चिनियाँ कम्पनीलाई बाहिरी चक्रपथको जिम्मेवारी दिने निर्णय

चिनियाँ कम्पनीलाई बाहिरी चक्रपथको जिम्मेवारी दिने निर्णय


काठमाडौं बाहिरी चक्रपथ परियोजनाको जिम्मेवारी चिनियाँ कम्पनीलाई दिने निर्णय गरिएको छ । लगानी बोर्डको आज बसेको ४०औँ बैठकले ‘चिनियाँ कम्युनिकेसन पूर्वाधार कम्पनी’लाई सो जिम्मेवारी सुम्पने निर्णय गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज सिंहदरबारमा सम्पन्न बैठकले प्रस्ताव पेश गरी सङ्क्षिप्त सूचीकरण (सर्ट लिष्ट)मा परेकामध्ये मापदण्ड र मूल्याङ्कनका आधारमा उक्त कम्पनीलाई जिम्मेवारी दिएको हो ।

सोही बैठकले सार्वजनिक निजी साझेदारी अवधारणाअन्तर्गत निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको परियोजना विकास गर्न ‘जुरिच एयरपोर्ट इन्टरनेशनल एजीलाई जिम्मेवारी दिने निर्णय समेत गरेको बताइएको छ । दुवै परियोजनाका लागि ती कम्पनीले ४५ दिनभित्र परियोजना विकासको प्रस्ताव पेश गर्नुपर्ने सर्त अघिसारिएको छ ।

यस्तै, बैठकले पश्चिम सेती तथा एसआर ६ संयुक्त जलविद्युत् परियोजना, तल्लो अरुण जलविद्युत् परियोजनाका लागि प्रस्ताव पेश गर्नेमध्ये सङ्क्षिप्त सूचीकरण छनोटका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनको संयोजकत्वमा अलगअलग समिति गठन गरेको छ ।

बैठकमा प्रधानमन्त्री ओलीले काठमाडौं उपत्यकाको यातायात व्यवस्थापन र सुधारबारे हालसम्म भएका विभिन्न अध्ययन, अवस्था, त्यसका लागि लगानी गर्न इच्छुकको सूचीसहित सुझाव दिन सम्बन्धित मन्त्रालय र निकायलाई निर्देशन दिएका छन् ।

सबै काम समयमा योजनाबद्ध रुपमा सम्पन्न हुनुपर्छ, मन्त्रालय र निकायले एकार्कामा समन्वय गर्नुपर्छ, त्यसका लागि चाँडो प्रतिवेदन प्राप्त होस् भन्ने निर्देशन प्रधानमन्त्री ओलीले बैठकका क्रममा दिएका राससले जनाएको छ ।