अन्तर्घातको शिकार भएकै हुन् त पूर्व सदस्यसचिव विष्ट ?

अन्तर्घातको शिकार भएकै हुन् त पूर्व सदस्यसचिव विष्ट ?


■ श्रीविक्रम भण्डारी

भदौ २८ गते शनिबार सम्पन्न नेपाल ओलम्पिक कमिटी कार्यसमितिको निर्वाचनमा राष्ट्रिय खेलकुद परिषदका पूर्व सदस्यसचिव केशवकुमार विष्ट अन्तर्घातको शिकार भएका छन् । सचिवमा उम्मेदवारी दिएका विष्टले १७ मत प्राप्त गरे पनि मात्र एक भोटले पराजित भएका हुन् ।

तीन जना सचिवको लागि चार जनाले उम्मेदवारी दिँदा विष्ट चौथो भएका थिए । सचिवको उम्मेदवारीमा नेकपा वरिष्ठ नेता वामदेव गौतमकी पत्नी तथा सांसद तुलसी थापा, जुडो संघका अध्यक्ष दीपकहर्ष बज्राचार्य, ब्याडमिन्टन संघका अध्यक्ष रामजी श्रेष्ठ र उसु संघका अध्यक्ष केसवकुमार विष्टले उम्मेदवारी दिएका थिए ।

यी चारै उम्मेदरवार वर्तमान नेपाल ओलम्पिक कमिटीको अध्यक्षमा निर्वाचित भएका जीवनराम श्रेष्ठ गुटका सदस्य हुन् । जीवनरामको गुटमा रहेका कारण निर्वाचनअघि विष्टले सर्वाधिक मत पाउने विश्वास गरिएको थियो । तर, परिणाम त्यस्तो आएन । विष्टले १७ मत ल्याए पनि एक मतले पराजित हुनुपऱ्यो ।

सचिव पदको परिणामलाई मध्यनजर गर्दा विष्टलाई विपक्षी गुटका कुनै पनि सदस्यले मत नदिएको प्रस्ट हुन्छ । यसर्थमा कि अध्यक्ष पदमा विजयी भएका जीवनराम श्रेष्ठले पनि १७ मत नै प्राप्त गरेका थिए । अध्यक्षका उम्मेद्वार श्रेष्ठले पाएको मत र विष्टले पाएको मत बराबरी भएकोले श्रेष्ठको गुटबाट विष्टलाई अन्तर्घात नभएको पनि प्रस्ट हुन्छ ।

अनि कसरी हारे त विष्ट ? यसको विवेचना भविष्यमा अवश्य होला । तर ओभर कन्फिडेन्टको शिकार त बनेनन् विष्ट ? यसको चीरफार गर्नु पनि आवश्यक छ । मलाई कसले चिन्दैन, सचिवमा त उठेको हुँ, साथीभाइले सहयोग गरिहाल्छन् नि भन्ने भ्रम पालेकै कारण यस्तो परिणाम आएको त होइन ? यसको समीक्षा विष्टले खुद गर्नुपर्छ ।
निर्वाचनमा होमिएपछि निर्वाचनको स्वभावलाई आत्मसात नगर्नु र औपचारिकतामा मात्रै सीमित राख्नुले विष्टको पक्षमा यस्तो परिणाम आएको कुरा नकार्न सकिँदैन ।

त्यस्तै, घात–अन्तर्घातको कुरा गर्दा अध्यक्ष र महासचिवको मत परिणाममा पनि देखिएको छ । अध्यक्ष जीवनराम श्रेष्ठले १७ मत पाउँदा उनकै गुटका महासचिवका उम्मेदवार निलेन्द्र श्रेष्ठले मात्र १५ मत पाएका छन् । त्यस्तै अर्का गुटका महासचिवका उम्मेदवार पुरेन्द्रविक्रम लाखेले १२ मत पाउँदा अध्यक्ष उमेशलाल श्रेष्ठले १० मत मात्र प्राप्त गरेका छन् ।

नेपाल ओलम्पिक कमिटीको कार्यसमितिको निर्वाचन गुटमा विभक्त थियो । त्यसमा एउटाको प्रतिनिधित्व जीवनराम श्रेष्ठ र अर्कोको उमेशलाल श्रेष्ठले गरेका थिए । वास्तवमा गुटको राजनीतिमा दुवै पक्षका उम्मेदवारले बराबरी मत पाउनुपर्थ्यो तर निर्वाचनको परिणाममा यस्तो देखिएन ।

यो निर्वाचनमा मुस्लिम आयोगका अध्यक्ष समिममियाँ अन्सारी (बब्लु)ले पनि उपाध्यक्ष पदमा उम्मेद्वारी दिएका थिए । तर उनले १२ मत मात्र प्राप्त गरेर पराजित भए । अघिल्लो समयमा बब्लु जीवनराम श्रेष्ठको निकै निकट मानिन्थे । उनले आफुलाई जीवनराम गुटकै रुपमा अगाडि बढाइरहेका थिए ।

तर पछिल्लो समयमा विकसित घटनाक्रममा ओलम्पिक कमिटीको निर्वाचनमा राजनीति हाबी हुन खोजेपछि उनी दोहोरो भूमिका देखिए । परिणामतः अविश्वासको खाल्टो बढ्यो, यही दोहोरो भूमिकाका कारण उनले पराजयको मुख देख्नु पऱ्यो ।