लोकतन्त्र र प्रेसको जीवन्तता अनन्त छ : मन्त्री बाँस्कोटा

लोकतन्त्र र प्रेसको जीवन्तता अनन्त छ : मन्त्री बाँस्कोटा


सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले लोकतन्त्र र प्रेसको जीवन्तता अनन्त भएको बताएका छन् । गोरखापत्र पूर्वक्षेत्र विराटनगर प्रकाशन शुभारम्भ र भवन उदघाटन समारोहमा मन्त्री बाँस्कोटाले भने, ‘लोकतन्त्रमा प्रेसको जीवन अनन्त छ, जनताले स्थापित गरेको लोकतन्त्र गोरखापत्रले बचाउनुपर्दछ ।’

मन्त्री बाँस्कोटाले लोकतन्त्र प्रणालीलाई राजनीतिक प्रणालीले स्थापित गरिसकेको उल्लेख गर्दै नयाँ नेपाल निर्माणका बहुआयामिक स्वरूप निर्माण गर्न सबै एकजुट भएर लाग्नुपर्ने बताए । उनले भने, ‘लोकतन्त्रको विकल्प लोकतन्त्र नै भएकाले अब अर्थतन्त्रका लागि अघि बढ्नुपर्ने समय आएको छ ।’ गोरखापत्र दैनिक सरकारको मुखपत्र नभएर राष्ट्र र जनताका मुखपत्र भएको उल्लेख गर्दै मन्त्री बाँस्कोटाले लोकतन्त्र भएको देशमा नै प्रेस बाँच्न सकिने कुरामा जोड दिए । उनले नेपालको पत्रकारिताको इतिहास गोरखापत्रबाट शुरु भएको प्रसंग उल्लेख गर्दै विकासका दुई आयाम भौतिक र मानवीय विकास रहेको बताए ।

उनले सरकारी जग्गा संरक्षित गर्न सकियो भने हाम्रा भावी पुस्ताका लागि अर्को संरचना बनाउन सजिलो हुने भन्दै गोरखापत्र पत्रिका मात्र नभएर भवन, मेसिन र रोजगार सिर्जना गर्ने स्थान भएकाले यसले गुणस्तरीय र अहिलेको बजारमा प्रतिस्पर्धा गर्न सकिने तथा पाठक वर्गले रुचाउने किसिमको हुनुपर्ने बताए ।

मन्त्री बाँस्कोटाले निकट भविष्यमा सुनसरीको इटहरीबाट नेपाल टेलिभिजनको क्षेत्रीय प्रसारण हुने सो अवसरमा जानकारी दिए ।

प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले नेपालको ज्येष्ठ राष्ट्रिय दैनिक गोरखापत्र नयाँ अध्यायबाट शुरु भएकोमा खुसी व्यक्त गर्दै संसार खुला भएर नै प्रतिस्पर्धा बढेको र यसमा गोरखापत्रले पनि आफूलाई बदल्नुपर्ने सुझाव दिए । मन्त्री कार्कीले गोरखापत्रलाई श्रेष्ठकर एवं पठनीय बनाउन प्रतिस्पर्धामा आउन सत्यतथ्यमा आधारित समाचार सम्प्रेषण गर्नुपर्ने कुरामा जोड दिए । उनले मुलुकका सबै सरकारी सञ्चारमाध्यम बलियो भएमा लोकतन्त्र पनि बलियो हुने बताए ।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले ११९ वर्ष पार गरिसकेको गोरखापत्र नयाँ ढंगले सत्यतथ्यमा आधारित भएर आवाजविहीनका आवाज बन्नुपर्नेमा जोड दिए ।

गोरखापत्र सञ्चालक समितिका अध्यक्ष कृष्णमुरारी भण्डारीले सत्यतथ्य र विचारमा आधारित समाचारले हिंसा रोक्ने प्रसंग उल्लेख गर्दै सञ्चार राज्यको स्नायु प्रणाली र दिमाग रहेको उल्लेख गरे । भण्डारीले आगामी फागुन ७ गतेदेखि कोहलपुरबाट पनि गोरखपत्र प्रकाशन हुने जानकारी दिए ।
रासस