्ट’ गरिहाल्छु’ भनेर रोकिदिए । तर, त्यसको केही समयपछि नै सावाँ–ब्याज तिर्न पत्र लेखेर दबाब दिन थालियो । त्यसपछि पुरीले अर्को ग्राहक खोजेर जमिन बिक्री गर्न लागे । त्

यसक्रममा पुरीले भण्डारीलाई जानकारी गराउँदा उनले ‘हुन्छ, एकपटक खरिदकर्तालाई मकहाँ पठाइदिनुहोस्’ भने । खरिदकर्तालाई सुरेन्द्रले ‘यो जमिनमा मुद्दा छ भनेर भड्काइदिए । त्यसपछि प्रक्रिया मिलाएर जमिन लिलाम गराई आफ्नै स्वामित्वमा लैजाने काम सुरेन्द्रबाट भयो । सुरेन्द्रले पुरीको चार रोपनी सात आना जमिन मात्र आफ्नो बनाएनन्, रकम चुक्ता नभएको भन्दै पुरीको गोदावरीस्थित आठ रोपनी १० आना १ पैसा जग्गा पनि लिलाम गरी आफ्ना मान्छेको स्वामित्वमा ल्याएका छन् ।

१६ लाख ५० हजार ऋण लिएर दुईवटा माइक्रोबस सञ्चालन गर्ने लेखनाथ न्यौपानेले सावाँब्याज बुझाइसकेपछि जिल्ला अदालत ललितपुरमा ३९ लाख रुपैयाँ तिर्नुपर्ने दाबीसहित मुद्दा हाल्ने काम पनि सुरेन्द्र भण्डारीले गरेका छन् । भण्डारीले प्रचलित कानुनविपरीत हालेको मुद्दामा अदालतले भण्डारीकै पक्षमा निर्णय दिनुलाई पनि सन्देहास्पद मानिएको छ । सुरेन्द्र भण्डारीले सहकारी देखाएर यसरी सयौँ मानिसलाई ठगी गर्दै सडकको बास गराएको तथ्यहरूले देखाएको छ । पीडितहरूले अब सङ्गठन नै बनाएर सुरेन्द्र भण्डारी र लालीगुराँस सहकारीको ज्यादतीविरुद्ध सशक्त आन्दोलन गर्ने तयारी गरिरहेको समाचार घटना र विचारलाई प्राप्त भएको छ ।

प्रतिक्रिया