नाच्न नजान्ने आँगन टेढो !

नाच्न नजान्ने आँगन टेढो !


■ स्वयम्भुनाथ कार्की

यो अग्रगमनले हामीले अनादिकालदेखि प्रयोग गर्दै आएका शब्द, उखानादिलाई कसैलाई होच्याएको भनेर भन्ने गरेको छ । त्यसैले कुनै संज्ञा प्रयोग गर्दा सावधानी अपनाउनुपर्ने हुन्छ । एकपटक …. भन्दा काल पल्क्यो भन्ने चिन्ता भन्ने उखान प्रयोग गरेबापत क्षमायाचना गर्नुपरेको छ । हुन पनि गज्जबको सोच छ नेपालीमा आँखा नदेख्नेलाई प्रयोग हुने शब्द विभेदकारी हुन्छ, तर त्यसको अङ्ग्रेजी शब्द प्रयोग भयो भने त्यसमा विभेद हुन्न । यस्ता कुरा हरेक अङ्गका फरक क्षमता भएकालाई चिनाउने शब्दमा पाइन्छ । अब त्यो शब्द प्रयोग नभएर घुमाउरो शब्द तक्ष प्रयोग हुँदा फरक क्षमताहरू ठीक हुन्छन् कि हुन्नन् त्यो त थाहा भएन ।

यस्तै कुरा जात बोलाउनेमा पनि प्रयोग भएको पाइन्छ । कथित तल्लो जातलाई दलित भनेर सम्बोधन गरिएको अपमानजनक कुरा भने पाच्य हुन्छ, तर जात अपमानजनक लाग्छ । यस अवस्थामा क्रिकेट खेलाडी सोमपाल कामी स्तुत्य छन् जसले आफ्नो जातमा गौरव गरे । आफ्नो मात्र गौरव बढाएनन् क्रिकेटमार्फत राष्ट्रकै गौरव बढाए । आफ्नो अवस्थालाई स्वीकार गरेर त्यसैलाई गौरवमय रूपमा प्रस्तुत गर्ने हिम्मतिला कति छन् त्यो त थाहा भएन, तर आफ्नो त्यो अवस्थाको निमित्त भिख नै त नभनौँ दानस्वरूप दिएको आरक्षण तथा सुविधामा नरमाउने भने अपवाद मात्र होलान् । त्यसैले शङ्का लागेको स्थानमा थोप्लाथोप्ला हालेर प्रयोग गर्नु सुरक्षित उपाय हो ।

यसमा भन्न खोजिएको के भने इतिहासमै सर्वाधिक बलियो भनिएको हाम्रो … अहिले … नजान्ने आँगन टेढो भन्ने उखान चरितार्थ गर्दै छ । पहिलो थोप्ला–थोप्ला भने निकट भविष्यमा नै यो ‘सरकार’ शब्द गालीसरह हुन सक्ने भएकाले पूर्वअभ्यास गरिएको हो । अब केही कुरा नजान्ने पनि फरक क्षमता नै हो त्यसैले भोलि क्षमायाचना गर्नुभन्दा थोप्लाथोप्लाको सहारा लिनु उचित देखेँ । यसबापत यदि काँतर भनिन्छ भने त्यो शब्द सगौरव स्वीकार गर्नेछु । तर, अहिलेको सरकारले आँगन टेढो नै देखेको छ । देखेको मात्र होइन आफ्नोबारे टीका–टिप्पणी हुँदा त्यही भनेर स्पष्टीकरण दिने गरेको छ । त्यो स्पष्टीकरण पनि कस्तो भने नमान्नेको वा त्यसमा संशय व्यक्त गर्नेको खुट्टा भाँचे हुन्छ जस्ता तुच्छ भाषा प्रयोग गरेर ।

यो सरकारले गरेको काम देखाउनुपर्दा दैनिकी कार्य सम्पन्न गरेको उदाहरणहरू गन्ति गराइन्छ । गरेका भाषणहरू, कल्पना गरेका योजनाहरू सुनाइन्छ । अति उत्साहमा जोसका साथ शुरु गरेका हरेक कदमहरू फिर्ता लिनुपरेको छ । त्यो लागू गर्न परेको कारण अनि फिर्ता गर्नुपरेको कारण अविश्वसनीय हुने गर्दछ, अझ आलाकाँचा अल्लारेपनमा गरिने ठट्टाजस्तो । जुन उदाहरण हेरे पनि हुन्छ, चाहे त्यो ओछ्यानमा सुतिसुती सरकारले खाना खुवाउने उद्घोष होस् वा नेपालमा बाहेक संसारमै कतै गैँडा नभएको कुरा । मिति तोकेरै पानीजहाजको टिकट काटेर कलकत्ता जाने कार्यक्रम बिनाअध्ययन बिनातयारीको लहडीको लहडसरह थियो भन्न रोक्ने कुरा केवल खटाइएका अरिँगालले चिल्लान् भनेर मात्र हो । शायद सरकारलाई थाहा छैन होला जुन दलको आधारमा सरकार छ त्यही दलका कार्यकर्ताको निमित्त यो फुर्सदमा हाँसो उडाउने विषय भएको छ ।

स्पष्टीकरणको लहडी कुरा अझ मजाको छ । प्रधानमन्त्रीले विदेशबाट मन्त्रिपरिषद् बैठकको नेतृत्व गरे । यो कुरा उनी विदेश जाँदा नै यसो गरिने छ भनेर भनिएको थियो । त्यो बैठक भयो, त्यसको सफलतामा विश्व गरेजस्तो हर्ष प्रकट भयो । तर, जब त्यसको आलोचना भयो सरकारले संसद्मा, सावैभौम संसद्मा बैठक नै नभएको भनेर सफाइ दियो । सफाइ मात्र होइन प्रश्न उठाउनेलाई लतार्न पनि बाँकी राखेन । अब यसमा … नजानेर आँगन टेढो भएको कुरा के थियो त्यो बताएर यो हजार जिब्रा भएका शेषनागले पनि वर्णन गर्न नसक्ने सरकारको लहडगाथा समाप्त गर्छु ।

यसमा पहिलो कुरा भिडियो कन्फ्रेन्स भनिने यो प्रविधि न नयाँ हो न कुनै ठूलो कुरा हो । विभिन्न व्यापारिक प्रयोजन मात्र होइन यस प्रविधिले बेलाबेला काव्य गोष्ठी पनि हुने गरेका छन् । कवि नवराज सुब्बा निकै पहिले यस्तो काव्य गोष्ठीमा पुरस्कृत पनि भएका छन् । मन्त्रिपरिषद्को बैठकको कुरोमा बैठकको गोप्यता भङ्ग भएको आलोचना भएको थियो । जसको प्रतिउत्तरमा सरकारले भन्यो बैठक नै भएको होइन । हामीले नमस्ते गऱ्यौं, उताबाट नमस्ते फर्काइयो । के–के भयो भनेर सोधनी भयो, यसो–यसो भयो भनेर भनियो । उहाँले निर्देशन दिनुभयो, कुरा सकियो बैठक नै भएन । अब कसैले सरकारलाई बताइदेओस् बैठकमा यो भन्दा धेरै कुरा के हुन्छ ? त्यसैले हाम्रो …को के कुरा ऊ त नाच्न जान्दैन आँगन टेढो !