भारतको बिहार राज्यका विभिन्न भागमा परिरहेको भारी वर्षाका कारण पटनासमेत राज्यका विभिन्न स्थानमा २९ जनाको मृत्यु भएको छ ।
बिहार राज्य विपद् व्यवस्थापन निकायका अनुसार सोमबारसम्म २९ जनाको मृत्यु भइसकेको छ । वर्षा अझै नरोकिएको र खोजी एवं उद्धारका कार्य जारी रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।
बिहार सरकारले बाढी प्रभावित मानिसको उद्धार गर्न, सहायता सामग्री र औषधि गाउँ नगरमा पु¥याउन भारतीय वायुसेनालाई दुई वटा हेलिकोप्टर उपलब्ध गराउन अनुरोध गरेको छ ।
मुख्यमन्त्री नीतीश कुमारले आइतबार अपराह्न राज्यको राजधानी पटनाका विभिन्न स्थानको निरीक्षण गरेका थिए । उनले पटनाका डाक बंगला, गान्धी मैदान, कन्कारबाघ सडकलगायतका स्थानको अध्ययन गरी पानी निकासको भरपर्दो व्यवस्था मिलाउन स्थानीय निकायलाई निर्देश गरेका थिए ।
स्थानीय सञ्चारमाध्यमसँग कुरा गर्दै मुख्यमन्त्री नीतीश कुमारले भारी वर्षाका कारण गंगाको पानीको सतह बढेका कारण जताततै डुबानको समस्या देखिएको बताए ।
भारतीय जलवायु विज्ञान विभागका अनुसार बिहार र आसपासका क्षेत्रमा अझै दुई दिन भारी वर्षा हुनेछ ।
रासस
प्रतिक्रिया