झापामा डेंगु नियन्त्रणबाहिर, पाँच सयभन्दा बढी बिरामी

झापामा डेंगु नियन्त्रणबाहिर, पाँच सयभन्दा बढी बिरामी


तीन महिनाअघि देखा परेको डेंगु रोग झापामा अझै नियन्त्रणमा आउन सकेको छैन । जिल्ला स्वास्थ्य कार्यालय झापासहित स्थानीय पालिकालेसमेत प्रभावकारी काम गर्न नसक्दा डेंगु रोग नियन्त्रणमा आउन नसकेको हो ।

जिल्ला स्वास्थ्य कार्यालय झापाका अनुसार झापामा अहिले पनि डेंगुका रोगी पाँच सयभन्दा बढी छन् । उनीहरूको झापाका विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी कुलबहादुर पौडेलले जानकारी दिए । उनका अनुसार यस्तै अवस्था रहे झापामा पनि संकट आउन सक्छ ।

डेंगु नियन्त्रणका लागि गत वर्षसम्मका कार्यक्रम सकिए पनि यस वर्ष कुनै कार्यक्रम नआएको पौडेलको भनाइ छ । स्थानीय तहले डेंगु नियन्त्रणका लागि चासो दिनुपर्ने भन्दै जिल्ला स्वास्थ्य कार्यालयसँग कुनै पनि नगरपालिका तथा गाउँपालिकाले सहयोग नमागेको पौडेलले बताए ।

डेंगुका कारण झापामा हालसम्म दुईजनाको मृत्यु भइसकेको छ । यो वर्ष झापामा कसैको मृत्यु नभए पनि यसरी नै बिरामीको संख््या बढ्दै गएमा भयावह अवस्था सिर्जना हुन सक्ने पौडेलले बताए ।

झापामा डेंगु पहिलोपटक मेचीनगरमा फेला परेको थियो । झापाका मेचीनगर, बिर्तामोड, दमक, भद्रपुरलगायतका नगर डेंगुको जोखिममा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।